आज अन्तर्राष्ट्रिय मजदुर दिवस

आज विश्वका धेरै देशमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । मे १ तारिखका दिन मनाइने भएकोले यसलाई मे दिवस पनि भन्ने गरिएको छ । मजदुर दिवस किन र कसरी मनाउन थालियो ? मजदुर दिवस मनाउनका लागि मे १ को दिनलाई नै किन रोजियो ? भन्ने सन्दर्भमा निश्चित नजीर छन् । अग्रजहरूले आफ्नो वर्गीय हक हितका लागि गरेको बलिदानीपूर्ण संघर्षको बोध गराउनु, श्रमिकका अधिकार र कर्तव्यप्रति सजग गराउनु, संगठनमा नै बल हुन्छ भन्ने भावना जाग्रित गराउनु, श्रमको शोषण गर्नु अपराध हो भन्ने बोध रोजगारदातालाई गराउनु मे दिवसको उद्देश्य हो ।

नेपालमा पनि मे दिवस मनाउन थालिएको सात दशक पुग्न लागेको छ । यो दिवसका अवशरमा सरकारमा रहनेहरूले मिडियामार्फत शुभकामना वक्तव्य जारी गर्ने, मजदुरका नाममा खुलेका संघ संस्थाका पदाधिकारीहरूले भाषण गर्ने, आफ्ना आसेपासेलाई सडकमा लगेर प्रभात फेरी गर्ने कर्मकाण्डी प्रचलन हाम्रो मुलुकमा जीवितै छ । नेपालका बास्तविक अधिकांश मजदुरहरू मे दिवसबारे बेखबर छन् । केही मजदुरहरूले थाहा हुँदा हुँदै पनि मे दिवस मनाउने फुर्सद पाउन सकेका छैनन् । दिनभरी काम गरेर ज्याला बुझ्ने र त्यही ज्यालाबाट बेलुका र भोलिपल्ट बिहानको भात–भान्छा चलाउन वाध्य मजदुरहरूका लागि मे दिवसले छुन सकिरहेको छैन । नेपालका अधिकांश मजदुरहरूको हालत यही हो । विकसित देशका मजदुर वर्गका लागि मे दिवस भनेको हर्षोल्लासका साथ मनाउने पर्व हो । नेपालमा दसैँ पर्व मनाए जसरी नै उनीहरूले मे दिवस मनाउँछन् ।

श्रम बेचेर प्राप्त भएको आम्दानीले जीविकोपार्जन गर्ने वर्गलाई मजदुर भनिन्छ । तर नेपालमा श्रमको बजार नै छैन भन्दा पनि हुन्छ । श्रम बिक्री हुने ठाउँ निर्माण गर्न नसक्ने सरकारले मजदुर दिवस भन्दै किन सार्वजनिक बिदा दिने गरेको हो ? के का लागि शुभकामना वक्तव्य दिने गरेको हो ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ । जनगणना ०७८ को तथ्यांक हेर्ने हो भने नेपालमा एक वर्षमा करिब चार लाख शिशु जन्मेका छन् । करिब ६ लाख युवा श्रम बेच्न बिदेसिएका छन् । अनि के को मजदुर दिवस ? कसैलाई नेता बनाउनका लागि मजदुर संगठन खोल्ने, राजनीतिकदलहरूले आफ्ना शुभेच्छुक तथा भ्रातृ संगठनहरूको संख्या यति छ भनेर देखाउन मजदुर संगठन खोल्ने गरिएको छ । तर ती संगठनका शीरदेखि पुच्छारसम्म सक्कली मजदुरहरूले प्रवेश पाउन सकेका छैनन् ।

विदेशमा तयार भएका बस्तुहरू स्वदेशमा ल्याएर बिक्री गर्ने दलाल पुँजीपति वर्गको कब्जामा मुलुकको राज्य सत्ता पुगेको छ । स्वदेशमै बस्तु उत्पादन गर्न चाहने उद्योगीलाई दलाल पुँजीपति वर्गले विभिन्न बहानामा लखेट्ने गरेका छन् । यसका लागि मजदुर वर्गलाई पनि दुरुपयोग गरिएको छ । केही दशक अघिसम्म कृषि क्षेत्र नेपालको रोजगारीको मुख्य स्रोत थियो, तर छिमेकी भारतमा कृषिको यान्त्रीकरण तथा आधुनिकीकरण सुरु भएसँगै नेपालको कृषि क्षेत्रको रोजगारी पनि गुमेको छ । भारतबाट सस्तो मूल्यमा कृषि उपज आयात हुन थालेका कारण नेपालको कृषि क्षेत्रको रोजगारी समाप्त भएको छ । उद्योग धन्दाको सन्दर्भमा कुरा गर्ने हो भने सरकारले नै दलाल पुँजीपतिको इशारमा तयारी बस्तुु आयातमा भन्दा कच्चा पदार्थ तथा पाटपुर्जा आयातमा बढी भन्सार लगाइदिएको छ । महावीर पुन जस्ता अभियन्तालाई धर्नामा बस्न वाध्य पार्ने राज्य संयन्त्रले रोजगारी प्रवर्धनका लागि काम गर्ला भन्ने कुरा कल्पनासमेत गर्न सकिन्न ।

प्रतिक्रिया