भूकम्प पीडितलाई राहत चाँडै उपलब्ध गराउन पर्छ : मन्त्री जोशी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जाजरकोट केन्द्रविन्दु भई गत कात्तिकमा गएको भूकम्पका कारण भत्किएका घर बनाउन भूकम्प पीडितलाई चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनुपर्ने बताएका छन् ।

काठमाडौंमा आज आयोजित दोस्रो ‘नेपाल सेल्टर फोरम’ सम्बन्धि छलफल कार्यक्रममा उनले समयमा नै भूकम्प पीडितलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

‘भूकम्प पीडितलाई अस्थायी टहरा बनाउन ढिला गर्नु हुँदैन, चाँडोभन्दा चाँडो राहात दिन सक्नुपर्छ,’ मन्त्री जोशीले भने । मनसुन समेत नजिकिँदै गरिरहेको र यसले भूकम्प पीडितलाई अझै प्रभावित पार्न सक्ने उल्लेख गर्दै उनले राहत वितरणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

‘हामी विपद्का विभिन्न पीडाबाट गुज्रिँदै आइरहेका छौँ, भूकम्पको जोखिममा छौँ’, मन्त्री जोशीले भने । वि.सं २०७२ को भूकम्पले भोग्नुपरेको पीडा अझै बाँकी रहेको उनले बताए । बाढीपहिरो, चट्याङ, वन डढेलो जस्ता प्राकृतिक प्रकोपका कारण बर्सेनी धनजनको क्षति भइरहेको उल्लेख गर्दै उनले यसबाट हुने क्षति न्यूनीकरणसम्बन्धी प्रभावकारी नीति कार्यान्वयनको आवश्यकता रहेको बताए ।

मन्त्री जोशीले विगतमा गरिएको पुनःनिर्माणको काम प्रशंसनीय रहेको भन्दै अब पनि पुनः निर्माणको कामलाई प्रभावकारी बनाउन सुझाए । ‘पुनः निर्माण प्राधिकरणबाट २०७२ सालको भूकम्पपछिको पुनः निर्माणको कामअन्तर्गत धेरै जसो निजी निवास, सरकारी भवन, विद्यालय र पुरातात्त्विक भवनको पनि पुनः निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ, पुनः निर्माणको कामबाट हाम्रो प्राधिकरणको छवि उच्च भएको छ,’ उनले भने, ‘यही सिकाइबाट अव राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि कर्णालीका भूकम्प पीडितका आवास बनाउन प्रभावकारी भूमिका खेल्न सकोस् ।’

संघीय सरकारले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा विपद् राहत उपलब्ध गराउने भनिए पनि क्षमताको अभावले फलदायी हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया