ठूलादलको सिण्डिकेट विरुद्ध खवरदारी

केही छिटफुट घटना बाहेक स्थानीयतहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बैशाख ३० गते शुक्रबार एकै दिन देशका सबै पालिका तथा वडाहरुमा मतदान भएको छ । निर्वाचनको प्रारम्भिक परिणाम पनि धमाधम आउन थालेको छ । शनिबार अपरान्ह सम्ममा थोरै मतदाता भएका गाउँ पालिकाको परिणाम आइसकेको छ भने बाँकी गाउँपालिका तथा केही नगरपालिकाहरुमा पनि कुन पार्टी तथा कुन उमेद्वारले चुनाव जित्छ ? भन्ने मोटामोटी निक्र्योल भइसकेको छ । महानगरपालिका , उपमहानगर पालिका तथा धेरै जनसंख्या भएका नगरपालिकाहरुमा अन्तिम परिणाम आउन केही दिन लाग्ने देखिएको छ । तर मतगणनाको प्रारम्भिक परिणामले कसले जित्छ भन्ने संकेत गरिसकेको छ । नेपालको संविधान (२०७२) अन्तरगत दोस्रो पटक स्थानीय निर्वाचन सम्पन्न भएको हो ।

केही अपवाद बाहेक पहिलो स्थानीय निर्वाचनको परिणम र आशन्न स्थानीय निर्वाचनको परिणममा तात्विक भिन्नता नहुने संकेत देखिएको छ । कुनै निर्वाचनमा नेपाली कांग्रेस र कुनै निर्वाचनमा नेकपा एमालेले सबै भन्दा धेरै सिट जित्ने चक्र लामो समय देखि चल्दै आएको छ । अहिले पनि चुनावी परिणम त्यही चक्र वरिपरी नै छ । तर सत्तामा सामेल पाँच दलबीच गठवन्धन नभएको भए , फेरी पनि नेकपा एमालेले नै सबै भन्दा धेरै पालिका जित्ने कुरामा भने कुनै द्धीविधा रहेन ।

पाँच दलीय सत्ता गठवन्धनमा सामेल दलहरुले पनि अपेक्षित परिणाम ल्याउन नसक्ने स्पष्ट देखियो । सत्ता गठवन्धनमा सामेलदलहरुको व्यवस्थापन पक्ष निकै कमजोर देखियो । विभिन्न चुनाव चिन्हमा छाप लागउनु पर्ने भएकोले आफ्ना मतदातालाई प्रशिक्षित गर्नु सत्ता गठवन्धनमा समेल दलहरुको मुख्य दायित्व हुनु पथ्र्यो , तर भागवण्डामै अलमलिए ।

आशन्न स्थानीयतहको निर्वाचनमा स्वतन्त्र उमेद्वारहरुले नयाँ रेकर्ड कायम गरेका छन् । खासगरी काठमाडौं महानगरपालिका , जनकपुर उपमहानगर पालिका र धनगडी उपमहानगरपालिकामा स्वतन्त्र उमेद्वारहरुले जे जस्तो मत हासिल गरेका छन् , त्यसलाई विश्लेषण गर्ने हो भने नेपालको दलीय राजनीति यथास्थितिमा अघि बढ्न सक्दैन भन्ने स्पष्ट संकेत देखिएको छ । काठमाडौं महानगरपालिका भनेको सबै भन्दा धेरै जनसंख्या भएको पालिका मात्रै होइन, देशका ७ सय ५३ वटै पालिकाका जनता बसोबास गर्ने ठाउँ हो । देशका ७ सय ५३ वटै पालिकामा थातथलो भएका मतदाताहरु काठमाडौं महानगरपालिकामा छन् । त्यसैले काठमाडौं महानगर पालिकाको मत परिणमले दिने सन्देश भनेको देशभरीका मतदाताले दिने सन्देश हो ।

त्यसैगरी जनकपुर उपमहानगरपालिका मधेश प्रदेशको राजधानी मात्रै नभएर त्यो प्रदेशका सबै पालिकाका जनता कुनै न कुनै रुपमा मतदाता भएको ठाउँ हो । जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उमेद्वारले प्राप्त गर्ने मत पनि सिंगो मधेस प्रदेशको सन्देश हो । धनगढी उपमहानगर पालिका पनि सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्ला र ति जिल्ला अन्तरगतका सबै पालिकाका जनता कुनै न कुनै रुपमा मतदाता रहेको क्षेत्र हो । धनगढीमा सुदुरपश्चिका मात्रै होइन , कर्णाली प्रदेश र गण्डकी प्रदेशका जनता पनि मतदाता छन् ।

संख्यात्मक हिसावले के कति पालिकाहरुमा कुन कुन दलहरुले जिते ? भन्ने कुराको खासै महत्व रहन्न । किनकी ४ सय जनसंख्या रहेको मनाङको नार्फा भुमी गाउँपालिका र ८५ हजार जनसंख्या रहेको काठमाडौं महानगरपालिकाको वडा नं १६ ले दिने सन्देशलाई एउटै डालोमा राखेर गणना गर्न मिल्दैन । त्यसैले हामीले यति वटा पालिकामा चुनाव जित्यौं भनेर ठूलादलका कार्यकर्तामा घमण्ड नबढोस् । काठमाडौं , जनकपुर , धनगढी लगायतका अर्थपूर्ण पालिकाहरुमा स्वतन्त्र उमेद्वारका पक्षमा देखिएको जनलहरबाट ठूला दलहरुले पाठ सिक्न सकेनन् भने बहुदलीय लोकतन्त्रको दिन गन्ती सुरु हुन पनि सक्छ भन्ने हेक्का ठूलादलका शीर्ष नेताहरुले राखनु ।

२०४३ सालको राष्ट्रिय पंचायतको चुनावमा र २०४४ सालको स्थानीय चुनावमा राजधानी काठमाडौंका जनताले दिएको सन्देशलाई समयमै आत्मासात गरेको भए दुई वर्ष वित्दा नविन्दै पंचायति व्यवस्थाले धुलो चाट्नु पर्ने थिएन । अहिले त काठमाडौंले मात्रै होइन , जनकपुर र धनगढीले समेत खवरदारीको संकेत दिइसकेको छ ।

प्रतिक्रिया