कसरी होला भैरहवा विमानस्थलको उद्धार ?

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले आगामी जेठ दोस्रो सातादेखि भारतको नयाँ दिल्ली र मलेसियाको क्लालालाम्पुरमा नियमित उडानको तयारी गरेको छ । विमानस्थल उद्घाटन भएको करिव एक वर्ष पछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले यो तयारी गरेको हो । दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार उडान बढाउँदै लगिने निगमले जनाएको छ । तर अन्तिम टुंगो भने लागिसकेको छैन । दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको मात्रै छ , टुंगोमा पुग्न बाँकी छ ।

जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरण लगायतका काम पनि अझै टुंगो लागिसकेको छैन । दुई मुलुक र इनरुट पर्ने आवश्यक उडान अनुमतिका लागि निवेदन दिइए पनि अनुमति आउन बाँकी छ । २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको थियो । तर अन्तर्राष्ट्रिय उडान कम्पनीहरुले भने खासै रुची देखाएनन् । कुवेतको जजिरा एयरले नाम मात्रैको उडान भर्ने वाहेक विमानस्थल खाली छ । संचालन खर्च समेत उठ्न नसक्दा मुलुकलाई ठूलो घाटा लागेको छ । एकातिर संचालन खर्च बापत बार्षिक करोडौं रकम देशको ढुकुटीबाट खर्च गर्नु पर्ने अर्कातिर निर्माणका लागि भएको आर्थिक लगानीको ब्याज बढ्दै जाँदा ठूलो नैराश्यता उत्पन्न भएको छ ।

काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाई चापका कारण अन्तर्राष्ट्रिय उडानहरु आधा घण्टासम्म आकाशमै होल्ड गर्नुपर्ने , आन्तरिक उडानहरु चार घण्टासम्म ढिलो गर्नुपर्ने अवस्था उत्पन्न भएको छ भने अर्कातिर भैरहवाको गौतमबुद्ध विमानस्थलले निर्माणसम्पन्न भएको करिव एक वर्षसम्म पनि अन्तर्राष्ट्रिय उडान तथा अवतरणको मौका पाएको छैन । यसलाई सानो विडम्वना मान्न सकिन्न ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आरम्भ हुनासाथ रुपन्देही जिल्लामा निजी क्षेत्रले ५ वटा चारतारे सहितका सयौं होटलहरु निर्माण थालेको थियो । ती सबै होटलहरु संचालनमा आइसकेका छन् । तर विमानस्थल राम्रो सँग संचालन हुन नपाउँदा ती होटलहरु खाली छन् । अरु विमान कम्पनीहरुले चासो नदेखाए पनि सरकारी स्वामित्वको राष्ट्रय ध्वाजाबहाक नेवानीले यो विमानस्थलबाट उडान भरिदिए हुन्थ्यो भन्ने माग पर्यटन व्यवसायीहरुले राखेको धेरै भएको थियो । तर सरकारले कानमा तेल हालेर बस्यो । ढिलै भए पनि वर्तमान पर्यटनमन्त्री सुदन किराँतीले देखाएको यो चासो प्रति धन्यवाद दिनै पर्छ ।

नयाँ विमानस्थल भएकै कारण सुरुमा निजी क्षेत्र हच्किनु स्वभाविकै हो । त्यसैले सरकारी क्षेत्रको नेवानीले उडान गरेर उदाहरण पेश गर्नु जरुरी छ । सरकारी स्वामित्वमा बायुसेवा कम्पनी राखिएको यसैका लागि हो । सुरुमा यात्रुको संख्या अपुग हुन सक्छ , नेवानीलाई घाटा लाग्न सक्छ , तर देशलाई भने घाटा लाग्दैन , किनकी रुपेन्देही क्षेत्रको पर्यटन व्यवसाय फष्टाउँछ , रोजगारी बढ्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणका लागि नागरिक उड्यान प्राधिकरणले विभिन्न सहुलियत दिएको छ । यति धेरै सहुलियतका बाबजुद हवाई सेवा कम्पनीहरु आकर्षित नहुनुको मुख्य कारण भनेकै टनाटन सिट भरिने गरी यात्रु पाइँदैन की ? भन्ने हो ।

यात्रुको चाप खचाखच हुने हो भने व्यवसायिक हवाई उडान कम्पनीहरु काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तै तँछाड माछाड गर्दै ओहिरिने थिए । यात्रुको चाप कम हुनुको कारण पनि सरकारकै लापरबाही हो । किनकी दुई वर्ष अघि नै सम्पन्न हुनुपर्ने बुटवल–नारायणगढ सडक विस्तारको काम अहिले सम्म ४० प्रतिशत पनि सम्पन्न भएको छैन । विस्तारका क्रममा सडक अवरुद्ध बनेका कारण नरायणगढबाट बुटवलको १ सय १० किमी दुरी छिचोल्न ५ –६ घण्टा लाग्ने गरेको छ । अनि भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलले कसरी पाउँछ यात्रु ? त्यसैगरी भटाभट काम गरिएको भए अहिलेसम्म जनकपुरबाट बर्दिबास हुँदै भैरहवासम्म रेल मार्ग निर्माण भइसक्ने थियो । जनकपुर– भैरहवा रेल संचालनमा आएको भए भैरहवा विमानस्थलमा उडान भर्न अन्तर्राष्ट्रिय कम्पनीहरु तँछाड मछाड गर्ने थिए । छिमेकी मुलुक चीनद्धारा निर्माण गरिएका कारण पनि भारतीय कम्पनीहरु खोचे थापेर बसिरहेका छन् ।

चीनका विभिन्न शहरबाट नियमित उडान गराई दिने हो भने भारतीय कम्पनीहरुको पनि मुख बुझो लाग्छ । तर सरकारी स्तरमा पहल भइरहेको छैन । छिमेकी मित्रराष्ट्र चीनले आफ्नो देशका पर्यटकहरुको गन्तव्य सूचिमा नेपालको नाम पनि समावेश गरेको छ । यो वर्ष मात्रै करिव २५ करोड चिनियाँ नागरिकहरु पर्यटकका रुपमा विदेश भ्रमणमा निस्कने अनुमान गरिएको छ । त्यसमध्ये १ प्रतिशतले मात्रै नेपाल भ्रमण गरिदिने हो भने पनि भैरहवा विमानस्थलको यस्तो कन्तबिजोग हुँदैन ।

प्रतिक्रिया