सहकारीमा वचत फिर्ताको दबाबसँगै ऋणीलाई तनाब

सहकारीको रकम एउटै व्यक्ति, निजी कम्पनी वा फार्मलाई लगानी गरेका बाहेक आफ्ना सदस्यहरूमा लगानी गरेका संस्थाहरूले एउटा अभ्यास सुरु गरिसकेका छन्, यो अभ्यासले ऋणी सदस्यहरूलाई दबाब पर्न थालेको छ । ऋणी सदस्यहरूले आफूले लगेको ऋणको केही प्रतिशत सावा र ब्याज बुझाइदिँदा पनि संस्थालाई तरलता व्यवस्थापनमा सहजता भएका समाचारहरू पनि आइरहेका छन् । ऋणीहरूले आफ्नो पहिचान खराब ऋणीका रूपमा नदेखाउनका लागि संस्थामा जाने, केही रकम भुक्तान गर्ने र ऋण नवीकरण गर्ने काम बढ्दै गएको छ ।

वित्तीय क्षेत्र यतिबेला संकटमा छ । नेपाल मात्रै होइन, अन्य आर्थिक रूपमा सम्पन्न मुलुकहरू पनि यतिबेला वित्तीय समस्यासँग जुधिरहेका छन् । वित्तीय क्षेत्रमा देखिएको संकटको बाछिटाले नेपालमा सबैभन्दा बढी सहकारी क्षेत्रलाई प्रभावित बनाएको छ । वित्तीय संकटले सबै क्षेत्रलाई छोएको छ तर बजारमा चर्चा धेरै सहकारीको छ । केही ऐन विपरीत चलेका सहकारीहरूका कारण सबै सहकारी एउटै हुन् भन्ने भाष्य निर्माण गरिँदै छ ।
आफ्नो मर्मअनुसार चल्ने हो भने संसारका जुनसुकै समस्याहरू आउँदा पनि सहकारीहरू जोगिनुपर्ने हो । सहकारीलाई सदस्यहरूले बचाउनुपर्ने हो । तर हाम्रोमा विशेष गरी बजार क्षेत्रमा सञ्चालित कतिपय सहकारीहरू सहकारीको मर्म र भावनाअनुसार नचलेका कारण सहकारी क्षेत्र पनि समस्यामा देखिएको छ । सदस्य केन्द्रित व्यवसायका रूपमा रहेको सहकारीलाई ग्राहक केन्द्रित बनाएका कारण, सहकारीहरूलाई उपयोग गरेर निजी सम्पत्ती जोड्नतर्फ कतिपय सहकारीहरू लागेका कारण आज समस्या देखिएको हो । यस क्षेत्रमा देखिएको समस्या र समाधानका विषयमा नियमनकारी निकाय सहकारी विभागले तीन निष्कर्ष निकालेर विज्ञप्ती प्रकाशित गरेको छ । विभागले २०८० जेठ १२ गते प्रकाशित गरेको विज्ञप्तीमा अहिले नेपालमा समस्या देखिएका सहकारीहरूमा तीन प्रकारका समस्या औँल्याएको छ । सहकारीमा देखिएका तीन प्रकारका समस्या र समाधानका तीन उपाय निम्नानुसार रहेका छन् ।

१. कोभिडपछि विश्वको अर्थतन्त्रमा समस्या देखिँदै गयो । रुस र युक्रेन युद्धले पनि वित्तीय क्षेत्रमा असर पु¥यायो । विश्वकै समस्याको असर नेपालमा पनि परेको छ र त्यसले सहकारी क्षेत्रलाई प्रभावित बनाएको छ । नेपालमा रहेका करिब ३० हजार सहकारी मध्ये १५ हजारभन्दा बढीले वित्तीय कारोबार गर्छन्, वचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूमा यतिबेला तरलताको समस्या देखिएको छ । सुरुमा एक÷दुई वटा सहकारीले वचत फिर्ता गर्न नसकेको विषय बढ्दै गएका कारण राम्रै तरलता भएका सहकारीमा पनि बिस्तारै समस्या देखिन थाल्यो । संस्था विधिसम्मत चलाएका तर पछिल्लो वित्तीय संकटका कारण तरलताको प्रेसरमा परेका सहकारीहरू पहिलो प्रकारले समस्यामा परेका सहकारीहरू हुन् । उनीहरूको वित्तीय अवस्था, सम्पत्ती र दायित्व खराव छैन, स्वस्थ छ, यिनी समस्याग्रस्त भएका होइनन्, यिनलाई वित्तीय संकटसँगै खराब सहकारीको हल्लाको असर परेको हो ।

२. दोस्रो तरिकाका सहकारीमा जम्मा भएको वचत रकम सदस्यहरूलाई लगानी गरिएको छ तर थोरै व्यक्तिलाई धेरै लगानी तथा घरजग्गा, सेयर, सुपरमार्केट लगायतका क्षेत्रमा लगानी गरेका कारण सहकारीहरू समस्यामा देखिएका छन् । ३. तेस्रो तरिकाका सहकारीहरूमा सञ्चालकहरूको बदनियत देखिएको छ । विभिन्न खालका प्रलोभन देखाएर ठूलो मात्रामा वचत संकलन गर्ने र त्यो रकम यिनले आफ्नो नाममा, आफन्तहरूका नाममा घरजग्गा खरिद गर्ने, कम्पनी खडा गरेर त्यसमा लगानी गरेका छन् ।

यी तीन प्रकारका समस्याको पहिचानपछि यसको समाधान पनि तीन प्रकारले नै गर्र्नुपर्छ भन्ने विभागको निष्कर्ष छ ।

समाधानका उपाय

१. आर्थिक क्षेत्रमा आएको समस्याका कारण समस्या देखिएका सहकारीहरूको दायित्व र सम्पत्तीको अवस्था पहिचान गर्ने, आर्थिक अवस्था स्वस्थ छ, तर तरलताको प्रेसरमा छन् भने त्यस्ता सहकारीहरूलाई सहजता प्रदान गर्नका लागि विभागले सेयर सदस्यहरूलाई अनुरोध गर्न सक्छ । त्यसका लागि सञ्चालकहरूले सदस्यहरूसँग अन्तरक्रिया गरी समस्याको समाधान निकाल्नुपर्छ । संस्थाका सञ्चालकहरूले संस्थाको सम्पूर्ण अवस्था प्रष्ट हुने र त्यसको जिम्मेवारी पूर्ण रूपमा आफूहरूले लिने गरी श्वेतपत्र जारी गरेपछि वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानसँगै सहज रूपमा संस्था सञ्चालन हुन्छ भन्ने प्रतिवद्धता गरेपछि वचत फिर्ताका लागि समय सीमा तोक्न सक्नेछन् ।

२. दोस्रो तरिकाले समस्यामा परेका सहकारीहरूको हकमा ती सहकारीका सञ्चालकहरूले पनि आफ्नो सम्पूर्ण अवस्था प्रष्ट हुने गरी श्वेतपत्र जारी गर्नुपर्नेछ । संस्थाको दायित्व भुक्तानीका लागि सञ्चालकहरूले व्यक्तिगत तथा सामुहिक तरिकाले कानुनी रूपमा दायित्व ग्रहण गर्ने ग्यारेन्टी गर्नुप¥यो त्यसो गर्दा पनि संस्थाले वचतकर्ताहरूलाई समय सीमा तोक्न सक्नेछन्, त्यसका लागि सहकारी विभाग समन्वय गर्न तयार छ । ३. तेस्रो प्रकारले समस्यामा परेका सहकारीहरूमा सञ्चालकहरूले गलत तरिकाले लगानी गरेका हुन् । यी सहकारीमा सञ्चालकहरूले आफ्नो निजी व्यवसाय, घर जग्गा जोड्नका लागि लगानी गरेका छन् । यस्ता सहकारीका सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउने र कारबाही गर्ने हो । उनीहरूबाट वचतकर्ताको रकम असुली गराउने हो । सम्पूर्ण दायित्व उनीहरूलाई नै लिन लगाउने हो ।

यी तीन प्रकारका समस्या र समाधानका तीन उपायले सदस्यसँग कारोबार गरेका, सदस्यहरूलाई ऋण लगानी गरेका सहकारीहरूलाई यसले सहजता प्रदान गर्न सक्ने देखिएको छ । संस्थाको सबै अवस्था ठिक छ तर संस्थाले नियमित तरलता व्यवस्थापन गर्न सकेन भने उसले आफ्नो अवस्थाका बारेमा सदस्यहरूलाई जानकारी गराएर केही समय माग्ने र ऋण उठाएर वचत फिर्ता गर्न सक्ने गरी विभागले सुझाव दिएको छ । गलत गरेकालाई त उनीहरूको कसुरका आधारमा कारबाही गर्ने विभागको निर्देशन छ ।

यो निर्देशनले सदस्यसँग मात्रै कारोबार गर्दै आएका सहकारीहरूलाई राहत प्रदान गरेको छ । सदस्यसँग लगानी गरेका सहकारीहरूलाई तरलताको समस्या हुदा उनीहरूले आफ्ना सदस्यहरूलाई संस्थाको अवस्थाबारे जानकारी गराएर समय सीमा तोकी ऋण उठाउने र वचतकर्ताको रकम फिर्ता गर्न सक्ने गरी विभागको निर्देशन आएको छ ।

सहकारी विभागले सहकारीबाट लिएको ऋण तिर्न पर्दैन भन्नेहरूलाई सरकारले कठोर कानुनी कारबाही गर्ने जनाएको छ । विभागले जारी गरेको प्रेस विज्ञप्तीमा ऋण तिर्न पर्दैन र नतिर्ने भन्ने जस्ता वित्तीय अराजकतालाई नजिकबाट नियालेको भन्दै यस्तो अराजकता नियन्त्रण गर्न जस्तोसुकै कठोर कानुनी कार्वाही गर्ने उल्लेख गरेको छ । ऋण लिएर तिर्न नपर्ने कल्पना गरेको भए त्यो आफैका लागि प्रत्युत्पादक हुने विभागले स्पष्ट पारेको छ ।

के हुन्छ त ऋणीहरूलाई

सहकारीबाट ऋण लगेर नतिर्नु भनेको सदस्यहरूले वचत गरेको रकम फिर्ता नहुनु हो । सदस्यहरूले दुःख गरेर जग्मा गरेको रकम सहकारीले सदस्यहरूलाई ऋणका रुपमा लगानी गरेका हुन्छन् । सदस्यहरूले जम्मा गरेको रकम सदस्यहरूलाई नै लगानी गरेका संस्थाहरूले वचतको चाप बढ्दै गएपछि ऋणी सदस्यहरूलाई नै गुहार्ने हो । ऋणी सदस्यहरूलाई सहकारीले ऋण भुक्तानका लागि दबाब बढाउँदै लैजाँदा वचतकर्ताहरूले पनि साथ दिने अवस्था आउँछ ।

सहकारीले वचत फिर्ता गर्न नसक्नुको कारण ऋण नउठ्नु हो भन्ने जानकारी पाएपछि वचतकर्ताहरू र सहकारीका सञ्चालकहरू जुटेर ऋण उठाउने योजना बनाउन सक्छन् । त्यसका लागि उनीहरूले आवश्यक कानुनी प्रक्रिया त अगाडि बढाउने छन् नै त्यो भन्दा पनि बढी सामाजिक पहिचानको समस्या अगाडि आउन सक्ने देखिन्छ । सहकारी सदस्यहरूले ऋण नतिरेको कुरा अर्थात ऋणी सदस्यले सावा ब्याज भुक्तान नगरेको कुरा नियमनकारी निकायमा पठाउने कामको शुरुवात हुन थालेको छ । नियमनकारी निकाय, आम सञ्चारका माध्यम लगायत सहकारीका सबै सदस्यहरूलाई ऋण लगेर नतिर्ने सदस्यहरूको पहिचान गराउने कार्यले ऋणी सदस्यहरूलाई प्रेसर पर्ने अवस्था बिस्तारै बढ्दै गएको छ ।

अहिलेको समय भाइरल हुने समय हो । सहकारीहरूले ऋण नतिर्ने ऋणीहरूको नाम नियमनकारी निकायमा पठाएको वा सार्वजनिक सञ्चारमाध्यममा सूचना प्रकाशित गर्दा साथ समाजमा राम्रो पहिचान बनाएका तर सहकारीको ऋण नतिरेका सदस्यहरू खराव ऋणीका रुपमा सामाजिक सञ्जालमा भाइरल हुने अवस्था सिर्जना हुदैछ, यसले उनीहरू दवावमा पर्ने अवस्था सिर्जना हुन थालेको छ । कतिपय जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, ठुला व्यवसायीहरू, कतिपय त एउटा सहकारीको पदाधिकारी छ, अर्को सहकारीको ऋण नतिरेका कुराहरू समेत बाहिर आउन थालेका छन् । सामाजिक पहिचान बनाएका, सानको जिन्दगी बिताएकाहरूले ऋण नतिरेका कुराहरू पनि बाहिर आउन थालेका छन् ।

सहकारीको रकम एउटै व्यक्ति, निजी कम्पनी वा फार्मलाई लगानी गरेका बाहेक आफ्ना सदस्यहरूमा लगानी गरेका संस्थाहरूले एउटा अभ्यास शुरु गरिसकेका छन्, यो अभ्यासले ऋणी सदस्यहरूलाई दवाव पर्न थालेको छ । ऋणी सदस्यहरूले आफूले लगेको ऋणको केही प्रतिशत सावा र ब्याज बुझाइदिदा पनि संस्थालाई तरलता व्यवस्थापनमा सहजता भएका समाचारहरू पनि आइरहेका छन् । ऋणीहरूले आफ्नो पहिचान खराव ऋणीका रुपमा नदेखाउनका लागि संस्थामा जाने, केही रकम भुक्तान गर्ने र ऋण नवीकरण गर्ने काम बढ्दै गएको छ ।

सदस्य केन्द्रीत भएर कारोबार गरेका सहकारीहरूलाई ती ऋणी सदस्यहरूले त सहयोग गर्ने नै भए, ऋण नभएका सदस्यहरूले पनि सानो सानो वचत गरिदिएर संस्था जोगाउने अवस्था सिर्जना भएको छ । यो बेला जोगिने हो, आफु पनि जोगिने र संस्था पनि जोगाउनका लागि सदस्यहरू सचेत बन्नै पर्ने अहिलेको आवश्यकता हो । सेयर सदस्यहरूले आफ्नो संस्थामा आउन सक्ने समस्यालाई सहज बनाउनका लागि सानो सानो रकम थप गर्ने, ऋणी सदस्यहरूले ब्याज र किस्ता रकम मात्रै सही समयमा बुझाइदिँदा संस्थाले तरतला व्यवस्थापन गर्न सक्ने अवस्था रहन्छ ।

कतिपय ऋणी सदस्यहरू सहकारी बन्द भए ऋण तिर्न पर्ने थिएन भन्ने सोचेर सहकारीको बद्नाम गराउँदै हिँडेको पनि पाइन्छ । तिनलाई भोलि सहकारी बन्द हुँदा नियमनकारी निकायले ऋणीको घरजग्गा, बैंक तथा सहकारीको खाता रोक्नुका साथै सामाजिक रूपमा समेत बदनाम गराइदिन्छ भन्ने चेत नभएर हो वा भएर पनि कसले के गर्छ र ? भन्ने सोचेका हुन् भन्न सकिन्न । सहकारीबाट ऋण लगेर नतिरेकाहरूको समूह बनाउने अनि चोकचोकमा मान्छे जम्मा भएको ठाउँमा गएर फलानो सहकारी डुब्दै छ, ढिस्कानो सहकारी डुब्दै छ भनेर प्रचार गर्नेहरूको संख्या बढ्दो छ ।

सामान्य मान्छेहरूले तिनका कुरा पत्याएर सबै सहकारी खराब हुन् भन्नपर्ने अवस्था आउँदै छ । सहकारीका सदस्यहरूले चोकचोकमा हुने कुरालाई विश्वास गरेर होइन, आफू सदस्य भएको संस्थामा गएर यथार्थ बुझ्न आवश्यक छ अन्यथा यस्तै खराब प्रवृत्तिका मानिसहरूका कारण सबै सहकारीहरूमा समस्या आउन सक्छ ।

प्रतिक्रिया