एमाले सर्लाही नवौँ जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक

र्लाही । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने नेकपा एमाले सर्लाहीको आसन्न नवौँ जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ । एमालेको जिल्ला कमिटी सर्लाहीले मंगलबार बिहान जिल्लाको लालबन्दी– १ नवलपुरमा पत्रकार सम्मेलन गरी चार दिनपछि सदरमुकाम मलंगवामा हुन लागेको जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरिए हो ।

उक्त अधिवेशनको लोगोमा राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राखेर जिल्लाको मुख्य आकर्षण र महत्वपूर्ण प्राकृतिक ताल नाढीमन तालको पुनः उत्थान गरिनुपर्ने सन्देश दिइएको छ । अहिले नाडिमन ताललाई सुकाएर भैँसी चरणमा परिणत गरिएको छ ।

त्यस्तै मधेसको शिर मानिने जिल्लाको उत्तरी चुरे क्षेत्रको संरक्षण, जिल्लाको मुख्य उत्पादन उखु र गोलभेँडाको महत्व लोगोमार्फत झल्काइएको लोगो तथा नारा तयारी उपसमितिका संयोजक चूडामणि वाग्लेले बताए । त्यसैगरी ‘जवजको मुल मार्ग : समृद्धिको यात्रा, सीमादेखि चुरेसम्म एमालेको झण्डा’ भन्ने अधिवेशनको नारा तय गरिएको छ ।

यो नाराले जनताको बहुदलीय जनवादको मुख्य बाटोमा सर्लाहीको समृद्धि, विकास र हित प्रवर्द्धन भएको र नेकपा एमालेको प्रभाव सीमा क्षेत्रदेखि उत्तरी चुरेसम्म उस्तै उर्वर रहेको सन्देश दिने एमाले सर्लाहीले दाबी गरेको छ । एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले आफूहरु जिल्ला अधिवेशनलाई भव्य बनाउन लागिपरेको बताएका थिए ।

एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशन यही वैशाख ३० गते सदरमुकाम मलंगवामा सुरु हुँदै छ । अधिवेशनको मलंगवास्थित विश्वकर्मा चोकमा रहेको गोखुलराम साहको दुई बिघाको आँप बगैँचामा पार्टीका अध्यक्ष ओलीले उद्घाटन गर्ने गरी तीव्र तयारी भइरहेको जिल्ला अध्यक्ष साहले जानकारी दिए ।

प्रतिक्रिया