नागरिक स्टक डिलरलाई अनुमति

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापार सम्बन्धी काम गर्नको लागि सञ्चालन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई नेपालको पुँजीबजारमा धितोपत्र व्यापारको काम सञ्चालन गर्न अनुमति दिएको हो । कम्पनीले धितोपत्र व्यवसायी नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपश्चात् मात्रै बोर्डको अनुमति पाएको हो ।

हाल नेपालको पुँजीबजारमा स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको छ । नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै सो कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजीबजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डले जनाएको छ ।

बोर्डले नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था सहित १ फागुन २०७६ फागुन देखि लागू हुने गरी नियमावली परिवर्तन गरेको थियो ।

नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न सक्ने तथा पुँजीबजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले सञ्चालन स्वीकृति दिइएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया