नेपालबारे चिनियाँ पत्रकारको पुस्तक

काठमाडौं । एक दशकको नेपाल बसाइलाई समेटेर चिनियाँ पत्रकार चाउ सेङपिङले पुस्तक ल्याएका छन् । सिन्ह्वा समाचार संस्थाका काठमाडौं ब्युरो प्रमुख सेङपिङद्वारा लिखित गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड’ चिनियाँ पत्रकारको नजरमा नेपाल’ पुस्तक बजारमा आएको हो । कोरोना महामारीका कारण औपचारिक विमोचनविना गत आइतबारदेखि नेपाली संस्करणका साथ पुस्तक सार्वजनिक गरिएको छ ।

उक्त पुस्तक चीन तथा चिनियाँ नजरबाट आफ्नो देशलाई हेर्ने दृष्टिकोण थाहा पाउन् भन्ने उद्देश्यले नेपाली जनताको लागि नेपाली संस्करणमा पनि प्रकाशन गरेको पत्रकार चाउले बताए । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, काठमाडौं स्कुल अफ ल का प्राध्यापक युवराज संग्रौलाले प्राक्कथन लेखेको ३५० मूल्यको रोचक पुस्तक जनता प्रकाशनले छापेको हो । राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन पाँच भागमा विभक्त २४० पृष्ठको नेपाली संस्करणमा ४३ वर्षीय लेखकले राष्ट्रिय र अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका विभिन्न लेखको माध्यमद्वारा आफ्नो निजी अनुभव र अन्य घटनालाई सार्वजनिक गरेका छन् । चीनले अघि सारेको महात्वाकांक्षी विकास परियोजना बिआरआइ र अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौताजस्ता मुद्दालाई पनि उधिन्ने प्रयास गरिएको छ । साथै पत्रकार चाउले नेपालको भू–राजनीतिक सम्बन्धलाई आफ्नो देश चीन, दक्षिणी छिमेकी भारत र अमेरिकालाई बीचमा राखेर विश्लेषण गर्ने प्रयास गरेका छन् ।

नेपाली राजनीति, भू–राजनीति र कुटनीतिबाहेक लेखकले नेपालको अर्थतन्त्र, यसको असफलता र सफलताको सम्भावनाबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् भने सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफीङको ऐतिहासिक नेपाल भ्रमण लगत्तै चीन – नेपाल सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा प्रवेश गरेपछिका विभिन्न पक्षलाई पनि लेखकले पुस्तकमा समेटेका छन् ।

प्रतिक्रिया