नेपालप्रति डब्ल्युएचओको चासोे

एजेन्सी । नेपालको बढ्दो कोरोना भाइरसका बारेमा विश्व स्वास्थ्य संगठनले चासो लिएकको छ र कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् । शुक्रबारको नियमित प्रेस सम्मेलन डा. गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता देशहरूमा पनि संक्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन् । यसले नेपालमा फैलँदो महामारीमा उसले चिन्ता देखाएको बुझिन्छ ।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि संक्रमण बढेको बताउँदै उनले यी देशहरू संक्रमणसँग जुझ्न उच्च संघर्षको अवस्थामा रहेको बताएका छन् । डा. गेहब्रेयससले भने, ‘डब्ल्युएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ ।’ नेपाल सरकारका वरिष्ठ स्वास्थ्य अधिकारीले भने आपत्कालीन सहयोग आवश्यक रहेको भन्ने धारणा डब्ल्यूएचओको मात्र भएको र नेपाल सरकारले अहिलेसम्म त्यस्तो नठानेको र सरकार व्यवस्थापन गर्न सक्ने अवस्थामै रहेको बताएका छन् । उनीहरूले यसो भनिरहँदा नेपालमा अक्सिजन, बेड र उपचार नपाएका कारण दिनहुँ सयौं मान्छेले ज्यान गुमाइरहेका छन् । सरकारले आइसोलेसन र अस्थायी अस्पताल बनाएको भने पनि भएका ठूला अस्पतालमा अक्सिजनको अभावमा बिरामी छटपटाउँदै मृत्यु भएका र मृत्युसँग जुघिरहेका समाचार समान्यजस्तै भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या बढिरहेको देखेर डब्ल्युएचओको त्यस्तो मूल्यांकन आएको हुनसक्ने बताएका छन् । संmक्रमितको संख्या बढ्नु आपत्कालीन अवस्था देखिनका लागि एउटा आधार होइन र ? भन्ने प्रश्नमा उनले भने, ‘संक्रमितको संख्या जसरी बढेको थियो, पाँच दिनयता स्थिर छ । शुक्रबार केही घटेको छ । एक सातामा अझ कम हुन्छ होला ।’ उनले अनुमान लगाए ।
गौतमले यस बीचमा विशेष अवस्था भनेर डब्ल्युएचओसँग कुनै विशेष सहायता नमागिएको बताए । उनले भने, ‘डब्ल्युएचओले त्यस्तो ठानेको भने उसको औपचारिक भनाइ आएपछि सरकारले त्यसबारे आवश्यक निर्णय गर्नेछ ।’ नेपालमा हालको संक्रमण दर र मृत्युदर तुलनात्मक रूपमा खराब छ ।

गएको दुई सातामा नेपालमा एक लाख १० हजार ७ सय ६५ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । त्यस्तो सो अवधिमा १ हजार ३ सय ७१ जनाको मृत्यु पुष्टि भएको छ । वैशाख ३१ गतेकोसम्म ४ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । तीमध्ये १ हजार ३ सय ७१ जनाको मृत्यु गत दुई सातामा भएको हो । यस्तै सो अवधिमा ४ लाख ३९ हजार ६ सय ५८ जना संक्रमित देखिएका छन् । तीमध्ये एक चौथाइभन्दा बढी गत दुई सातामा थपिएका हुन् । यस्तै ३ लाख २७ हजार ६ सय ५३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । यीमध्ये १४ प्रतिशत गत दुई सातामा संक्रमणमुक्त भएका हुन् ।

तर स्वास्थ्य प्रवक्ताले आपत्कालीन अवस्थाको रूपमा कुनै विशेष सहयोग नलिइकन डब्ल्युएचओबाट घटना पहिचान र त्यसलाई नियन्त्रणमा राख्न नेपाल कार्यालयबाट सामान्य सहयोगहरू मात्र लिइरहेको बताएका छन् । उनले भने, ‘नेपालको जोड सरसहयोग लिन परे भारत र चीनसँगै पहिले पहल गर्नेछ । त्यहाँबाट आपूर्तिहरू पनि सहज रूपमा गर्न सकिन्छ । नेपालमा संक्रमण सुरु भएयता कुल संक्रमितको २५ प्रतिशत गत दुई सातामा थपिएका हुन् भने कुल मृत्युको २९ प्रतिशत मृत्यु गएको दुई सातामा भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
शुक्रवारसम्म नेपालका काठमाडौंमा ३० हजार ४ सय ५२ जना सक्रिय संक्रमित छन् भने अन्य दुई जिल्ला रुपन्देही र ललितपुरमा सात हजारभन्दा बढी सक्रिय संक्रमित छन् । थप चार जिल्लामा ३५ सयभन्दा बढी, थप पाँच जिल्लामा दुई हजारभन्दा बढी सक्रिय संक्रमित छन् । १९ जिल्लमा हजारभन्दा बढी सक्रिय संक्रमित छन् भने थप १५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा बिरामीका लागि आवश्यक पर्ने अक्सिजन अभाव उच्च रूपमा बढेको र अस्पतालमा शय्या र चिकित्सकहरू अभाव रहेका विवरण आएका छन् । शुक्रवार साँझ मात्रै प्रवक्ता गौतमले सञ्चार कर्मीसँग संक्रमित हुने र अस्पतालबाट छुट्नेको अवस्था नजिक–नजिक आइपुग्ने र अवस्थामा व्यवस्थापन गर्न सकिने बताएका थिए । उनले सरकारी अस्पतालहरू सबै अब कोभिड अस्पताल बनेकाले अब शय्या थपिइरहेकोले तीन चार दिन अघिजस्तो समस्या नरहेको बताएका थिए । तर, निको हुनेको दर केही बढेता पनि शुक्रबार मात्र ८ हजार ५ सय २० संक्रमित थपिँदा ६ हजार १ सय ३५ निको भएको विवरण सार्वजनिक भएको थियो ।

भारतमा शुक्रबार ३ लाख ४३ हजार जनामा संक्रमण र चार हजार जनाको मृत्यु पुष्टि गरिएको थियो । नेपालमा भने ८ हजार ५ सय २० जनामा संक्रमण र २ सय ३ जनाको मृत्यु पुष्टि भएको थियो । संख्यात्मक हिसाबले भिन्नता देखिए पनि जनसंख्याको अनुपातमा दुई देशको तथ्यांक हेर्दा नेपालको स्थिति चिन्ताजनक देखिन्छ । बिहीबारसम्मको अवस्थामा नेपालमा प्रति एक लाख जनसंख्यामा ३१ जना संक्रमण भएको देखिन्छ भने भारतमा सो सख्या २६ जना हुन आउँछ । नेपाल र भारतमा कोभिड–१९ दुई देशबीच तथ्यांकगत तुलना वैशाख ३० गतेको अवस्था हो यो ।
भारतमा गत सातादेखि यो संख्या कम हुन थालेको छ भने नेपालमा अझै बढ्दो क्रममा रहेको देखिन्छ । एक जनाबाट कति जनाको संक्रमण सरिरहेछ भने देखाउने आर संख्या हेर्दा पनि नेपालको अवस्था खराब देखिएको छ । भारतमा हाल सो संख्या १ दशमलव १ रहेको छ भने नेपालको १ दशमलव ४६ रहेको छ ।

नेपालमा यो दर अप्रिल १० मा विश्वकै उच्च २ दशमलव १ रहेकोमा बिस्तारै घट्न थालेको हो । मृत्युदर हेर्दा पनि भारतमा प्रति १० लाखमा तीन जनाको मृत्यु भएको छ भने नेपालमा सो दर ४ दशमलव ६ रहेको छ । परीक्षण र संक्रमण पुष्टिको औसत नेपालमा ४६ दशमलव ७ प्रतिशत रहेको छ भने भारतमा २० दशमलव २ प्रतिशत रहेको पछिल्लो तथ्यांकले देखाउँछ । सरकाले कोरोना संक्रमण र मृत्युको अवस्थालाई मान्य रूपमा लिए पनि नागरिक भने आत्तिएको अवस्था छ । त्यसको कारण हो अस्पतालमा बिरामी र उनका आफन्तले खेपेको सास्ती र बढ्दो मृत्यु दर । अझ पछिल्लो समय अक्सिजन, भेन्टिलेटर, आइसियु र बेडको अभावमा आफन्त गुमाएकाले समाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्ति र तस्बिरले मान्छेमा त्रास बढाएको छ । (बिबिसी)

प्रतिक्रिया