ओलीको हाँडीघोप्टे र प्रचण्डको हन्तकाले प्रवृत्ति

बलराम तिमिल्सेना

लड्डु खाएर लगाएको पिरती आची गर्ने बेलामा छुटाएर माधव नेपालहरू आफ्नो पद संझदै पुरानो घरमै पुरानै बुहार्तन खप्न राजी बनेर फर्किए । नेपाली राजनीतिको यो दृष्य हेरिरहँदा हेरिरहेको चलचित्रलाई रिभर्स गरेर हेरेजस्तै लाग्थ्यो ।

प्रचण्डले नेतृत्व गरेको माओवादी दल संसदीय रछ्यानमा लडिबुडी खेलेर पुस माघको जाडोमा ढलबाट निस्केको मुसोजस्तो भइसकेको थियो । तर नाम भने माओवादी छँदै थियो । त्यो माओवादी नाम लोकलाजको विषय बनिसकेको थियो । किन कि पार्टीको बर्ग चरित्र बदलिएर अर्कै भइसकेको थियो । त्यो बदलिएको बर्ग चरित्र र पुरानो नामबीचको अन्तरविरोधको समाधान श्रमजीवी वर्गतिर फर्केर होइन बरु अझ होलसेलमा दलाल पुँजीपति बर्गमा स्थायी बसाइँसराइ गर्ने निर्णयद्वारा गरिएको थियो ।

त्यसैको राजनीतिक निर्णय थियो नेकपा एमालेसँगको पार्टी एकता । त्यस एकताको केन्द्रमा कुनै माक्र्सवाद थिएन । माओवाद त पेरिसडाँडाको रद्दीको टोकरीमा मिल्काएर गएका थिए । एमालेसँग एकताको मुख्य दाऊ भनेको संसद्मा दुईतिहाइ ल्याउने दल बनाएर वर्षौंवर्ष आलोपालोमा सत्ता सुख भोग्नु थियो । सत्ता भन्ने कुराको सुखभोग यस्तो हुन्थ्यो कि घोक्राएर ननिकालेसम्म कसैको पालो भनेर कसैले छोड्ने हुनै सक्दैनथ्यो र भएन पनि । त्यही सत्ता सुखको आलोपालो सहमति मिचेर केपी ओलीले अकन्टक मस्ती गर्न थालेपछि उर्लेको भोकले त्यसभित्र वितण्डा मच्चाएको थियो ।

एजेन्डाहरू त थुप्रै थिए । तर, मनभित्र हँुडलो मच्चाउने एजेन्डा भनेको कुर्सी नै थियो । केपी ओलीको हाँडीघोप्टे प्रवृत्ति र प्रचण्डको हन्तकाले प्रवृत्ति बेस्सरी टकराए र अन्ततः दल विभाजनसम्म पुग्यो । तर राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेल र शक्तिकेन्द्रहरूका आआफ्ना स्वार्थहरूको कारणले निर्वाचन आयोग टाउको कन्याएर बस्यो भने सर्वोच्च अदालतले वादी पक्षले माग नै नगरेको विषयमा समेत षडयन्त्रपूर्वक प्रवेश गरेर पुराना पार्टीहरू ब्युँताइदिने हाँस्यास्पद निर्णय गरिदियो । त्यसपछि लड्डु खाएर लगाएको पिरती आची गर्ने बेलामा छुटाएर माधव नेपालहरू आफ्नो पद संझदै पुरानो घरमै पुरानै बुहार्तन खप्न राजी बनेर फर्किए । नेपाली राजनीतिको यो दृष्य हेरिरहँदा हेरिरहेको चलचित्रलाई रिभर्स गरेर हेरेजस्तै लाग्थ्यो ।

प्रचण्डले मात्र होइन, केपी ओलीले पनि नेकपा एमाले विघटन गरिसकेका हुन् । दुवै पार्टी अस्तित्वमा नरहेर नयाँ पार्टी बनेपछि नयाँ नाममा प्रतिनिधिसभा सदस्यहरू चुनिए । राष्ट्रिय सभा सदस्यहरू चुनिए । स्थानीय निकायमा कैयन् पात्रहरू चुनिए । ती सबै मुद्दा आइलागे भने सर्वोच्च अदालत आफैँ फस्र्याउन नसकेर भाग्ने अवस्था आउन सक्छ । यसरी चौतर्फी अराजकता सिर्जना गरेर अर्को तेस्रो शक्ति सत्तामा आउन खोज्दै त छैन भनेर पनि सोच्ने समय आएको छ । तत्काल हेर्दा एमालेवालाहरू ठूलै लडाइँ जितेझैं गरी हर्षोल्लासमा छन् भने माओवादीवालाहरू गहिरो विशादमा फसेको देखिन्छ । अब संसद्भित्रको नाटकले कस्तो दृश्यको प्रदर्शन गर्ने हो भनेर पनि भनिहाल्न सकिने अवस्था छैन ।

अहिले सर्वोच्चको निर्णयपछि पैदा भएको परिस्थितिले क्रान्तिकारीहरूलाई नाफा न घाटाको अवस्था देखिन्छ । संसदीय व्यवस्थाभित्र पैदा भएको झमेला क्रान्तिकारीहरूले धेरै सोच्नुपर्ने झमेला होइन । तर, प्रचण्डको प्रभावमा रहेका सापेक्ष इमानदारहरूलाई रूपान्तरण गरेर नयाँ धारामा ध्रुवीकरण गर्न भने एउटा अवसर आएको छ । यसै बीचमा कैयन्ले अब पूर्वमाओवादीहरू मिल्नुपर्ने तर्क गर्न थालेका छन् । यो तर्क झट्ट सुन्दा मिठो लागे पनि हकिकतमा यो भावनाको छाल उराल्नु मात्र हुनेछ । किन कि कोही पहिले माओवादी थियो भन्दैमा महापतनमा सगौरव डुबेर निस्केका र अझै पनि आत्मालोचनासम्म गर्ने सोचमा नभएका, आफ्नो बदलिएको बर्गलाई त्याग गर्न संभव नै नभएका बरु साम्राज्यवाद तथा तिनका घरेलु एजेन्टहरूसँग हजारौँ दृश्य अदृश्य बन्धनमा अनुबन्धित भइसकेकाहरू चाहेर पनि क्रान्तिकारी धारामा आउन सक्दैनन् र तीबाट क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने आशा गर्नु भनेको आफ्नै दिमाग चौपट भएको देखाउनु मात्र हो ।

यसै प्रसंगमा केही दिन अघि मैले ‘आफ्नो विगतप्रति आत्मसमिक्षा र आत्मालोचना गर्दै क्रान्तिकारी आन्दोलनमा योगदान गर्न तयार हुने हो भने प्रचण्डलाई इतिहासले एकपटक मौका दिन सक्छ । तर, अझै संसदीय आहालमै चोपलिन चाहने हो भने प्रचण्ड चढेको जहाज संसदीय बर्मुढा ट्याङ्गुलरमा फस्ने निश्चित छ’ भनेर लेखेपछि केही राजनीतिक नेतृत्वले अन्तरंग कुराकानीमा प्रचण्डको खुब माया लागेको रहेछ, जानुस् यार जानुस, प्रचण्ड आपतमा छन् । उनलाई मद्दत पनि हुन्छ, तपाईंको आत्मालाई शान्ति पनि हुन्छ’ भनेर भन्न पनि भ्याए । र कसैलै ‘सिरक ओढेर बसेको बिरालोले म्याऊ ग¥यो’ भनेर दस्तक दिइहाले । म ती साथीहरूले हतार गरेर सल्लाह दिए भन्ने सोच्दै छु । या ती साथीहरू मप्रति कहीँ न कहीँ पूर्वाग्रह पालेर पो बसेका थिए कि भनेर पनि सोच्दै छु । या ती साथीहरू मैले सार्वजनिक रूपमा गल्ती गर्ने समयको पर्खाइमा पो थिए कि पनि भनेर सोच्दै छु ।

मेरो कुरा प्रष्ट छ–यथास्थितिका प्रचण्ड भूपू माओवादी मात्रै हुन् । हाल उनी माओवादी भएको सर्वोच्चको झेली निर्णयको कारणले कानुनी अर्थमा मात्रै हो । प्रचण्डको दिमाग अझै कांग्रेससँग मिलेर सरकार चलाउनेतिरै छ । उनको दिमाग एमालेसँग एकता गरेर सही नै गरेको थिएँ भन्ने छ । उनको दिमाग बितेका दुई अढाई वर्षका (त्यसो त डेढ दशकका) बर्गघाती निर्णयहरूमा पश्चात्ताप गर्नेतिर छैन । त्यसैले अहिले आफ्नै पुँजीवादी खेलमा उत्तानो परे भनेर उनलाई उठाउन जान कुनै जरुरी छैन । मैले भन्न खोजेको कति मात्रै हो भने, यी तमाम घटनाहरूबाट पछारिएर टाउको रन्थनिएर कतै उनी संसदीय निद्राबाट ब्युँझेर पश्चात्तापसहित त्यो पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा योगदान गर्न तयार अर्थात नेतृत्व नबन्न पनि तयार भएर इमानदार प्रस्ताव गर्छन भने (त्यस्तो गर्ने संभावना लगभग छैन) त्यो बेला पनि छुवाछुत गर्नु सही हुँदैन भन्ने हो ।

चौतर्फी घेराबन्दी र लखेटाइमा परेपछि उनका अगाडि घेरा तोडेर निस्कने या घेरा भित्रै रुदै चिच्याउँदै मर्ने भन्ने दुई वटा विकल्प छन् । उनीले आँट गरुन या मरुन त्यो उनको कुरा हो तर उनीसँगै कैयन इमानदार व्यक्तिहरू उपयुक्त निकासको लागि विष हालेको खोलाका माछाजस्तै भइरहेको समयमा ती साथीहरूले दलभित्र सकरात्मक पहल गरुन् भनेर उत्प्रेरित गर्न मैले त्यो आशयको स्टाटस लेखेको हुँ । त्यसैले मैले लेखेको कुरालाई आफूखुसी अर्थ नलगाऔँ । छोटो स्टाटसले केही कुरा प्रष्ट नभएको भए आजको कुराले थप प्रस्ट होला । र, अन्तमा क्रान्तिकारी शक्तिले रणनीतिक मोर्चालाई अझ सुदृढ विस्तार गर्दै दिशाहीन बनेर अल्मलिरहेका धेरै मान्छेहरूलाई (त्यसभित्र मलाई पनि गणना गर्नेहरूसँग पनि केही भन्नु छैन) गोलबन्द गर्न सशक्त पहल गरुन भन्ने अनुरोध पनि गर्न चाहन्छु । (तिमल्सेनाको फेसबुकबाट)

प्रतिक्रिया