अपांगता भएकाहरूलाई सास्ती नै सास्ती

आज विश्वभरी नै विभिन्न कार्यक्रम गरी अपांगता दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघको आह्वानअनुसार सन् १९९२ देखि हरेक वर्षको डिसेम्बर ३ मा अपांगता दिवस मनाउन थालिएको हो । मानिसका लागि अपांगता रहर नभएर वाध्यताबस उत्पन्न हुने संकट हो । सकेसम्म यस्तो संकटमा पर्नबाट मानिसलाई जोगाउने र जो यो संकटमा परेका छन् उनीहरूको जीवनयापन सहज बनाउने राज्यको, समाजको र परिवारको कर्तव्य हो । यही कर्तव्यबारे जनचेतना जागृत गर्नु नै अपांगता दिवसको प्रयोजन हो । नेपालमा पनि अपांगता दिवस मनाउन थालिएको दुईदशक नाघिसकेको छ । तर, कर्मकाण्डका रूपमा मात्रै दिवस मनाइएको कारणले हो या, सरकारले प्रर्याप्त ध्यान दिन नसकेका कारणले हो, अपांगता भएकाहरूप्रति नेपाली समाज उदार छैन, न त सरकार उदार छ ।

अपांगता भएकाहरूलाई सहज जीवनयापन गर्न सहयोग पुर्याउनु त कता हो कता उल्टै अपांगता भएकाहरूलाई सताउने हेप्ने प्रवृत्तिले हाम्रो समाजमा अझै पनि जरो गाडेको छ । अपांगता भएका मानिसहरूलाई हास्यपात्र बनाउने १८ शताव्दीको संस्कार हाम्रो मुलुकमा अझै हावी छ । एउटा खुट्टा नभएको मानिस सडकमा हिँडेको देखेपछि मानिसहरू धुइरो लागेर हेर्न आउने र ‘ए हेर हेर लंगडो आयो’, भन्दै केटाकेटीहरूलाई बोलाउने अत्यन्त विभत्स अवस्था हाम्रो समाजमा कायमै छ ।

सहारा दिनु त कता हो कता उल्टै सताउने प्रचलनलाई निरुत्साहित गर्न जनचेतना जगाउनु अत्यावश्यक छ । तर हाम्रा टेलिभिजनहरूमा प्रसारण हुने मनोरञ्जनात्मक सामग्रीहरू अपांगता भएकालाई सहारा दिनुपर्छ भन्ने सन्देश दिने खालका छैनन्, अपांगता भएका मानिसहरूलाई हेरेर मनोरञ्जन लिनुपर्छ भन्ने खालका टेलिसिरियल तथा विज्ञापनहरू हाम्रा श्रव्यदृश्य मिडियामा बजिरहेका छन् । दर्शक हसाउने नाममा अपांगताको अभिनय गर्ने अल्पज्ञानी पात्रहरूलाई हाम्रो राज्यले, हाम्रो समाजले कलाकारको संज्ञा दिने गरेको छ ।

विश्व अपांगता दिवस मनाउँदै रहँदा जनतामा दुई वटा सन्देश दिनु जरुरी छ । पहिलो सन्देश हो मानिसको शरीरका अंगहरू अत्यन्त कमजोर हुन्छन्, जो जुनबेला पनि अपांग हुने अवस्था रहन्छ । त्यसैले म कुनै पनि बेला अपांग हुनसक्छु भन्ने ज्ञान हरेक जनजनलाई दिनुपर्छ । दोस्रो हो, ‘मानिस भनेको कर्मेन्द्रीयभन्दा पनि दिमाग हो । मानिस र पशु बीचको भिन्नता नै यही हो । हातगोडा नचले पनि, आँखा कानले काम नगरे पनि दिमागले राम्रोसँग काम गर्यो भने उसले समाजलाई सिदियौंसम्म उपयोगी हुने आविष्कार गर्न सक्छ ।

हाम्रै मुलुकमा हेरौं वरिष्ठ संगीतकार गणेशलालले आफ्ना अधिकांश सिर्जनाहरू आँखा देख्न छाडेपछि गरेका थिए । पारिजातले धेरैजसो साहित्यिक कृतिहरू अपांगता भएपछि सिर्जना गरेकी थिइन् । मदन पुरस्कार प्राप्त साहित्यकार झमककुमारी घिमिरेकै उदाहरण लिउँ । थोरै सहारा पाउनासाथ उनले नेपाली साहित्यमा ठूलो योगदान दिइरहेकी छन् । विश्व प्रसिद्ध साहित्यकार हेलेन केलर, विश्व प्रसिद्ध वैज्ञानिक स्टेफेन हक्विनसकै उदाहरण लिउँ । थोरै सहारा पाउने बित्तिकै उनीहरूले विश्व जगतमा ठूलो योगदान पुर्याए । तेस्रो हो, ‘कुनै कारणविना मानिसमा अपांगता हुँदैन । त्यसैले अपांगता हुने कारणहरूको न्यूनीकरणतर्फ राज्यले, समाजले ध्यान दिनुपर्छ । अपांगताका मुख्य कारक भनेका भौतिक दुर्घटना तथा शारीरिक रोगहरू हुन् ।

भौतिक दुर्घटना न्यूनीकरण र दक्ष चिकित्सक तथा सुविधासम्पन्न अस्पतालको व्यवस्थाका लागि राज्यले ध्यान दिनुपर्छ । राज्य तथा समाजको चौथो कर्तव्य हो, ‘अपांगता भएकाहरूका निम्ति सहज जीवनयापन गर्न विशेष व्यवस्था मिलाउनु ।’ अपांगता भएकाहरूका निम्ति एक ठाउँबाट अर्को ठाउँमा आवतजावतका लागि सहज व्यवस्था मिलाउनुपर्छ भन्ने चेतना राज्यका नीति निर्माणतहमा बस्नेहरूमा आउनु जरुरी छ । रोजगारीका लागि अपांगता भएकाहरूले पहिलो प्राथमिकता पाउनुपर्छ । अपांगता भएकाहरूलाई बेरोजगार बनाएर राख्नु भनेको ठूलो अपराध हो । उनीहरूलाई आफ्नो क्षमता अनुसारको सीप सिकाएर रोजगार बनाउनु पर्छ । यसैगरी जो रोजगारी गर्नै नसक्ने गरी अपांग छन् उनीहरूलाई राज्यले जीविकोपार्जन गर्न पुग्ने गरी भत्ताको व्यवस्था गर्नुपर्छ । जो आफ्नो शरीरको आफैं हेरचाह गर्न नसक्ने, आफैं खाना खान नसक्ने, आफैं दिसापिसाब स्याहार्न नसक्ने गरी अपांग छन्, उनीहरूको हेरचाहका निम्ति राज्यले अर्को मानिसको व्यवस्था गरिदिनुपर्छ ।

अपांगता भएकाहरूको अधिकारका निम्ति मलुकमा धेरै गैरसरकारी संस्थाहरू खडा भएका छन् । अधिकांश गैरसरकारी संस्थाहरू विदेशीले दिने डलर पचाउने उद्देश्यले खडा भएको देखिन्छ । अपांगता भएकाहरूका निम्ति साँच्चै नै सेवा पुर्याइरहेका केही संस्था तथा व्यक्तिहरू छन्, तर ती संस्था तथा व्यक्ति निरुत्साहित छन् । उनीहरूले न राज्यबाट आवश्यक सहयोग पाएका छन्, न विदेशी डलर पाएका छन्, न यी संस्थाहरूले गरेको कामलाई मिडियाले उजागर गरेका छन् । अपांगताका नाममा सीमित टाठाबाठाहरूले राम्रै तर मारेको पनि देखिएको छ । सांसदको कोटासमेत उनीहरूले फेला पारेका छन् । अन्तर्राष्ट्रिय दबाबपछि राज्यले अपांगता भएकाहरूको सहजताका लागि केही कानुनी व्यवस्था गरेको छ । तर, अपांगताको कोटाबाट सांसद बन्नेहरूले यो कानुनी व्यवस्था कार्यान्वयनका लागि आवाज उठाएको देखिन्न ।

प्रतिक्रिया