प्रतिगामी तत्वहरू गणतन्त्र असफल बनाउने खेलमा

डा.डिआर उपाध्याय

राजाका पालामा पटक्कै बोल्न पाइँदैनथ्यो । बोल्नेहरू या त अराष्ट्रिय तत्व ठानिन्थे या त जेल पठाइन्थे । राजकाजसम्बन्धी मुद्दा त बोक्थे नै । अहिले मुलुकमा गणतान्त्रिक राज्य व्यवस्था छ । नेपालको संविधानले गणतन्त्र नेपाल अनुमोदन गरिसकेको छ । अब राजा आउने सम्भावना छैन । यस्ता भ्रममा परेर समय बरबाद गर्नु बेकारका कुरा हुन् । हिजो राजतन्त्रीय शासन कालमा गणतन्त्रको कुरा गर्दा जेल जानुपथ्र्यो भने आज गणतन्त्रीय शासन कालमा राजतन्त्रको माग गर्नेलाई पनि छुट दिएको छ ।

नेपालको राजनीति सही दिशातर्फ जान सकिरहेको छैन । राजनीति सही दिशामा जान नसक्दा सबै क्षेत्र अस्तब्यस्त भएका छन् । राजनीति भनेको नीति मध्येको मूल नीति हो । मूल नीति नै खराब र काम नलाग्ने भएपछि अरू कसरी सप्रिन्छ र ? आज देशको अवस्था डरलाग्दो देखिन्छ । राजनीति दल र तिनका नेताहरूलाई देशको भविष्यप्रति कुनै मतलब र चासो छैन । यदि हुन्थ्यो भने उनीहरू मुलुक बनाउन के हेरेर बसेका छन् ?
जनता भोक, रोग र समस्यासँग जुधिरहेका छन् । नेताहरू चिल्ला गाडी र मोजमस्तीमा ब्यस्त मात्र देखिन्छन् । यता संसद्भित्र बेलाबेलामा गाईजात्रा नै भइरहन्छ । एकले अर्कोलाई गाली गलोजबाहेक अरू केही गर्न नजाने जस्तो गरिरहेका हुन्छन् । कति लाजमर्दो दृश्य हेरिरहनुपर्ने हामी जनताले । अहिलेको युगमा पनि यस्तो तल्लो स्तरमा झरेर बहस गरेर हुन्छ ? दुनिया कहाँदेखि कहाँ पुगिसक्यो । हामी जहाँको त्यहीँ । अब यसरी हुँदैन । दलहरू एकआपसमा लड्नु भनेको लोकतन्त्र माथिको खतरा हो । केही दिनअघि एउटा कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि आफूलाई केही राजावादी भन्ने युवाहरू खनिए । मञ्चबाटै दलको आलोचना गरे । हलभित्र छिरेर कार्यक्रममा हो हल्ला गरे । यस्ता गलत तत्वहरू हावी हुँदा देशमा लोकतन्त्र कमजोर हुने खतरा रहन्छ । सार्वजनिक कार्यक्रममा झलनाथ खनाललाई मञ्चमा नै अपमान गरियो । मञ्चबाहिर मुर्दावादको नारा लगाइयो ।

केही समयअघि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन नै भयो । उनको कार्यक्रमलाई बिथोल्ने प्रयास गरियो । यी सबै घटना दलहरूबीच बढ्दो मनमुटाव र आपसी द्वन्द्वका परिणति हुन् । केही दिन यता पूर्वराजावादीहरूको चहलपहल बाक्लिएको छ । सुदूरपश्चिमबाट उनीहरूले पूर्वराजालाई मञ्चमा उतारेको पनि देखियो । मेडिकल उद्यमी दुुर्गा प्रसाईं पनि यही बाटो हिँडिरहेका छन् । धमिलो पानीमा माछा मार्न केही तत्वहरू लागिरहेका छन् । राजनीति दल र तिनका नेताहरू बेइमान र बदमास हुनाले यो परिस्थिति आउन थालेको हो । व्यवस्था ठिक हुँदाहँुदै पनि नेताहरू बदमास भए । नेताकै कारण लोकतन्त्र खतरामा छ । आफू बलियो बने कसैले हेप्न सक्दैन आफू कमजोर हुँदा सबैले हेप्छन् । यो कुरा राम्रोसँग बुझ्न जरुरी छ ।

राजाका पालामा पटक्कै बोल्न पाइँदैन्थ्यो । बोल्नेहरू या त अराष्ट्रिय तत्व ठानिन्थे या त जेल पठाइन्थे । राजकाजसम्बन्धी मुद्दा त बोक्थे नै । अहिले मुलुकमा गणतान्त्रिक राज्य व्यवस्था छ । नेपालको संविधानले गणतन्त्र नेपाल अनुमोदन गरिसकेको छ । अब राजा आउने सम्भावना छैन । यस्ता भ्रममा परेर समय बरबाद गर्नु बेकारका कुरा हुन् । हिजो राजतन्त्रीय शासन कालमा गणतन्त्रको कुरा गर्दा जेल जानुपथ्र्यो भने आज गणतन्त्रीय शासन कालमा राजतन्त्रको माग गर्नेलाई पनि छुट दिएको छ । राजनीतिक दल संसदीय मूल्य, मान्यताअनुसार चल्न सकेनन् । आफ्नै बहुमतीय सरकार सञ्चालन गर्न नसकेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०५० सालमा बहुमतीय संसद् भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरे । ०५१ सालको मध्यावधिपश्चात् अल्पमतीय सरकारको नेतृत्व गरेका मनमोहन अधिकारीले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि सामना नगरी प्रतिनिधिसभा भंग गरिदिए । पछि सर्वोच्चको फैसलाले सदन पुनस्र्थापित भयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच महिनाबीच दुई–दुईपटक प्रतिनिधिसभा भंग गरे । दुवैपटक उनका कदमविरुद्ध राष्ट्रपतिसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट प¥यो । दुवैपटक सर्वोच्चको संवैधानिक इजलासले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्यो । दलका नेताहरूले यस्तै गलत गतिविधि गर्नाले राजनीति फोहोरी खेलमा परिणत भएको छ । संसदीय व्यवस्थाको बदनाम गराउने काम यिनै दलहरूले गरेका छन् । व्यवस्था जतिसुकै उन्नत भए पनि त्यसलाई सञ्चालन गर्ने नेताहरूले हो । नेताहरू नै खराब भएपछि जतिसुकै उत्कृष्ट व्यवस्था भए पनि खराब परिणाम दिन्छ । अहिले भएको अवस्था त्यही हो ।

एउटा राजा फालेर हजारौँ राजा पाल्नुपर्ने अवस्थाका कारण आज जनमानसमा व्यवस्थाप्रति वितृष्णा पैदा भएको छ । वितृष्णा र जनतामा देखिएको असन्तुष्टि डरलाग्दो रूप हो । यही असन्तुष्टि सडकमा पोखिएर एउटा डरलाग्दो अवस्था नआउला भन्न सकिँदैन । यतिबेला राजनीतिक दलको नियतमा नै दोष देखिन्छ । देशको परिस्थितिभन्दा पनि उनीहरूको मनस्थिति खराब देखिन्छ । सरकार र राजनीतिक दलले विगतबाट पाठ सिकेर अघि नबढने हो भने देशमा फेरि संकट आउन सक्नेछ । यसैकारण पनि दलहरू गम्भिर बन्न जरुरी छ । अहिले कतै संसद् वा सांसदभन्दा पनि संसदीय व्यवस्थाकै दोषका कारण यो अवस्था आएको त होइन भन्ने बहस चल्न थालेको छ ।

नीति, सिद्धान्त र विचार मिल्ने दलहरूबीच एकता छैन । एकले अर्काको खुट्टा तान्ने काम बाहेक उनीहरूले अरू केही गरेका छैनन् । विगतबाट सिकेर वर्तमानको सदुपयोग गर्नु नै आजको उपयुक्त उपाय हो । संसद्भित्र कुनै पनि हालतमा असंसदीय खेल हुनु हुँदैन । बहुमतवाला दलले व्यक्तिभन्दा नीतिप्रधान हुनेगरी सरकार सञ्चालन गर्नुपर्छ । आन्तरिक झगडा सम्बन्धित दलको निजी मामिला हो, त्यसको व्यवस्थापन दलभित्रै गर्नुपर्छ ।

अहिले गणतन्त्रमाथि खेलवाड गर्ने तत्वहरू पनि छन् । प्रतिगामी तत्वहरू पनि यो गणतन्त्र असफल बनाउने खेलमा लामो समय देखि लागिरहेका छन् । तर, उनीहरूको प्रयास असफल हँुदै आएको छ । नेपाली जनताले यो गणतन्त्र ल्याउन ज्यानको बाजी थापेका थिए । जनआन्दोलनको जगमा आएको गणतन्त्र यतिबेला कमजोर भएको हो कि जस्तो देखिएको छ । अहिले संसद्मा चर्काचर्की चलिरहेको छ । त्यसैले मुलुकमा जे पनि हुन सक्छ भन्ने पनि छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै सबैभन्दा उत्तम व्यवस्था हो । दल र तिनका नेताहरूले शासन व्यवस्था राम्रोसँग चलाउन नसक्दा अपेक्षित परिणाम आउन भने सकेको छैन । परिणाम के भएको छ भने जनता व्यवस्थाप्रति पुरै निराश भए । जनआन्दोलनमा सहभागी भएर गणतन्त्र ल्याउन प्रमुख भूमिका खेलेका जनता नै यति बेला निराशामा छन् ।

जनता निराश हुनु भनेको यो व्यवस्थामाथि खतरा हो । जनताको बलबाट परिवर्तन भएको हो । यो कुरा दलहरूले भुल्नु हुँदैन । यी कुरा दलहरूले भुल्नाले जनतामा वितृष्णा उत्पन्न भएको छ । राजनीतिक व्यवस्थाप्रतिको आकर्षणमा कमी आएको छ । व्यवस्था परिवर्तन त भयो तर जनताको अवस्थामा परिवर्तन आउन सकेन । अहिले उठेको प्रश्न हो यो । राजनीतिक क्रियाकलाप हेरेर आममानिस वाक्कदिक्क भएका छन् । नेताहरू सत्ता र कुर्सीको खेलमा छन् । यता सर्वसाधारण भने बिहानबेलुका हातमुख कसरी जोड्ने भन्ने चिन्तामा छन् । गणतन्त्र आफैँमा राम्रो व्यवस्था हो तर दल र तिनका नेताहरूले माथिल्लो पदमा पुगेर पनि आममानिसको जीवन स्तरमा परिवर्तन ल्याउन सकेनन् । जसले गर्दा जनता निराश र आक्रोश छन् । यति बेला नेताहरूको कारण व्यवस्था विरोधीहरूले टाउको उठाउने अवसर पाएका छन् । यो कुरा सरकारमा बसेकाहरूले बुझने कुरा हो । जनताले धेरै कष्ट र समस्यासँग लडेर आ आफ्ना परिवार पालेका छन् । जनताले कर तिरेर अरू पालिएका छन् । जनताले तिरेको कर सही ठाउँमा सदुपयोग नहुँदा देश विकास हुन सकेको छैन ।

प्रतिक्रिया