एमाले भित्र विचलनका कारण

मुकुन्द न्यौपाने

विचार र दर्शनको धारलाई भुत्तेपारेर परिवर्तननको धारबाट अलग्गिई माक्र्सका दुई–चार किताब दराजमा थन्क्याएर शास्त्रीय आख्यान पिलाउँदै हिँड्नु भनेको पिँध नभएको बाल्टी इनारमा डुबाएर पानी तान्नुजस्तै हो । जतिपल्ट डुबाए पनि पानीको सतहबाट बाहिर निकाल्दा बाल्टी खालीको खाली नै हुन्छ । आज नेकपा एमालेभित्रको नेतृत्व पंक्तिमा रहेका कतिपय साथीहरू, तलका कतिपय कमिटी र कार्यकर्ताको हालत यहीँ पिँध नभएको बाल्टीको जस्तै छ । जति पाए पनि नपुग्ने जति खाए पनि न अघाउने जति भरे पनि नभरिने ।

लोभ बढेको बढै छ, पद खोजै छ, सांसद पाए भोलिपल्टैदेखि मन्त्री चाहिने, मन्त्रीपाए रोजेर गृह र अर्थ मन्त्री चाहिने । प्रधानमन्त्री भए पनि तृष्णा मेटिँदैन, ‘तृष्णा न जिर्णा वयमेव जिर्णा’ शरीर जिर्ण भइसक्दा पनि तृष्णा भने कहिल्यै जिर्ण नहुने । शरीर र तृष्णाका त्यान्द्रामा अल्झिएको छ, त्यतै तानिएको छ । तृष्णाको यस्तो पासोमा अल्झिएको छ कि ऊ त्यसबाट छुटकारा पाउनै शक्तैन पाउनै चाहँदैन ।

आज यस्तो अवस्थाको सिर्जना किन भयो ? माथिल्लो तहमा पुग्ने नेतृत्व तहमा रहेका नेतृदायी पंक्तिका नेताहरू भित्र चिन्तनको केन्द्र भागमा कुर्सीप्रधान छ जनताप्रधान होइन । जसरी पनि कुर्सी प्राप्त गर्नुपर्छ भन्ने मनस्थितिले कुर्सी प्राप्त गर्न धनजम्मा गर्नुपर्छ भन्ने मनस्थितिमा नेतृत्व बहकिएको छ र दलाल पुँजीपति वर्गको एउटा हिस्सा पार्टी नेतृत्वको एउटा हिस्सालाई यो जालतर्फ धकेल्न सफल पनि भएको छ । जसको परिणाम नेपालको मध्यम पँुजीपति वर्ग र साना व्यवसायीहरू कृषि उत्पादनको ठूलो हिस्सा गम्भिर संकटतर्फ धकेलिँदै छ ।

उच्च विचार र सादा जीवनको विगत लामो समयको त्याग र बलिदानबाट प्राप्त माक्र्सवादी शिक्षा आज गायव भइसकेको घरको संग्रहालयमै लोप भइसकेको जस्तो छ । विगतको विचारको उचाइको ठाउँ आज कुर्सीको उच्चाइले ओगटेको छ । उसको दिमागले न त विचारको अनन्त उचाइतर्फ ध्यान दिन सक्छ, न त आफ्नै घरको छतमाथि चम्किरहेको पूर्णिमाको जुनतिर, न यो जगत र यसका बासिन्दा महान प्रतिभाशाली मानव तिर नै । ऊ कुर्सीको उचाइमा आफ्नो उचाइ नाप्छ केबल कुर्सी हेर्छ आफ्नो कुर्सी अरूकोभन्दा कति अग्लो छ ? यै चिन्तनले आज ऊ ब्रह्माण्डबाट बाउन्नेमा झरेको छ ।

यो अवस्थाबाट हामीले पार्टीलाई मुक्तगर्ने हो भने विगत २४ वर्ष यताको पार्टीभित्रको अन्तरसंघर्ष र त्यो भन्दा अगाडिको माले र एमाले कालको पार्टी भित्रको अवस्थाको अध्ययन गर्नै पर्छ । जब हामीहरू सरकारमा पुग्यौँ पार्टीमा काम गर्ने र सरकारमा जानेहरूको बीचमा जस्ता दरारहरू पैदा भए ती कुराको मूल्यांकन गर्नैपर्छ । महन्त व्यासासनबाट तल झर्न चाहँदैन । उसलाई कुर्सी पनि अरूको भन्दा अग्लो विशेष खालको टाउको भन्दा एकफिट माथि उचाइ भएको चाहिन्छ । महन्तले कसैलाई नमस्ते गर्दैन, सबैले उसलाई नमस्ते गर्नुपर्छ । उसको ध्यान आफूलाई नमस्ते गर्ने र नगर्ने तर्फतिर जान्छ । महन्तको चिन्तनको केन्द्र भागमा जम्मा तिनओटा कुरा हुन्छ ।

अग्लो कुर्सी अग्लो बिछ्यौना र फोस्रो उपदेश । सुनचाँदी र नोटको भेटीका लागि महन्त जस्तोसुकै सम्झौता गर्न पनि तयार हुन्छ । कहिल्यै पनि महन्तका चेलाहरू तीन वर्ष बढी महन्तसँग टिक्दैनन् । एकल महिलालाई गोडा मोल्न लगाउने, पुरुष शिष्यहरूले भात भान्सार भिखारी बनेर पैसा चामल जम्मा गर्नुपर्ने यस्तो व्यवहारले गर्दा पुरुष शिष्यहरू महन्तको नक्कल गर्दै अन्यत्र सर्छन् र कुनै बगँैचा वा नदी र खोला किनारमा एउटा एउटा झोपडी बनाएर चुच्चेढुंगोलाई शिवको मूर्तिको रूपमा खडा गरेर मान्छे जम्मा गर्न थाल्छ ।

आज भारतमा लाखौँ मठ र महन्तहरू देखिनुको पछाडि यस्तै गुरु चेलाको झगडाको कारण हुन् । महन्त र नेता बीचको भिन्नता के हो ? नेताले जनतालाई उपदेश होइन विचार दिन्छ । चेलो होइन स्वतन्त्र नागरिकको रूपमा हेर्छ । जनताभन्दा माथि अग्लो कुर्सीको नापबाट नेताले आफ्नो उचाइ नाप्दैन सरल जीवन र विचारको उचाइबाट जनताले नेताको उचाइ नाप्छन् । बोलीबाट होइन कामबाट नेताको हैसियतको लेखाजोखा गर्छन् । नेताको सिद्धान्त राजनीति र विचारको गहिराइ नाप्न जनतालाई तौलपुलको आवश्यकता पर्दैन ।

लामा भाषण र पट्यारलाग्दो शैलीले जनताको जीवनस्तर यो पृथ्वीमा कहीँ कतै माथि उठेको देखिँदैन । नेताले आपूmलाई कुर्सीको उचाइमा होइन, विचारको उचाइमा नाप्नुपर्छ । नेता विचारले चल्छ तथ्यको आधारमा सत्य पत्ता लगाउने बाटोबाट अगाडि बढ्छ । एकमहिना एउटा कुराको हल्ला फिजाउने आफैँले पिटेको ढोलको उल्था गर्ने नेताको चरित्र होइन । नेताले आफूलाई कहिल्यै जनताभन्दा माथि राख्तैन । नेता आवश्यक परे गुन्द्रीमा सुत्छन् ।

आवश्यकता पर्दा जनतासँगै यात्रा गर्छन् । नेता आफ्नो सुरक्षा जनताको श्रद्धामा देख्छ । जहाँ श्रद्धा छ त्यहीँ सुरक्षा छ । जुनदिन जनताको श्रद्धा सकिन्छ त्यहीँ दिन नेताले पुलिसको सुरक्षा घेराभित्र छिर्छ । चौतर्फी आफूलाई अविश्वास घृणा तिरस्कार गरेको ठान्नु नै आपूmलाई सुरक्षा घेराका कारागृहमा बन्दी बनाउनु हो । यस्तै चिन्तन र व्यवहार सच्याउन पार्टीभित्र शुद्धीकरण र सुदृढीकरणको आवश्यकता पर्छ । पार्टी भनेको जनता र देशका लागि हुनुपर्छ । राजसी ठाँठबाठमा सजिएर जनतामाथि रवाफ देखाउनका लागि कम्युनिस्ट पार्टीको आवश्यकता पर्दैन ।

कम्युनिस्ट पार्टी साध्य होइन, साधन हो । साधन राम्रो बनाउन र राम्रो चलाउन राम्रा र कार्यकर्ताको पंक्ति चाहिन्छ, जो माक्र्सवादी शिक्षा द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादबाट खारिएका हुन् । यस्तो नेतृत्वले हरेक कुरा जनताका लागि जनताकै इच्छामा व्यवहारमा आत्मसात गर्न सक्नुपर्छ र कुनै कुराको निर्णयमा पुग्नु अगाडि आफ्नो कमिटीमा पर्याप्त मात्रामा छलफल गर्नुपर्छ । लाभका पदमा ‘पहिले माथिकालाई बाँकी रहे तलकालाई’ भन्ने आजको शैलीबाट नेतृत्व मुक्त हुनुपर्छ ।

तलकालाई अनुशासनको पाठ पढाउनेमाथि बस्नेले कमिटीलाई छलेर मनपरी गर्दै हिँड्ने नकच्चरो सामन्ति संस्कृतिबाट वर्तमान नेतृत्व मुक्त हुनुपर्छ । कार्यकर्ता पनि आज पार्टीभित्र झांगिइरहेको स्वेच्छाचारी मनोपोलीको मनोवृत्तिबाट मुक्त हुनुपर्छ र नेतृत्वभित्र देखापरेको यो गलत रवैयाको बिरुद्ध संघर्ष गर्न अगाडि आउनुपर्छ । यसो गरेर मात्र हामी पार्टीलाई जनताको पार्टीमा बदल्न सक्छौँ र जनताको आशा र भरोसाको केन्द्रमा रूपान्तरण गर्न सक्छौँ । जनता परिवर्तन चाहान्छन् र परिवर्तनले ल्याएको दिगो विकासलाई हेर्न चाहान्छन् ।

नेताले जनताको परिवर्तन प्रतिको इच्छा र दिगो विकासको चाहनालाई आत्मसात गर्न नसक्ता आज देश ७० वर्षदेखि संक्रमणकालिन अवस्थामा छ । परिवर्तन भनेको जनताको जीवनस्तरमा आउने परिवर्तन हो । देशको अर्थतन्त्रले उन्नतस्तरतर्फ गति नलिई जनताको जीवनस्तरमा कुनै परिवर्तन हुन सक्दैन । चुनावभन्दा अगाडि नेपालका राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा पाँच वर्षभित्रै नेपाललाई स्विट्जरल्यान्ड र सिंगापुर बनाउने सपना बाँडने गरेका छन् । तर जब सरकारमा पुग्छन् तब जनतासँग गरेका वाचा कबोलहरू सबै बिर्सिएर आफैँले जारी गरेको घोषणापत्रको उल्टो दिशातिर फर्कन्छन् ।

०४६ सालको परिवर्तनपछि सत्ताको अवसर पाएको नेपाली कांग्रेसले पटकपटक संसद् भंग गरेर मुलुकमा चरम अस्थिरता निम्त्याउने र निरंकुश राजतन्त्रलाई पुनर्जीवित गर्ने काम गर्यो । मुलुकमा स्थायित्वका लागि प्रयत्न गरिरहेका नागरिक समाजका अगुवा र जनसमुदायले ०६२६३ को आन्दोलनमार्फत राजतन्त्रको ठाउँमा गणतन्त्र ल्याएर देश कम्युनिस्टहरूलाई जिम्मा लगाए ।

तर विश्वको इतिहासमै जनताको अभिमतले पहिलो संविधानसभाबाट बहुमतप्राप्त माओवादीले संविधान बनाउनु त कता हो कता पहिलो संविधानसभा नै भंग गर्ने परिस्थितिको बन्यो । दोस्रो संविधानसभाबाट गणतन्त्रको संविधान बन्यो र नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । जनताले देशभरी दीपावली गरेर हर्ष बढाइँ गरे ।

०४७ पछि आएको बहुदलीय व्यवस्थालाई कमजोर र गतिहीन बनाउने काम नेपाली कांग्रेसको शेरबहादुर गुटले ग¥यो भने ०५४ सालमा एमालेमा आएको फुटले पनि प्रतिगामी शक्तिलालाई हुर्कन अवसर प्रदान गर्यो । नेपालमा स्थायित्व नचाहने वैदेशिक शक्तिहरू सुरुदेखि नै राजा वीरेन्द्रमाथि असन्तुष्ट थिए ।

यसको मुख्य कारण थियोे, असलग्न परराष्ट्र नीति, शान्ति क्षेत्रको प्रस्ताव र भारत चीनबीच समान भाइचाराको सम्बन्ध । एकातिर भारतको दादागिरीलाई नसहने राजा वीरेन्द्रको राष्ट्रिय स्वाभिमान, सिइएको योजनामा गराइएको खम्पा विद्रोहको राजा वीरेन्द्रद्वारा दमन, आदि कारणले नेपालको राष्ट्रियतामाथि खलल पार्न र आफ्नो इच्छा अनुकूलको सरकार गठन गर्न राजा वीरेन्द्रको वंशनास स्वदेशी विदेशी तत्वहरूको सक्रियतामा गरियो ।

राजा वीरेन्द्रको वंशनासपछि नेपाली जनतामा राजतन्त्रप्रतिको आस्था र विश्वास समाप्त भएर गयो । अलिकति पिछडिएका ग्रामीण क्षेत्रमा रहेको आस्था पनि उनीपछि राजा भएका ज्ञानेन्द्रको निरंकुश राजतन्त्र फर्काउने महत्वाकांक्षाले तबेलामा थन्क्याएर राखिएका बुढा घोडाहरूमाथि चढेर हिमाल पारगर्ने दुस्साहस जस्तै भएर राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको बाटो खुलागर्ने परिस्थिति बन्यो ।

गणतन्त्र स्थापना पछि नेपाली कांग्रेस इतिहासमै कमजोर पार्टीको रूपमा पछाडि धकेलियो । यसले कांग्रेसमा भन्दा बढी विदेशी शक्तिहरूभित्र खलबली मच्चियो । निर्वाचनबाट पनि कम्युनिस्ट बलियो बहुमत लिएर एकलौटी शत्ता चलाउन रहेछन् भन्ने उदाहरण विश्वसामु अगाडि सार्ने नेपाल पहिलो देश बन्यो । यसले सबैभन्दा बढी चिन्ता भारत र दक्षिण एसियाका अन्य शासकलाई पा¥यो । पश्चिमा साम्राज्यवाद उनीहरूलाई कुनै न कुनै रूपले उक्साइरहेको थियोे ।

कामरेड माओत्सेतुङले भनेका थिए, ‘कुनै पनि बस्तुलाई कमजोर बनाउँछ भने त्यसको भित्रैबाट गडबडी पैदा गर्नुपर्दछ ।’ ‘बैरीहरूले अपनाउने तरिका भनेको नै भित्र प्रवेश गर्ने र गडबडी पैदा गर्ने अन्तरविरोधी पक्षहरूभित्र कुनपक्षलाई साथमा लिँदा आफ्नो हित अनुकूल हुन्छ र कसलाई बाहिरगर्दा’ यस्तो कुरा उनीहरूले हरेक देशमा गर्दै आएका छन् र गर्दैछन् ।

त्यसैले गरिब देश सधैँ गरिबै र धनी देश झन् झन् धनी बनिरहेका छन् । विदेशी शक्तिराष्ट्रहरूको लुटको अखडा बनिरहेका छन् । आफ्नो लुटको अखडा कायम राख्नका लागि उनीहरूलाई कमजोर र आपूmले जता नचायो त्यतै नाच्ने शासकको आवश्यकता पर्छ र उनीहरूले सदासर्वदा यस्तै पात्र खोज्छन् । आफ्नो प्रतिनिधिको रूपमा खडागरी स्वार्थमा उपयोग गर्छन् ।

प्रतिक्रिया