बालकृष्ण खाणको भ्रम

पूर्वगृहमन्त्री बालकृष्ण खाण यतिबेला प्रहरीको हिरासतमा छन् । उनी सामान्य भ्रष्टाचारको अभियोगमा हिरासतमा पुगेका होइनन् । उनीमाथि लागेको अभियोग भ्रष्ट्राचारका अतिरिक्त मानव तस्करी तथा देशद्रोहसमेत हो । खाण नेपाली कांग्रेसभित्र भावी सभापती तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेता हुन् । ०४८ सालमा २९ वर्षको उमेरमै प्रत्यक्षबाट चुनाव जितेर पहिलोपटक सांसद बनेका खाण ०६४ र ०७० सालमा प्रत्यक्ष र ०७४ सालमा समानुपातिक सांसद थिए । रक्षा, सिँचाइ र गृहसहित तीनपटक मन्त्री तथा शिक्षा र युवा तथा खेलकुद राज्यमन्त्रीसहित पाँचपटक मन्त्री बनिसकेका खाण सानातिना विवादलाई पन्छाउँदै आएका नेता हुन् ।

०४६ सालको जनआन्दोलनको सेरोफेरोमा नेविसंघको अध्यक्ष रहेका र ०५५ सालदेखि लगातार १२ वर्षसम्म तरुण दलको अध्यक्ष रहेका खाणको नेपाली कांग्रेस पार्टीभित्र निकै ठूलो पकड छ । तर यो राजनीतिक उचाइ तथा पार्टी भित्रको पकडको अब खासै अर्थ नरहन सक्छ । नेपाली कांग्रेसका विगतका प्रकरण हेर्ने हो भने पनि खुमबहादुर खड्का पनि भावि सभापति तथा प्रधानमन्त्रीका रूपमा हेरिएका नेता हुन् । उनी निकै बलिया मानिन्थे । त्यसो त चिरञ्जीवी वाग्ले पनि शेरबहादुर देउवाभन्दा सिनियर मात्रै होइन क्षमतावान नेताका रूपमा पनि चर्चित थिए । तर भ्रष्टाचार प्रकरणका कारण उनीहरूको राजनीति समाप्त भयो । यदि अहिलेको प्रकरणमा खाणमाथि अदालतमा मुद्दा चल्यो र सफाइ पाउन सकेनन् भने उनको राजनीति करिबकरिब पूर्णविराम लाग्नेछ ।

पार्टीभित्रको पकड, निरन्तरता, संगठन गर्ने क्षमता लगायतका कारण खाणलाई रिस गर्नेहरू नेपाली कांग्रेसमा धेरै छन् । खाण पक्राउ गरे लगत्तै हातरहतारमा कांग्रेसकै युवा नेताहरूको एउटा समूह गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुग्नु र धन्यवाद दिनु संयोग मात्रै थिएन । त्यसैले यो प्रकरणले खाणको राजनीतिक भविष्यमाथि प्रश्न उठ्नु स्वभाविकै हो । प्रहरीले केही न केही संलग्नता देखेर नै उनलाई गिरफ्तार गरेको होला भन्ने आमअनुमान छ । गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरेको, ठगीमा सघाएबापत बिचौलियाबाट १ करोड २४ लाख लिएको, बिचौलियालाई फाइदा हुने गरी पटकपटक मन्त्रालयबाट विभिन्न निर्णय गराएको आधार फेला परेको प्रहरीले जनाएको छ । यसैगरी खाणलाई बुझाउन बिचौलियासँग आर्थिक लेनदेन गरेको तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको स्वीकारोक्तिका कारण पनि खाण तानिएका हुन् ।

राजनीतिक उचाइ एकाएक ढल्नुमा धेरैजसो बाह्यभन्दा पनि संबन्धित व्यक्तिको आफ्नै कमजोरी महत्वपूर्ण हुन्छ । कार्यकर्ताहरूले अपेक्षा तथा अनुमान गरे अनुसारको क्षमता खाणसँग रहेनछ भन्ने कुरा ०७८ असारमै पुष्टि भएको हो । त्यतिबेला सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नासाथ खाण र डा.प्रकाशशरण महतलाई बोलाएरै सोधेका थिए, ‘तपाईंहरूमध्ये एक जना आगामी महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वार बन्नुपर्छ, एक जनाले गृहमन्त्री बनेर महाधिवेशनमा मद्दत गर्नुपर्छ ।’ महामन्त्रीको उम्मेद्वार कि गृहमन्त्री ? मध्ये एउटा रोज्ने पहिलो पालो पाएका खाणले गृहमन्त्री रोजे । गृहमन्त्रीका रूपमा खाणले देउवालाई सभापति पदमा चुनाव जिताउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरे । तर, महामन्त्री पदमा भने डा.महतको खिलापमा आफ्नो शक्ति परिचालन गरे । तत्कालीन प्रधानमन्त्री देउवालाई सभापति पदमा चुनाव जिताउनका लागि खाणले जे जे गरेका थिए, त्यसैको परिणति पनि हो अहिलेको प्रहरी हिरासत ।

विगतमा गिरिजाप्रसाद कोइरालालाई बलियो बनाउन खुमबहादुर खड्काले जे जे गरेका थिए, यतिबेला देउवालाई बलियो बनाउन खाणले पनि त्यही त्यही गरे । त्यतिबेला सुजाता कोइरालाले जसरी खड्कालाई आफ्नो प्रतिस्पर्धी ठानेकी थिइन, यतिबेला आरजु राणाले पनि खाणलाई आफ्नो प्रतिस्पर्धी ठानेको कुरा सत्य हो । खुमबहादुर प्रकरणबाट खाणले पाठ सिक्न सक्ने ठाउँ अझै जीवितै छ । गिरिजाप्रसाद र सुजाता सुरक्षित रहे भने उनीहरूले आफूलाई अवश्य पनि बचाउनेछन् भन्ने ठान्नु खुमबहादुरको भ्रम थियो । यतिबेला खाणले पनि देउवा र आरजु सुरक्षित रहे भने आफूलाई उद्धार गर्लान् भन्ने ठानेको हुनुपर्छ । तर यस्तो ठानिरहेका छन् भने खाणको ठूलो भ्रम हो । किनकी नेपाली कांग्रेस भित्र अबको आफ्नो मुख्य प्रतिस्पर्धी भनेको खाण हो भन्ने कुरा आरजु राणालाई १३औँ महाधिवेशन सम्पन्न हुनासाथ थाहा भइसकेको थियो ।

प्रतिक्रिया