कोल्ड ड्रिंक्स अर्थात् मन्द विष !

काठमाडौँ । नेपालमा पछिल्ला केही सातादेखि तापक्रम लगातार बढिरहेको छ । तराईका जिल्लादेखि पहाडी तथा हिमाली क्षेत्रसम्म गर्मीको प्रभाव महसुस हुन थालेको छ । मौसम परिवर्तनसँगै मानिसहरूको दैनिक जीवनशैली र खानपानमा पनि परिवर्तन आउँछ । गर्मी बढेसँगै शरीरलाई शीतलता दिने खानेकुरा तथा पेय पदार्थको खोजी स्वाभाविक रूपमा बढ्ने गर्छ । विशेषगरी बजारमा पाइने चिसो पेय पदार्थ (कोल्ड ड्रिंक्स्) आइसक्रिम, प्याकेटबन्द जुस, कार्बोनेटेड ड्रिंक्स र विभिन्न स्वादका पेय पदार्थको बिक्री तथा उपभोग गर्मीयाममा उल्लेख्य रूपमा बढ्ने गरेको छ । गर्मीका कारण शरीरमा हुने असहजता कम गर्न धेरैजसो मानिस तत्काल राहत दिने चिसो पेय पदार्थतर्फ आकर्षित हुने गर्छन् । घरमा पाहुना आउँदा, कुनै समारोहमा जाँदा वा यात्रा गर्दासमेत चिसो पेय पदार्थलाई आतिथ्यता र सम्मानको प्रतीकका रूपमा प्रयोग गर्ने चलन बढ्दै गएको छ । विशेषगरी बालबालिका र युवापुस्तामा बजारमा पाइने रंगीन र स्वादयुक्त पेय पदार्थप्रति आकर्षण अझ बढी देखिन्छ ।

तर स्वास्थ्य विज्ञहरूका अनुसार गर्मीबाट राहत पाउनका लागि प्रयोग गरिने सबै चिसो पेय पदार्थ शरीरका लागि लाभदायक हुँदैनन् । तत्काल चिसोपनको अनुभूति दिलाउने धेरैजसो बजारिया पेय पदार्थले दीर्घकालीन रूपमा स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छन् । यसबारे आम उपभोक्तामा पर्याप्त जानकारी र चेतना नहुँदा समस्या झन् जटिल बन्दै गएको विज्ञहरूको भनाइ छ ।

एक समय नेपालका अधिकांश गाउँघरमा मोही, दही, सर्वत, सातु, बेलको रस, ज्वानो पानी, पुदिना पानी, गोरस तथा अन्य घरेलु पेय पदार्थ गर्मीमा लोकप्रिय थिए । ती पेय पदार्थले शरीरलाई शीतलता दिनुका साथै आवश्यक पोषण पनि प्रदान गर्थे । तर पछिल्ला वर्षहरूमा बजारमा विभिन्न ब्रान्डका चिसो पेय पदार्थको सहज उपलब्धतासँगै परम्परागत पेय पदार्थहरू क्रमशः ओझेलमा पर्दै गएका छन् । अहिले धेरै परिवारले घरमै उत्पादन हुने दूध, दही र मोहीको सट्टा बजारबाट खरिद गरिने पेय पदार्थलाई प्राथमिकता दिन थालेका छन् ।

कतिपय स्थानमा त स्थानीय तथा घरेलु पेय पदार्थ सेवन गर्नुलाई पुरानो शैली वा कम प्रतिष्ठाको विषयका रूपमा समेत हेर्ने प्रवृत्ति बढेको देखिन्छ । यसको परिणामस्वरूप नेपाली समाजमा लामो समयदेखि प्रयोग हुँदै आएका पोषिलो पेय पदार्थहरू विस्थापित हुने क्रम बढिरहेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार यो प्रवृत्ति स्वास्थ्य र आर्थिक दुवै दृष्टिकोणले चिन्ताजनक छ । घरेलु पेय पदार्थ तुलनात्मक रूपमा सस्ता, सुरक्षित र पोषिलो हुन्छन् भने बजारिया पेय पदार्थ महँगा हुनुका साथै स्वास्थ्य जोखिमसमेत बोकेका हुन्छन् ।

विशेषज्ञहरूका अनुसार अधिकांश प्याकेटबन्द चिसो पेय पदार्थमा अत्यधिक मात्रामा चिनी, कृत्रिम रंग, स्वाद तथा विभिन्न प्रकारका रासायनिक तत्व मिसाइएका हुन्छन् । यी पदार्थले पेयलाई आकर्षक देखाउन र लामो समयसम्म सुरक्षित राख्न मद्दत गर्छन् । तर यिनै तत्वहरूले स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउन सक्छन् ।

धेरै चिनी भएका पेय पदार्थको नियमित सेवनले मोटोपना, मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी समस्याको जोखिम बढाउँछ । साथै यस्ता पेय पदार्थले शरीरमा आवश्यक पोषण नदिई अतिरिक्त क्यालोरी मात्र प्रदान गर्ने भएकाले तौल नियन्त्रणमा पनि समस्या उत्पन्न हुन्छ । बालबालिकामा यसको असर झन् गम्भीर हुन सक्छ । बाल्यावस्थामै अत्यधिक गुलिया पेय पदार्थ सेवन गर्ने बानीले मोटोपना, दाँत बिग्रिने समस्या र भविष्यमा मधुमेहको जोखिम बढाउने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

धेरै मानिसले चिसो पेय पदार्थले शरीरमा पानीको कमी पूरा गर्छ भन्ने विश्वास गर्छन् । तर स्वास्थ्य विज्ञहरूका अनुसार केही पेय पदार्थले उल्टै शरीरलाई थप डिहाइड्रेसनतर्फ लैजान सक्छन् । विशेषगरी अत्यधिक चिनी र क्याफिन भएका पेय पदार्थले शरीरबाट पानीको मात्रा बाहिर निकाल्ने प्रक्रियालाई बढावा दिन सक्छन् । जसका कारण क्षणिक रूपमा तिर्खा मेटिएको महसुस भए पनि शरीरले आवश्यक जल सन्तुलन कायम राख्न सक्दैन । गर्मी मौसममा पसिनामार्फत शरीरबाट पानी र आवश्यक खनिज पदार्थ बाहिरिने भएकाले पर्याप्त मात्रामा स्वच्छ पानी तथा पोषक तत्वयुक्त प्राकृतिक पेय पदार्थ सेवन गर्नु आवश्यक मानिन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार धेरैजसो कार्बोनेटेड चिसो पेय पदार्थमा क्याफिन तथा फोस्फोरिक एसिड पाइन्छ । क्याफिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित बनाउने काम गर्छ । यसले केही समयका लागि शरीरमा ऊर्जा बढेको, थकान कम भएको र स्फूर्ति आएको अनुभव गराउँछ । तर यो प्रभाव अस्थायी हुन्छ । नियमित रूपमा क्याफिनयुक्त पेय पदार्थ सेवन गर्दा त्यसको लत लाग्न सक्छ ।

साथै निद्रामा समस्या, मुटुको धड्कन बढ्ने, तनाव तथा अन्य स्वास्थ्य समस्या पनि देखा पर्न सक्छन् । त्यस्तै फोस्फोरिक एसिडले शरीरमा क्याल्सियमको सन्तुलन बिगार्न सक्ने भएकाले हाडजोर्नी कमजोर हुने जोखिम बढ्न सक्छ । बालबालिका तथा किशोरकिशोरीमा यसको असर अझ बढी हुन सक्ने विज्ञहरूको चेतावनी छ ।

चिसो पेय पदार्थमा प्रयोग गरिने साइट्रिक एसिड, फोस्फोरिक एसिड, म्यालिक एसिड तथा टारटारिक एसिडजस्ता तत्वहरूले पेयलाई स्वादिलो र लामो समयसम्म सुरक्षित राख्न मद्दत गर्छन् । तर यी अम्लीय तत्वहरूले दाँतको बाहिरी सुरक्षात्मक तहलाई क्षति पुर्याउन सक्छन् । नियमित रूपमा यस्ता पेय पदार्थ सेवन गर्दा दाँत संवेदनशील हुने, किराले खाने तथा दाँतको क्षय हुने समस्या बढ्न सक्छ । साथै पेट पोल्ने, अम्लपित्त बढ्ने, अपच हुने तथा पाचन प्रणालीमा विभिन्न समस्या देखा पर्ने सम्भावना पनि रहन्छ । स्वास्थ्यकर्मीहरूका अनुसार कार्बोनेटेड पेय पदार्थमा देखिने फिँज र फोका कार्बनडाइअक्साइड तथा अन्य रासायनिक प्रतिक्रियाका कारण उत्पन्न हुन्छन् । यस्ता पदार्थको अत्यधिक सेवनले पेटसम्बन्धी समस्या बढाउन सक्छ ।

बजारमा चिसो पेय पदार्थको बढ्दो प्रयोगमा विज्ञापनको ठुलो भूमिका रहेको विज्ञहरू बताउँछन् । टेलिभिजन, सामाजिक सञ्जाल, रेडियो तथा अन्य सञ्चार माध्यममार्फत हुने आकर्षक प्रचारप्रसारले उपभोक्तालाई प्रभावित गरिरहेको छ । विशेषगरी युवापुस्ता र बालबालिकालाई लक्षित गरेर तयार गरिएका विज्ञापनहरूले यस्ता पेय पदार्थलाई आधुनिक जीवनशैली, फेसन तथा प्रतिष्ठासँग जोडेर प्रस्तुत गर्ने गरेका छन् ।

फलस्वरूप धेरै उपभोक्ताले त्यसको वास्तविक पोषण मूल्य वा स्वास्थ्य असरबारे जानकारी नलिई सेवन गर्ने गरेका छन् । चिसो पेय पदार्थ अहिले दुर्गम ग्रामीण क्षेत्रसम्म सहज रूपमा पुग्न थालेका छन् । कतिपय स्थानमा आधारभूत स्वास्थ्य सेवा तथा पोषिलो खाद्य सामग्रीको पहुँच सीमित भए पनि विभिन्न ब्रान्डका पेय पदार्थ भने सजिलै उपलब्ध हुने अवस्था सिर्जना भएको छ ।

गर्मीमा के खाने ?

स्वास्थ्य तथा पोषण विज्ञहरूका अनुसार गर्मीमा शरीरलाई आवश्यक पानी, खनिज पदार्थ र पोषक तत्व उपलब्ध गराउने प्राकृतिक पेय पदार्थ सेवन गर्नु सबैभन्दा उपयुक्त हुन्छ । दही, मोही, बटरमिल्क, कागती पानी, सर्वत, बेलको सर्वत, नरिवल पानी, पुदिना मिसाएको पानी, खर्बुजा, तर्बुजा, काँक्रो तथा पानीले भरिएका अन्य ताजा फलफलहरू । यससँगै प्रशस्त पानी पिउनु पर्छ । सामान्यतया, एक वयस्क व्यक्तिले दिनमा २.५ देखि ३.५ लिटरसम्म पानी पिउनुपर्छ । यो मात्रा मौसम, व्यायाम, व्यक्तिको शरीर र स्वास्थ्य अवस्थाअनुसार फरक हुन सक्छ । त्यसैले यसमा ख्याल गर्नुपर्छ ।

गर्मी मौसममा कागती पानी सबैभन्दा प्रभावकारी र सहज रूपमा उपलब्ध हुने पेय पदार्थमध्ये एक हो । कागतीमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । कागतीको नियमित प्रयोगले रुघाखोकीबाट जोगिन, गिजाबाट रगत बग्ने समस्या कम गर्न तथा पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग पुर्याउँछ ।

गर्मीमा सामान्य पानीमा कागती मिसाएर सेवन गर्दा शरीरलाई आवश्यक तरल पदार्थ र केही पोषक तत्व एकैसाथ प्राप्त हुन्छ । कागतीसँगै पुदिना मिसाएर पिउँदा यसको स्वाद मात्र होइन, स्वास्थ्य लाभ पनि थप बढ्ने विज्ञहरू बताउँछन् ।

पुदिना वा बाबरी नेपाली भान्सामा लामो समयदेखि प्रयोग हुँदै आएको वनस्पति हो । यसको अचार बनाउने चलन त छँदै छ, गर्मीमा पानीमा मिसाएर सेवन गर्दा पनि यसले शरीरलाई ताजगी प्रदान गर्छ । पुदिनामा पाइने प्राकृतिक तत्वहरूले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छन् । साथै मुखको दुर्गन्ध कम गर्न, पेट फुल्ने समस्या घटाउन तथा शरीरलाई शीतलता दिन पनि उपयोगी मानिन्छ । कागती र पुदिना मिसाएर बनाइएको पानी गर्मीयाममा निकै प्रभावकारी घरेलु पेय पदार्थका रूपमा लिन सकिन्छ ।

गर्मी मौसममा शरीरबाट पसिनामार्फत धेरै पानी बाहिरिने भएकाले पर्याप्त मात्रामा पानी पिउनु अत्यन्त आवश्यक हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार सामान्य अवस्थामा एक वयस्क व्यक्तिले दिनमा करिब २.५ देखि ३.५ लिटरसम्म पानी पिउनुपर्छ । यद्यपि यो मात्रा व्यक्तिको उमेर, तौल, स्वास्थ्य अवस्था, मौसम तथा शारीरिक गतिविधिको स्तरअनुसार फरक पर्न सक्छ । अत्यधिक गर्मीमा काम गर्ने व्यक्तिहरूले अझ बढी पानी सेवन गर्नुपर्ने हुन सक्छ ।

गर्मीमा प्राकृतिक पेय पदार्थ सेवन उपयुक्त : डा. अरुणा उप्रेती, पोषणविद्

डा. अरुणा उप्रेती, पोषणविद्

गर्मी मौसम सुरु भएसँगै मानिसहरूलाई चिसो खानेकुरा र पेय पदार्थतर्फ आकर्षण बढ्ने गर्छ । धेरैको धारणा हुन्छ कि गर्मीबाट राहत पाउन चिसो पानी, आइसक्रिम, फ्रिजको पानी वा विभिन्न चिसा पेय पदार्थ सेवन गर्नुपर्छ । तर स्वास्थ्यका दृष्टिले यो धारणा पूर्ण रूपमा सही होइन । अत्यधिक चिसो पेय पदार्थले तत्काल केही क्षणका लागि शीतलता दिएको जस्तो लागे पनि यसले शरीरलाई दीर्घकालीन रूपमा अपेक्षित लाभ पुर्याउँदैन । विश्वका धेरै गर्मी हुने देशहरूमा गर्मी मौसममा मनतातो चिया, मनतातो पानी वा कागती मिसाइएको हल्का तातो पेय पदार्थ पिउने चलन छ । यस्ता पेय पदार्थले शरीरलाई आवश्यक तरल पदार्थ उपलब्ध गराउनुका साथै पाचन प्रक्रियालाई पनि सहज बनाउँछन् ।

बाहिरको तापक्रम अत्यधिक भए पनि मानव शरीरले आफ्नो आन्तरिक तापक्रमलाई निश्चित सीमाभित्र कायम राख्ने प्रयास गरिरहेको हुन्छ । त्यसैले अत्यन्त चिसो पदार्थ सेवन गर्नुको सट्टा सामान्य वा मनतातो पानी पिउनु बढी लाभदायक मानिन्छ । गर्मीका बेला धेरै शारीरिक श्रम गर्ने, खेतबारीमा काम गर्ने वा लामो समय घाममा बस्नुपर्ने व्यक्तिहरूको शरीरबाट पसिनासँगै पानी र खनिज तत्वहरू बाहिरिन्छन् । यस्तो अवस्थामा शरीरमा पानीको मात्र कमी मात्र नभई नुनको मात्रा पनि घट्न सक्छ । यसको परिणामस्वरूप कमजोरी, चक्कर लाग्ने, खुट्टा तथा हातका मांसपेशी बाउडिने वा बेहोस हुने समस्या समेत देखिन सक्छ । त्यसैले यस्तो अवस्थामा पानीमा थोरै नुन, चिनी र कागती मिसाएर पिउनु लाभदायक हुन्छ ।

नेपालको तराई क्षेत्रमा गर्मी मौसममा सातु खाने चलन छ, जुन अत्यन्त स्वास्थ्यवद्र्धक मानिन्छ । सातुमा नुन, चिनी र कागती मिसाएर बनाइने पेय पदार्थले शरीरलाई आवश्यक ऊर्जा, खनिज तथा पोषक तत्व उपलब्ध गराउँछ । यसले शरीरमा पानीको सन्तुलन कायम राख्न मद्दत गर्नुका साथै कमजोरी हुनबाट पनि जोगाउँछ । गर्मी मौसममा प्राकृतिक पेय पदार्थहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्छ । कागती पानी, पुदिना पानी, दहीबाट बनाइएको मोही वा गोरस उत्कृष्ट विकल्प हुन् । यस्ता पेय पदार्थले शरीरलाई ताजगी प्रदान गर्नुका साथै पाचन प्रणालीलाई स्वस्थ राख्न सहयोग गर्छन् । फलफूलको सेवन पनि गर्मीमा विशेष लाभदायक हुन्छ । अहिलेको मौसममा आँप, अम्बा, तरबुजा लगायतका फलफूल सजिलै उपलब्ध हुन्छन् । विशेष गरी तरबुजामा पानीको मात्रा धेरै हुने भएकाले यसले शरीरमा पानीको कमी हुन दिँदैन । साथै, फलफूलबाट विभिन्न भिटामिन, खनिज तथा फाइबर प्राप्त हुन्छ । बजारमा पाइने धेरैजसो प्याकेटबन्द जुसमा अतिरिक्त चिनी र विभिन्न प्रशोधित पदार्थ मिसाइएका हुन सक्छन् । त्यसैले जुसको सट्टा सिधै फलफूल खानु बढी लाभदायक हुन्छ ।

गर्मीमा पर्याप्त पानी नपिउँदा विशेषगरी महिलाहरूमा मूत्रनली संक्रमणको जोखिम बढ्न सक्छ । त्यसैले दिनभरि पर्याप्त मात्रामा सामान्य वा मनतातो पानी पिउनु आवश्यक छ । फ्रिजको अत्यधिक चिसो पानीभन्दा माटोको घैँटोमा राखिएको पानी स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । कागतीको प्रयोग गर्दा यसको रस मात्र नभई बोक्राको पनि उपयोग गर्न सकिन्छ । बोक्रालाई साना टुक्रा पारेर नुनसँग घाममा सुकाएपछि सेवन गर्दा थप पोषक तत्व प्राप्त गर्न सकिन्छ । समग्रमा, गर्मीबाट बच्ने नाममा अत्यधिक चिसो खानेकुरा र पेय पदार्थ सेवन गर्नु उचित होइन । यसको सट्टा प्रशस्त मात्रामा पानी, प्राकृतिक पेय पदार्थ र ताजा फलफूल सेवन गर्नु नै स्वस्थ जीवनशैलीको आधार हो । यसले शरीरलाई हाइड्रेटेड राख्नुका साथै आवश्यक पोषण प्रदान गरेर गर्मी मौसममा पनि स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत गर्दछ ।

प्रतिक्रिया