राष्ट्रिय संगीत अवार्डमार्फत विभिन्न श्रष्टा सम्मानित

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ सम्पन्न भएको छ । सोमबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठामा कास्की खबर प्रालिको आयोजनामा लोक, आधुनिक र भिडियोतर्फ गरी २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गरेर सम्पन्न भएको हो ।

गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको संयोजकत्वमा गठन भएको निर्णायक समितिमा सदस्यको रुपमा गायक बैकुण्ठ महत, वरिष्ठ लोकगायक बमबहादुर कार्की, गायिका सोभा पाण्डे, निर्देशक राजन खरेल, निर्देशक मिलन श्रेष्ठ, वरिष्ठ संगीतकार योगेन्द्र उपाध्याय निरौला रहेका थिए ।

उक्त अवार्ड समापन समारोहमा नेकपा एमालेकी नेत्री तथा नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कास्की खवर प्रालिका अध्यक्ष ऋषि दाहाल सभापति रहेका थिए ।

कार्यक्रममा सांस्कृतिक अध्ययन अनुसन्धान प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक बमबहादुर कार्की, प्रतिष्ठानकै सचिव एवं गायक बैकुण्ठ महत, वरिष्ठ संगीतकार राजु सिंह, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी महिला उपाध्यक्ष राधिका हमाल, पत्रकार शान्तिप्रिय, सुमन वैरागी, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल, सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थी, लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शाक्यले यस्ता कार्यक्रमहरुले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल व्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा यस वर्षको संगीत दिर्घ साधना सम्मानबाट नगद राशी रु २५ हजारसहित वरिष्ठ गीतकार राजेन्द्र थापा सम्मानित भएका छन् भने पत्रकारिता रजत संगीत संम्मान नगद राशी १५ हजार ५५५ सहित रंग पत्रकार विदुर गीरिलाई सम्मान गरिएको छ ।

त्यस्तै दशकको पत्रकारिता सम्मान म्युजिक खबर पाक्षिक र म्युजिक खबर डटकमकी सम्पादक सविता पोखरेललाई नगद रु ११ हजार १११ सहित सम्मान प्रदान गरिएको अवार्डकी संयोजक किस्ना आचार्य (रोशनी) ले जानकारी दिइन् ।

संयोजक रोशनीका अनुसार साहित्य सम्मानमा वरिष्ठ गीतकार तथा साहित्यकार शितल कादम्बिनीलाई साहित्य संगीत सम्मान, गीतकार तथा समाजसेवी कादम्बरी दाना श्रेष्ठलाई गीतकार तथा सामाजिक व्याक्तित्व सम्मान, गायिका निता आचार्यलाई डायस्पोरा संगीत संम्मान, गीतकार अम्बिका गुरुङलाई गोल्डेन पेन अफ दि इयर संगीत सम्मान, गायक तथा संगीतकार खेम सेन्चुरीलाई म्युजिक अफ दि इयर सम्मान गरिएको संयोजक आचार्यले बताइन् ।

त्यसैगरी गायक दुर्गेश थापालाई उनका गीत अघिल्लो वर्षभरी सबैभन्दा धेरै मेला–महोत्सव र युट्युबमा हेरिएको र सुनिएकाले गोल्डेन माइक अफ दि इयर संगीत सम्मान, वरिष्ठ फोटोग्राफर च्याङ्वा लामालाई फोटोग्राफर संम्मान, गायिका लक्ष्मी नेपाली र गायिका सन्जु न्यौपानेलाई संगीत युवा प्रतिभा र दशकको गायिका सम्मान गरिएको छ ।

यसै अवसरमा गायक दुर्गा बिरही, रिजन पुलामी मगर, रामचन्द्र ढकाल सविन चौहान लगायतलाई पनि सम्मान गरिएको उनले बताइन् । ‘अग्रजलाई संम्मान अनुजलाइ प्रोत्साहन’ भन्ने मुल नाराका साथ विगत दुई वर्षदेखि आयोजना हुँदै आएको राष्ट्रिय संगीत अवार्डले आफ्नो फरक पहिचान बनाउन सकेसम्म यस वर्षबाट थप केही नयाँ गर्दै जाने र अवार्ड शब्दप्रति सबै कलाकार श्रष्टाले गर्व गर्न सक्ने वातावरण बनाउन भुमिका रहने संयोजक आचार्यले बताइन् ।

प्रतिक्रिया