बलेको वसन्त र उदास सूर्य

          दिलिप श्रेष्ठ

आखिर मान्छेको ज्यादती थेग्न नसक्दा
सूर्य भएर पनि– तिमी
आफ्नो सबै चमकलाई
लाचार रङमा छोपेर
अनायास उदास भएका छौ
आकाशमा तिम्रो त्यो उदासी हेरेर पनि
यदि मान्छे खुसी नै हुन्छ भने
मान्छेले खुसी हुनुको अर्थ के रहला

हरेक ऋतुको यातना सहेर
बल्ल मुस्कुराउन लागेको वसन्त
हाँगामा हरियो पालुवासँगै
गर्भमा कोपिला बोकेर
नीलो आकाशमा रमाउन लाग्दा नलाग्दै
यसरी दनदनी बलेर पिल्सिनु पर्दा पनि
बिरुवाको त्यो कठोर पीडालाई भूलेर
यदि मान्छे खुसी नै हुन्छ भने
मान्छेले खुसी हुनुको अर्थ के रहला

यसबेला मान्छे हुनुको पीड़ा छ– मलाई
जव म बिहानी सूर्यको किरणसँगै
एकक्षण खुसी हुन चाहेको हुन्छु
जब म वसन्तको वनसँगै
एकक्षण हरियालीमा रमाउन चाहेको हुन्छु ।

रातोपुल, काठमाडौं ।

प्रतिक्रिया