प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकले सांसदहरूले औपचरिक कार्यक्रममा सहभागी हुँदा मर्यादित पोसाक पहिरिनुपर्ने निर्णय गरेको छ । सभामुख देवराज घिमिरेको प्रस्तावमा यो निर्णय गरिएको हो । संसदको बैठकमा उपस्थित हुँदा कतिपय सांसदहरूले जिन्स पाइन्ट र टिसर्ट लगाउने गरेको भन्दै सभामुख घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठकमा मर्यादित पोसाकको कुरा उठाएका थिए । सभामुख घिमिरेको प्रस्ताव पछि बैठकले अब टिसर्ट र जिन्स पाइन्ट पहिरिएर बैठकमा उपस्थित नहुन सबै सांसदहरूलाई आग्रह गर्ने निर्णय गरेको हो । तर पोसाकको विषयमा भएको यो नियमप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति प्रकट गरेको छ । सोमबारको बैठकमा बोल्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले प्रतिनिधिसभाले सांसदहरूले लगाउने पोसाक तय गरेकोप्रति प्रश्न उठाइन् । उनले भनिन्, ‘भ्रष्टाचार र मानव बेचबिखनजस्तो जघन्य अपराधबाट विषयान्तर गर्ने यो प्रयासलाई हामी सफल हुन दिने छैनौँ ।’ समय निकै भएकैले होला टि–सर्ट र जिन्समा अड्किनु भएको, यहाँहरूको प्राथमिकता के हो ? नैतिक प्रहरी बन्ने कि संसदीय समितिहरूको बैठक तय गर्ने ?’ संसद्को बैठकलगायत औपचारिक कार्यक्रममा समेत जिन्स पाइन्ट र टि–सर्ट लगाएर उपस्थित हुने सांसद मध्ये रास्वपाकी श्रेष्ठ पनि पर्छिन् ।
सांसद भनेको अत्यन्त गरिमामय पद हो । सांसदको जिम्मेवारी र भूमिका अत्यन्त गहन हुन्छ । औपचारिक कार्यक्रममा कस्तो पोसाक लगाउन उचित हुन्छ ? भन्ने मामिला संसद्मा बहसको विषय बन्नु भनेको अत्यन्त महत्वपूर्ण समय खेर जानु हो । सांसदले लगाउने पोसाकका विषयमा संसद्मा छलफल हुनुपर्ने नै होइन । यस्तो कुरा सांसदको विवेकमा छाडिदिनु उपयुक्त हुन्छ । तर नेपालको संसदीय व्यवस्था अझै परिपक्व भइसकेको छैन, सांसदहरू पनि परिपक्क छैनन् भन्ने कुरा केही दिनअघि एक जना स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रस्तुत गरेको गतिविधिबाटै पुष्टि हुन्छ । उनी संसद्को बैठक चलिरहँदा कम्मर मुनीको गुप्तांग ढाक्नेबाहेक अरू सबै कपडा फुकालेर नांगै भए । दक्षिण अमेरिकी मुलुकका लागि सार्वजनिक रूपमा नांगिनु अश्लीलता होइन, तर नेपालको सामाजिक संस्कारअनुसार यस्तो गर्नु घोर आपत्तिजनक हो । यही प्रकरणका कारण पनि सभामुख घिमिरेले मर्यादित पोसाक लगाएर उपस्थित हुनुपर्ने कुरा उठाएका होलान् । तर लोकतन्त्रमा पोसाकको कुरा अनिवार्यभन्दा पनि व्यक्ति आफैँले तय गर्ने आचार संहितामा भर पर्छ ।
पोसाकको मामिलामा व्यक्तिको नियतमाथि पनि भर पर्छ । पञ्चायतकालको एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री बिपी कोइरालालाई जुत्ताको रंग नमिलेको कारण देखाएर ढोकाभित्र छिर्न दिइएको थिएन । त्यतिबेलाको राष्ट्रिय पञ्चायतको बैठकमा जतिसुकै गर्मी भए पनि दौरासुरुवाल तथा कोट नलगाई उपस्थित हुन दिइँदैन थियो । ०४६ सालमा बहुदल आएपछि यो नियमलाई स्वैच्छिक रूपमा छाडियो । ०४८ सालको प्रतिनिधिसभाका पहाडका केही सांसदहरू कछाड र तराईका केही सांसदहरू धोती लगाएर उपस्थित भएको देखियो । ०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई एकपटक धोती तथा कुर्था पहिरिएर संसदको बैठकमा उपस्थिति भए । तत्काल एक जना मधेसी सांसदले हिन्दी भाषामा बोल्दै भने, प्रधानमन्त्रीज्युले मधेसीको पोसाकको मर्यादा राखिदिएकोमा धन्यवाद प्रकट गर्छु । उनको कुरा टुंगिन पाउँदानपाउँदै प्रधानमन्त्री भट्टराई संसदबाट बाहिरिए । केही बेरपछि दौरा सुरुवाल लगाएर भित्रिए । पोसाकका विषयमा मिडियाले जिज्ञासा राख्दा प्रधानमन्त्री भट्टराईको सचिवालयले भन्यो, ‘बिहान पशुपति दर्शनका लागि निस्कनुभएको थियो, फर्कने क्रममा भुलबस त्यही पोसाकमा संसद छिर्नुभएछ ।’ यो घटनालाई ठूलो कुरा मानिएन । किनकी सन्त नेता भट्टराईको नियतबारे मुलुक अनभिज्ञ थिएन । देशको संविधानसमेत संशोधन गर्न सक्ने अधिकार तथा जिम्मेवारीमा रहेकाहरूले पोसाकको मर्यादा आफैँ राख्नुपर्छ । खेलकुदमा सहभागी हुँदा, पूजाआजामा सहभागी हुँदा, लामोदुरीको पैदल यात्रामा निस्कँदा दौरासुरुवाल तथा साडी चोलो सहज हुँदैन । तर संसद्को बैठकमा सहभागी हुँदा दौरासुरुवाल तथा साडी चोलोले अल्झाउँदैन । अपवादको कुरा छुट्टै हो ।
प्रतिक्रिया