बाँदर निर्यात गर्ने कि मान्छे ?

श्रीलंकाले हालै एक लाख बाँदर चीन निर्यात गर्न लागेको समाचार विश्वभर फैलिएको छ । आर्थिक संकट टार्नका लागि श्रीलंकाले बाँदर बेच्न थालेको भन्दै ब्यंग्य पनि गर्न थालिएको छ । चीनमा बाँदरको मासुलाई प्रिय भोजन मानिन्छ । त्यसैले मासुकै लागि चीनले श्रीलंकाबाट बाँदर आयात गर्न थालेको टिप्पणी भारत तथा पश्चिमा देशका मिडियाले गरेका छन् । उता चीनले भने श्रीलंकाबाट ल्याइने विशेष जातका बाँदरलाई पाल्नका लागि देशभर १० हजार वटा चिडियाखाना बनाइसकिएको जनाएको छ । यसैगरी बाँदरको संख्या अत्यधिक बढ्न गई किसानले लगाएको बालीनाली सखाप बनाएकोले निर्यात गर्नुपरेको श्रीलंकाले जनाएको छ । आफ्नो देशमा बाँदरको संख्या २५ वर्षको यो अवधिमा १० लाखबाट बढेर ३० लाख पुगेको श्रीलंकाले जनाएको छ ।

रासायनिक मल तथा विषादी नियन्त्रण गर्दै अग्र्यानिक कृषि प्रणाली अवलम्वन गरेको श्रीलंकाका लागि ३० लाख बाँदर भनेको धेरै नै हो । श्रीलंकाले बाँदरको व्यवस्थापनका लागि अपनाएको उपायका सन्दर्भमा समाचार आएपछि हाम्रो देशमा पनि सांसदहरूले बाँदर निर्यातको कुरा प्रतिनिधिसभाको बैठकमा उठाएका छन् । ओखलढुंगाका सांसद रामहरि खतिवडा र स्यांङ्जाका सांसद धनराज गुरुङले बाँदर आतंकबाट किसानलाई परेको पीडाका बारेमा संसदमा आवाज त उठाएका छन्, तर सरकारले, मिडियाले, नागरिक समाजले गम्भीरतापूर्वक लिएका छैनन् । उल्टै एकथरीले बन्यजन्तु अधिकारको कुरा उठाएका छन् । संघर्षको चेतावनी दिएका छन् ।

तराई तथा सहरी क्षेत्रका मानिसका लागि बाँदर आतंकको कुरा सामान्य लाग्ला, तर पहडाका ग्रामीण क्षेत्र मानवविहीन हुँदै जानुको मुख्य कारण बाँदर आतंक हो । पहिलो कुरा त पहाडमा जन्मदर घटेको छ, दोस्रो कुरा पहाडबाट तराई तथा सहर बजारमा बसाइँ सर्ने क्रम बढेको छ । जनसंख्या पातलो हुँदै जाँदा जंगल क्षेत्रको वृद्धि भएको छ । पशुपालनमा कमी तथा खाना पकाउनका लागि ग्याँस र बिजुलीको प्रयोग बढेका कारण पहाडी क्षेत्रमा जंगलको वृद्धि भएको छ । जंगलको वृद्धिस“गै बा“दरको संख्या पनि बढेको छ । जंगल आसपासमा मानिसले लगाएको बालीनाली खाइदिने नष्ट गर्ने बाँदरको चरित्रले हो । २० वटा बाँदर प्रवेश गरे भने एक रोपनीमा लगाइएको मकैबाली १० मिनेटमै सखाप बनाइदिन्छन् । त्यसैले जग्गा जमिन भएर पनि पहाडका किसानले बाली लगाउन सकेका छैनन् ।

बारीमा मात्रै होइन घरभित्रै पसेर बाँदरले अन्न खाइदिने गरेका छन् । हुँदा हुँदा मान्छेमाथि समेत बाँदरले आक्रमण गरेका समाचार आउन थालेका छन् । गाउँमा बँचेखुचेका मानिसहरू पनि बाँदर आतंककै कारण बसाइँ सर्न वाध्य छन् । पहाडी क्षेत्रका ३४ वटा जिल्लाको जनसंख्या उल्लेख्य घटेको हालैको जनगणना प्रतिवेदनले सार्वजनिक गरिसकेको छ ।

बाँदर आतंककै कारण नेपालको पहाडी क्षेत्र हरियो मरुभूमीका परिणत भइरहेको छ । गाउँमा मान्छे नै बस्न छाडेपछि वन जंगल पनि उपयोगमा आउँदैन, जडिबुटीहरू पनि यसै खेर जान्छन् । त्यसैले बाँदर आतंक नियन्त्रणका लागि संसद्मा उठाइएको मागलाई हल्का रूपमा लिनु ज्यादै ठूलो गल्ती हुनेछ । नेपालमा कुन कुन जातका बाँदर छन् ? भन्ने अध्ययन भए कुन कुन जातका बाँदरको मोटामोटी संख्या के कति छ ? भन्ने विषयमा भने अध्ययन भएको देखिँदैन ।

दुर्लभ जातका बाँदरको संरक्षण गर्नै पर्छ । तर, जुन जातका बाँदरहरू दुर्लभ होइनन् र तिनको व्यवस्थापन जरुरी देखिएको छ । बाँदर निर्यात संभव नभए परिवार नियोजन गराउन सकिन्छ । राष्ट्रिय निकुञ्जहरूमा लगेर छाड्न पनि सकिन्छ । मुसा नियन्त्रणका अनेकथरी विधि प्रयोग गर्न मिल्ने तर बाँदर नियन्त्रणका लागि परिवार नियोजनको विधि प्रयोग गर्न नमिल्ने तर्क कुनै पनि हालतमा जायज होइन । काम गर्न सक्ने युवा जनशक्तिलाई खाडी पठाएर स्वदेशमा बाँदर पाल्नु भनेको मुर्खता हो । बाँदर नियन्त्रण मात्रै गर्ने हो भने युवाहरू खाडी जाने क्रम आधा घट्छ ।

प्रतिक्रिया