चिच्याउदै संसदभित्र ‘कराएको’ सम्झेँ

गजल

अर्जुन पौडेल

चिच्याउदै संसदभित्र ‘कराएको’ सम्झेँ

संसदीय व्यवस्थानै ‘गनाएको’ सम्झेँ ।

प्रगति र सम्बृद्धिको खाका कोर्ने बेला

गन्तव्यमा पुग्ने बाटो ‘बिराएको’ सम्झेँ ।

भ्रष्ट नेता समाउँदा सत्ता गुम्ने डर

बिडम्बना ! ठूलो माछो ‘हराएको’ सम्झेँ ।

सम्बृद्धिको नाम जप्दै अघि बढ्ने बेला

नष्ट गर्न प्रमाणहरू ‘चपाएको’ सम्झेँ ।

सडकभरि बिरोधका अनगिन्ती स्वर

सबैमिली भ्रष्ट खोज्न ‘डराएको’ सम्झेँ ।

कस्तो नियत भोग्नु कठै सङ्कटको बेला

नेपालीको स्वाभिमान ‘गिराएको’ सम्झेँ ।

गर्ने भन्ने कोही छैनन् गफमात्र ठूला

सांसद भवनभित्र नाटक ‘देखाएको’ सम्झेँ ।

देश डुब्न लाग्योभनि कराउँदैछन् जनता

धेरै मन्त्री कमिसनमा ‘रमाएको’ सम्झेँ ।

अति भयो आशा गरौँ खुल्छ कि त चेत

खोई किन तिनै नेता मन ‘पराएको’ सम्झेँ ।

विकासगरी सम्बृद्धिको खाका कोर्ने बेला संघियताको धज्जी किन ? ‘उडाएको’ सम्झेँ

केमा विश्वास गर्नु र खै ! केमा भर पर्नु ?

भ्रष्टाचार गर्नेहरूलाई ‘बचाएको’सम्झेँ ।

चिच्याउदै संसदभित्र “कराएको” सम्झेँ

संसदीय व्यवस्थानै “गनाएको”सम्झेँ ।।

प्रतिक्रिया