भ्रष्टाचार मात्रै की, देशद्रोह पनि ?

साँढे तीन दशक अघि भारतद्धारा नेपालमा नाकावन्दी लगाएको र भुटानबाट नेपालीभाषीहरु लखेटिएको समय लगभग एउटै पर्नु संयोग मात्रै थिएन । लाखौं भूटानीहरु भारत हुँदै नेपाल प्रवेश गरे । पहिलो कुरा त भारत सँगको खुला सिमाना भएका कारण नेपालले भुटानीहरुको आगमन रोक्न सकेन । दोस्रो कुरा मानवताको नाताले पनि भुटानीहरुलाई नेपाल सरकारले शरण दियो । किनकी त्यतिबेला नेपालमा प्रजातन्त्र पुनवर्हाली भइसकेको थियो । पंचायतकालमा भने शरणार्थी नेता टेकनाथ रिजालाई श्री ५ को सरकारले भुटानका राजा समक्ष सुपुर्दगी गरेको थियो । त्यस पछि नेपाल आएका भुटानीहरुलाई स्वदेश फर्कन भारतले दिएन ।

उनीहरु जुन बाटो नेपाल आए, त्यही बाटो स्वदेश फर्कन पाएनन् । यता भुटानी शरणार्थीलाई स्वदेश फर्काउन नेपाल सरकारले बारम्बार पहल गरिरह्यो । किनकी नेपाल जस्तो सानो र गरिव मुलुकले लाखौं शरणार्थी लामो समयसम्म पाल्न संभव थिएन । तर भुटान भने नेपालमा आएका सबै शरणार्थीलाई आफ्ना नागरिक मान्न तयार भएन । शरणार्थीमध्ये को भुटानी हुन्, को होइनन् ? प्रमाणिकरण गर्नु पर्ने अडान भुटानले राख्यो । भुटानको यो अडानलाई भारतले समर्थन गर्यो । संयुक्त राष्ट्र संघको रोहोबरमा प्रमाणिकरण गर्दै जाँदा शिविरमा रहेका सबै नै शरणार्थी ठहरिए । तर भुटानले फिर्ता लैजान चाहेन । यता नेपालले पाल्न नसक्ने , उता भुटानले फिर्ता नलैजाने अवस्था उत्पन्न भए पछि संयुक्त राष्ट्र संघको पहलमा उनीहरुलाई अमेरिका , क्यानडा , अष्ट्रेलिया लगायत विभिन्न देशमा लैजाने निर्णय भयो ।

यतिबेलासम्म पनि अझै पाँच प्रतिशत जति शरणार्थी बाँकी रहेको अनुमान गरिएको छ । जसमध्ये कोही तेस्रो मुलक जान चाहेका छैनन् भने कसैको नाममा अर्कै व्याक्ति नक्कली शरणार्थी बनेर अमेरिका पुगिसकेका छन् । शिवरमा रहेका भुटानीसँग आँफू शरणार्थी भएको प्रमाण छ , तर कागजी रुपमा उनीहरु अमेरिका पुगिसकेको देखिन्छ । मुख्य समस्या यही हो । यही समस्याको सेरोफेरोमा यतिबेला फेरी अर्को झन डरलाग्दो समस्या देखा परेको छ । त्यो समस्या हो–‘ नेपाली नागरिकलाई भूटानी शरणार्थी भएको नक्कली प्रमाण खडा गर्ने र अमेरिका पठाउने ।’ यो अपराधमा गृहमन्त्री , गृहमन्त्रालयका सचिव सम्मको संलग्नता रहेको नेपाल प्रहरीको अनुसन्धानबाट पुष्टि भइसकेको छ । त्यहाँ भन्दा माथिल्लो तहको समेत संलग्नता पो छ की ? भन्ने आशंका नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिले जन्माएको छ । लहरो तान्दा पहरो थर्कने अवस्था बनेको छ ।

सरसरर्ती हेर्दा अहिले सतहमा आएको नक्कली शरणार्थी प्रकरण आर्थिक अपराध सँग जोडिएको छ । किनकी ८ सय ७५ जना सँग प्रतिव्याक्ति १० देखि ५० लाख रुपैंयासम्म असुल गरिएको तथ्य नेपाल प्रहरीले सार्वजनिक गरेको छ । यो काण्ड निकै ठूलो आर्थिक अपराध त हुँदै हो, तर आर्थिक अपराधका रुपमा मात्रै हेरियो भने ठूलो राष्ट्रघात हुनेछ । नेपाली भाषी भुटानीलाई कहिल्यै स्वदेश फर्कन नदिने षड्यन्त्र सँग पनि यो अपराध संवन्धित छ । भारतले भूटानबाट नेपाली भाषीलाई किन विस्थापित गराएको हो ? प्रमाणिकारण नै त्रुटीपूर्ण छ भनेर भुटानले किन भनिरहेको हो ? भन्ने प्रश्नको उत्तर सँग यो घटना संवन्धित छ ।

नेपालले नक्कली शरणार्थी खडा गरेको भुटानको आरोपलाई नेपाल सरकारको गृहमन्त्री तथा गृह सचिवको तर्फबाट नै पुष्टि गरिनु भनेको सानो तिनो देशद्रोह होइन । यो देशद्रोहले अन्तर्राष्ट्रिय समुदायमा नेपालको साख समाप्त भएको त छ नै , सँग सँगै भुटानी शरणार्थीहरु कहिल्यै स्वदेश फर्कन नपाउने पो हुन् की ? भन्ने चिन्ता थपिदिएको छ । भूटानी नागरिक माथिको पनि जघन्य अपराध हो यो । यो प्रकरणलाई ढाकछोप गर्न पट्टी मलुकका ठूला राजनीतिकदलहरु लागे भने झन बरबाद हुने अवस्था छ ।अरु भ्रष्टाचारलाई जस्तै यो भ्रष्टाचारलाई पनि सामसुम पार्न सकिन्छ की ? भन्ने चेष्टा सुरु गरिएको आभास देखिन थालेको छ । टोपबहादुर रायमाझीलाई भारतले लुकाएर राखेको समाचार समेत आएको छ । अब जनताले खवरदारी गर्नुपर्ने बेला यही हो । आकार बदल्ने हो भने फालम तातेकै बेला पिट्नु पर्छ । यतिबेला फलाम तातेको छ ।

प्रतिक्रिया