व्रतबन्ध वा यज्ञोपवित संस्कार

भूमिका
उपनयन संस्कार द्विजहरूको अति महत्वपूर्ण संस्कार हो । यसलाई व्रतबन्ध वा यज्ञोपवित संस्कार पनि भनिन्छ । व्रतबन्धभन्दा अघि गरिनुपर्ने चूडाकरण र व्रतबन्धपछि गरिनुपर्ने वेदारम्भ, समावर्तन, व्रतस्नान आदि संस्कार पनि व्रतबन्धकै बेलामा गर्ने गरिएको पाइन्छ । प्रचलनन नै यही भएकोले बजारमा पाइने प्रायः सबै नेपालीका लागि बनाइएका कर्मकाण्डका पुस्तकमा विधि पनि यहीअनुसार लेखिएको पाइन्छ । त्यसैले केही मूल पुस्तकका विधिबाहेक अरू पुस्तकका विधि उल्लेख गर्न चाहन्न तर यसका अन्य पाटाहरूका सम्बन्धमा अलि विस्तृतरूपमा चर्चापरिचर्चा गर्न प्रयास गर्नेछु । ठेट भाषामा उल्था गर्दा कसैलाई होच्याएको सन्देश नजाओस् भन्नाखातिर मैले घुमाएर अर्थ दिन प्रयास गरेको छु । यसलाई शाब्दिक अर्थ नभन्ठान्नु होला ।


व्रतबन्धको अधिकार

आर्य वीज र अनार्य खेत वा अनार्य वीज र आर्य खेतबाट उत्पन्न हुनेको उपनयन संस्कार गर्न शास्त्रले अधिकार दिँदैन किनकि पहिलोमा वर्णसंकरता र दोश्रोमा प्रतिलोमको दोष हुन्छ । असल बिउ राम्रो जमिनमा रोप्नाले नै राम्रो उत्पादन हुन्छ । त्यसैले आर्यबीज र आर्य गर्भबाट जन्मने बालक नै सुपात्र हुने हुनाले उमात्र उपनयन संस्कारको अधिकारी हुन्छ । (श्रीमनुस्मृतिः)
घृणित पेसा, व्यवहार वा आचरण गर्नेहरूका लागि संस्कार वर्जित छ । तीनले पहिले असल पेसा, व्यवहार वा आचरण गर्नेहरूको संसर्ग र सेवा गरी आफूलाई सुधारुन् । (श्रीविष्णुप्रोक्तधर्मशास्त्र)


उपनयनको महत्व


श्रीमनुस्मृतिअनुसार विधिपूर्वक गायत्री–दीक्षा नलिने द्विजले प्रायश्चितका लागि तीन कृच्छ्र व्रत बसी नियमानुसार (पुनः) व्रतबन्ध गर्नु पर्दछ भनिएको छ । त्यसैगरी श्रीव्यासस्मृतिमा द्विजातीका दुई जन्म हुन्छन्, ती दुई जन्ममा पहिलो जन्म आमाको कोखबाट र दोस्रो जन्म गुरुसँग विधिपूर्वक वेदमाता गायत्रीको ग्रहण गरेर हुन्छ । यसरी द्विजता प्राप्त गरी मात्र अन्य दोषबाट मुक्त भएको बालक श्रुति, स्मृति र पुराण अध्ययन गर्ने अधिकारी हुन्छ भनिएको छ । त्यसैगरी श्रीविष्णुस्मृतिका अनुसार पहिलो जन्म माताबाट हुन्छ भने दोसो (विधिपूर्वक उपनयनमा) कन्धनी–लँगौटी लाएर । यसमा माता सावित्री र पिता आचार्य हुन्छन् । यसले गर्दा नै तिनको द्विजत्व हुन्छ । कन्धनी बाँध्नु अघिसम्म द्विज पनि चौथो वर्णसमान हुन्छ ।


श्रीवशिष्ठस्मृतिका अनुसार द्विजको जन्म पहिले आमाबाट त्यसपछि उपनयनबाट हुन्छ । दोश्रो जन्मका गायत्री माता र आचार्य पिता हुन्छन् भनी बताइएको छ । आचार्यले वेद पढाउँछन् त्यसैलै उनलाई पिता भनिएको हो । यसमा पनि यो वचन छ कि पुरुषका शरीरमा तेजका दुई भाग हुन्छन् । ब्राह्मणका शरीरको नाइटो माथिको भागबाट अनौरसी प्रजा (वर्णसंकर) हुन्छन् । जसले उपनयन गराउँछ, जननी (गायत्री) बाट उत्पन्न गराउँछ उसले भलाई गर्दछ । जुन नाभीभन्दा मुनिको भाग हुन्छ त्यसबाट मनुष्यका औरस प्रजा हुन्छन् । यसैले वेदपाठी र विद्यामा श्रेष्ठलाई ‘तिमी अपूज्य हौ’ यस्तो वचन कहिल्यै नभन्नु । हारित ऋषि यसै भन्दछन् । उपनयनभन्दा अघि उसलाई कुनै कर्मको अधिकार हुँदैन । जबसम्म उ वेदोत्पन्न हुँदैन तबसम्म जलदान, स्वधा आदि पितृकर्म बाहेकका सब कर्ममा ऊ चौथो वर्णसमान जान्नु भनिएको छ ।


उपनयनको उमेर


श्रीमनुस्मृतिमा भनेअनुसार गर्ने हो भने गर्भ रहेको आठ वर्ष पुगेपछि ब्राह्मणको व्रतबन्ध गर्नु । क्षत्रिको ११ वर्ष र वैश्यको १२ वर्ष पुगेपछि गर्नु । ब्राह्मण, छेत्री र वैश्यले क्रमशः ब्रह्मतेजी, बली र दक्ष व्यापारी बनाउन बालकलाई पाँच, ६ र आठ वर्षको उमेरमा गुरुकुलमा पढ्न पठाउनु । ब्राह्मण १६ वर्ष, क्षत्रीय २२ वर्ष र वैश्य २४ वर्ष पुग्दासम्म व्रतबन्ध गरिसक्नु पर्दछ । समयमै व्रतबन्ध नगरी नित्य उपासना, स्वाध्याय, गायत्री जप आदिबाट वञ्चित रहेका द्विजपुत्रहरू पतित एवं भ्रष्ट भएर ‘व्रात्य’ कहलाउँछन् र शिष्टजनबाट निन्दित हुन्छन् । यस्ता अपवित्र व्रात्यले विधिपूर्वक प्रायश्चित नगरेसम्म तिनका साथ ब्राह्मणादिले विद्या र योनीको सम्बन्ध नगाँस्नु ।


त्यसैगरी श्रीयाज्ञवल्क्यस्मृतिमा पनि गर्भरहेको वा जन्मेको समयदेखि आठ वर्षमा ब्राह्मणको, ११ वर्षमा छेत्रीको र १२ वर्षमा वैश्यको कुलपरम्परा अनुसार उपनयन संस्कार गर्नु भनिएको छ । ब्राह्मण, क्षत्रिय र वैश्यको उपनयन गर्ने अन्तिम उमेर क्रमशः १६, २२ र २४ वर्ष हो । यसभित्र पनि उपनयन नगर्ने पतितलाई कुनै पनि धर्मकर्म गर्ने अधिकार हुँदैन, गायत्री मन्त्रको दान दिन योग्य हुँदैन र व्रात्य भनेर चिनिन्छ ।


यसैगरी श्रीशंखस्मृतिमा गर्भबाट आठौं वर्षमा ब्राह्मणको, एघारौं वर्षमा क्षत्रियको र बाह्रौं वर्षमा वैश्यको उपनयन संस्कार गरिनु पर्दछ । उपनयन गर्ने उमेरको अन्तिम सीमा ब्राह्मणको १६, क्षत्रियको २२ र वैश्यको २४ वर्ष नै बताइएको छ । यसभन्दा पछि गायत्री मन्त्रको उपदेश नगर्नु, (गराउन आए आचार्यले) फर्काइदिनु । समयमै संस्कार नगरिएका यस्ता द्विज सावित्री पतित, व्रात्य र सबै धर्मबाट बहिष्कृत हुन्छन् भनेर जान्नु भनिएको छ । श्रीविष्णुप्रोक्तधर्मशास्त्रम्ले पनि यज्ञोपवित संस्कारपछि मात्र द्विजलाई गायत्री जपको अधिकार हुने हुनाले गर्भ रहेको आठौं वर्षमा ब्राह्मणको उपनयन संस्कार गर्नु । गर्भ रहेको दिनदेखि ११औँ वर्षमा क्षत्रीयको र १२औँ वर्षमा वैश्यको ब्राह्मणद्वारा उपनयन गराउनु भनेको छ ।


अझ श्रीव्यासस्मृतिले त गर्भ रहेदेखि आठ वर्षको हुँदा ब्राह्मणको, ११ वर्ष हुँदा क्षत्रियको र १२ वर्ष हुँदा वैश्यजातिको उपनयन संस्कार गर्न योग्य हुन्छ । समय बिती दोबर समय पुग्दा पनि उपनयन नगरे उ वेदव्रतबाट पतित भई व्रात्य हुन्छ र उसले व्रात्यस्तोम यज्ञ गर्नु पर्दछ भनिएको छ ।


व्रतबन्धमा बटुकले प्रयोग गर्ने दण्ड


व्रतबन्धमा काम चलाउने हिसाबले वटुकलाई लौरो भिराइन्छ । पैयूँदेखि उत्तीससम्म पनि प्रयोग भइरहेका देखिन्छन् । के छ त यस सम्बनधमा शास्त्रको मत । उपलब्ध हुन सक्ने अवस्थामा पनि त्यसलाई मान्नै नसकिने छ र ? हेरौँ यी वचनहरू :
श्रीमनुस्मृतिका अनुसार ब्राह्मणको दण्ड बेल वा पलाशको, क्षत्रियको दण्ड वर वा खयरको र वैश्यको दण्ड पीपल वा डुम्रीको हुनुपर्दछ । दण्डको लम्बाइ क्रमशः गोडादेखि कपालसम्म, निदारसम्म र नाकसम्म पुग्ने हुनुपर्दछ । दण्ड बांगोटिंगो नभई सिधा हुनुपर्दछ । दण्डमा गाँठागुँठी हुनुहुँदैन, हेर्नमा सुन्दर हुनुपर्दछ, उद्वेग–भय–ग्लानी–दुःख उत्पन्न गर्ने हुनु हुँदैन (कीराले खाएको आदि) । बोक्रा ताछिएको र आगोले पोलेको हुनु हुँदैन । उपरोक्त दण्ड सूर्यलाई नमस्कार गर्दा, अग्निको परिक्रमा गर्दा र भिक्षा माग्दा (आजन्म) साथमा हुनुपर्दछ ।


त्यसैगरी श्रीशंखस्मृतिका अनुसार उपनयनमा द्विज बटुकको लागि क्रमैले पलाश, पीपल र बेलको दण्ड बताइएको छ । यि क्रमशः केशस्थान, निधार र मुखसम्म पुग्ने हुनुपर्दछ भनिएको छ । दण्ड सोझो, बोक्रा सहितको र नडढेको हुनुपर्दछ ।
श्रीगौतमस्मृतिका अनुसार ब्राह्मणको दण्ड बेल वा पलाशको र बाँकीको क्रमशः पीपल र कुम्भी (पीलु)को वा सबैका लागि यज्ञमा मौलो बनाउन योग्य रुखको हुन्छ भनिएको छ । यी दण्ड बोक्रा सहितको हुनुपर्दछ । यिनको नाप क्रमशः शीर, निधार र नाकको अघिल्लो भागसम्म पुग्ने हुनुपर्दछ ।


वटुकले लगाउने अधोवस्त्र


समाजमा उमेर ढल्केपछि व्रतबन्ध गरिदिने र उसलाई व्रतबन्ध गर्दा स्वेच्छाले जस्तो पायो त्यस्तो वस्त्र लगाइदिने चलन छ । शास्त्रले त्यस्तो अनुमति दिएको पाइन्न । लचकदार व्यवस्था भए पनि व्यवहारमा त्यसको उल्लंघन किन भइरहेछ, थाहा छैन । सायद जजमान र पुरेत दुबैमा ज्ञानको कमी हुनु वा यान्त्री बन्न थाल्नु यसका कारण हुन सक्छन् । हेरौँ शास्त्र के भन्दछ त ?
श्रीगौतमस्मृतिअनुसार सनको कपडा, आलसको कपडा र च्यांग्राको भुत्लाको कपडा (वा कुश) को कपडाका वटुकका अधोवस्त्र हुन्छन् । अथवा सबैका लागि कपासका नरंगाइएका वस्त्र हुन्छन् । कसैको मत गेरु रङको हुनुपर्दछ भन्ने पनि छ । ब्राह्मणको वस्त्र रुखको बोक्राले तथा अन्य दुईका वस्त्र क्रमशः मजीठो र हलेदोले रंगाइएको हुनुपर्ने बताएको छ । त्यसैगरी श्रीविष्णुस्मृतिमा द्विजको जनै र वस्त्र क्रमशः कपास, सन र ऊनको र श्री पारस्करगृह्यसूत्रमा ब्राह्मण बटुकले सनपाटको, क्षत्रीयले रेशमी र वैश्यले ऊनी कपडा वा भेडाको छाला धारण गर्नु भनिएको छ ।


वटुकले लगाउने उत्तरीय वस्त्र वा छाला


गौतमस्मृतिका अनुसार द्विजको उपनयनमा क्रमशः कृष्णमृग, रुरुमृग र बोकाको छाला तथा श्रीशंखस्मृतिमा मृग, बाघ र बोकाको छाला क्रमैले ब्रह्मचारीका चर्म हुन्छन् भनिएको छ । श्रीविष्णुस्मृतिमा पनि तिनले बेर्ने छाला क्रमशः कृष्णसार, बाघ र बोकाको हुन्छ भनिएको छ भने श्रीकूर्मपुराणमा पनि उत्तरीय वस्त्रमा कृष्णमृगचर्म शुभ भनी बताइएको छ । यो नपाउँदा दिव्य चर्म वा रुरुमृगचर्मको विधान गरिएको छ ।


श्री पारस्करगृह्यसूत्रलाई आधार मान्ने हो भने ब्राह्मण कुमारले बाह्रसिंगेको छाला शरीरमा धारण गर्नु । रुरु मृगको छाला क्षत्रीयले धारण गर्नु । बोका वा साँढेको छाला वैश्यले धारण गर्नु । अथवा सबैले साँढेको छाला धारण गर्नु किन कि यो सुलभ हुन्छ भनिएको छ ।


वटुकले लगाउने कन्धनी


श्रीमनुस्मृतिका अनुसार ब्राह्मणले सूतको तीन डोरे, कोमल, चिल्लो र छुँदा सुखद् लाग्ने, क्षत्रीयले मूर्वी घाँसको ताँदोझैं बलियो र वैश्यले सनको बलियो कन्धनी लगाउनु । यदि नपाइएमा क्रमशः कुश, अश्मन्तक (ढुंगा फोरेर पलाउने तीखा टुप्पा हुने घाँस विशेष) र बाबियोको बाटेर तीन डोरो बनाई तीन वा पाँच गाँठाको कन्धनी लगाउनु पर्दछ भनिएको छ ।


श्रीविष्णुस्मृतिमा बताए अनुसार कन्धनी क्रमशः मुँज, ताँदो र बाबियोको हुन्छ भनिएको छ भने श्रीशंखस्मृतिमा मुँज, धनुको ताँदो र सनको डोरो क्रमैले कन्धनी बताइएको छ । गौतमस्मृतिमा मेखला क्रमशः मूँज, ताँदो र कपासको डोरी तथा श्रीकूर्मपुराणमा वटुकको कन्धनी मूँजले बनेको, तेहोरो, बराबर र चिल्लो बनाउनु पर्दछ । मुँज नपाए कुशको एक वा तीन ग्रन्थीले युक्त कन्धनी बनाउनु भनिएको छ । श्री पारस्करगृह्यसूत्रका अनुसार ब्राह्मणले मुजले बनेको कन्धनी प्रयोग गर्नु । क्षत्रियले धनुको डोरीको कन्धनी प्रयोग गर्नु । वैश्यले मौर्वी (एक थरी घाँस) को कन्धनी प्रयोग गर्नु । मुज नपाइए ब्राह्मणले कुशको, क्षत्रियले अश्मन्तक (?) को र वैश्यले बल्वज (?) को कन्धनी प्रयोग गर्नु ।

प्रतिक्रिया