निर्वाचनमा होमियो कांग्रेस !

काठमाडौं । नेपाली कांग्रेसले आउँदो निर्वाचनमा सहभागी हुने संकेत दिएको छ । सरकारले बैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचन हुने नहुनेमा बहस भईरहेका बेला कांग्रेसले भने निर्वाचन आयोगको कार्यक्रममा सहयोग गर्न ७७ जिल्लामा परिपत्र गरेको हो । नेपाली कांग्रेसले वैशाखमा तय गरिएको मध्यावधि निर्वाचनका लागि आयोगले गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन जिल्ला–जिल्लामा जिल्लाका, प्रदेशका र गाउँ/नगरपालिका कार्यसमितिका सभापतिलाई बुधबार परिपत्र गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर रहेको विज्ञप्तिमार्फत् कांग्रेसले निर्वाचन आयोगले सञ्चालन गर्ने मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रममा सक्रिय सहभागिता जनाउने सर्कुलर जारी गरेको छ । कांग्रेसको उक्त आन्तरिक सर्कुलरमा मतदाताको नाम र विवरणमा त्रुटि भए सच्चाउनको लागि निवेदन दिनेलगायतका विषय छन् ।

परिपत्रमा माघ १५ देखि सबै स्थानीय तहमा शुरू हुने नामावली अद्यावधिकसम्बन्धी कार्यक्रमका लागि आम नागरिकलाई सुसूचित गराउन जिल्ला कार्यसमिति मातहतका निकायलाई यथाशक्य छिटो सूचना दिन आग्रह गरिएको छ । प्रतिनिधि सभा विघटनका विरुद्धमा आन्दोलनका कार्यक्रम घोषणा गरेको कांग्रेसले मध्यावधि निर्वाचनमा भाग लिने तयारी स्वरूप नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पत्राचार गर्नुलाई महत्वका साथ हेरिएको छ ।

कांग्रेस नेता रामहरि खतिवडा कांग्रेस निर्वाचनबाट टाढा जान नसक्ने बताउँदै देशव्यापी रूपमा अभियान चलाएको स्वीकार्छन् । उनी भन्छन्, ‘अहिले प्रतिनिधिसभा विघटनपछि कांग्रेस गाउँगाउँसम्म पुग्नका दुई कारण छन् । कार्यकर्तालाई जागरित गराउन हामी गाउँगाउँ पुगेका हौं । सँगै प्रधानमन्त्रीले चालेको संसद विघटनको कदमको विरोधमा लाग्नु पनि स्वभाविक हो’, उनले भने, ‘कांग्रेसको यो कदम लोकतान्त्रिक मूल्यमान्यता र संविधानको रक्षा तथा कानुनी राजका लागि हो । त्यसमा हामीले हिजो राजासँग सम्झौता गरेनौं, अहिले कम्युनिस्टसँग पनि गर्दैनौं ।’

प्रतिक्रिया