कविता ‘जादुगर’

अनिल श्रेष्ठ

उनीहरु लस्करै आए
केही सिस्नुका बोटहरु चढे
र सिस्नुका हाँगाहरुलाई
बेस्मारी हल्लाए

सिस्नुका बोटमुनि बस्नेहरुले
भुइँबाट टिपेर
सिस्नुलाई
मनलाग्दोसँग खाए
र, पेट अघाए

दृश्यमा
छिनमै देखियो एउटा समृद्ध देश
र देखिए समृद्ध मानिसहरु

र, उनीहरु मञ्चको
अग्रभागमा आएर विस्तारै मुस्कुराए

(उनीहरु जादुगर थिए
र, दर्शकहरुलाई
हिप्नोटाइज गरिरहे
म यो हिप्नोटिज्मबाट
मुक्त रहन
दर्शक दीर्घाबाट उठें
र, बाहिर सडकमा निस्किएँ ।)

बाहिर
छिप्पिदैं गइरहेको थियो
रातको अँध्यारो

निस्तब्ध सडकमा
निकै जोड जोडले सुनिन्थ्यो
राष्ट्रिय नाचघरको दर्शकदीर्घाबाट
उठिरहेको ताली

र, देखिन्थ्यो
अँध्यारोमा फैलिरहेको जादुगरको
उन्मुक्त बाहु

प्रतिक्रिया