मन्त्री पद छ, मन्त्रालय छैन !

मुख्यमन्त्रीले जिम्मेवारी नदिँदा ३५ दिनदेखि भूमिकाविहीन रमा

काठमाडौँ । संघ र प्रदेश सरकारका मन्त्रीहरू यतिबेला आफ्नो मन्त्रालयमा योजना बनाउन र ती योजनाका लागि बजेट व्यवस्थापनको लबिइङमा व्यस्त छन् । अन्य सबै मन्त्रीलाई बजेटसँगै मन्त्रालयको कामको चाप भए पनि बाग्मती प्रदेशका एक मन्त्रीलाई भने यी कुनै कुराले छोएको छैन ।

मन्त्री पद छ, सरकारी सुरक्षासहितको झन्डावाला गाडी पनि छ । कतै पुग्दा ‘मन्त्रीज्यू, नमस्कार !’ पनि पाइरहेकै छन् । तर, उनको काम र परिचय त्यतिमै सीमित छ । आफ्नो मन्त्रालय कुन हो ? जिम्मेवारी के हो ? केही थाहा छैन । यसरी मन्त्रालय र जिम्मेवारीविहीन बनाएकी व्यक्ति हुन्, बाग्मती प्रदेश सरकारकी बिनाविभागीय मन्त्री रमा आले मगर ।

उनले मन्त्रीका रूपमा शपथ लिएको ३५ दिन बितिसक्यो । यति लामो समय बितिसक्दा पनि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अझै उनलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिएका छैनन् । लामो समयसम्म बिनाविभागीय बनाएकामा मन्त्री मगरले मुख्यमन्त्रीको नियतमाथि नै शंका गर्न थालेकी छिन् ।

१२ मन्त्रालय रहेको रहेको बाग्मती प्रदेशमा १३ जना मन्त्री हुँदा नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्यसमेत रहेकी रमाको भागमा मन्त्रालय नपुगेको हो । बाग्मतीमा माओवादीले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, एमालेले ५ मन्त्रालय, एकीकृत समाजवादीले २ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालय सम्हालिरहेका छन् ।

मन्त्रालयको जिम्मेवारी दिन रमाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ताकेता गर्दै आए पनि सुनवाइ भएको छैन । मन्त्रालयविहीन बनाएको बारेमा मन्त्री आले मगरले सौर्य दैनिकसँग भनिन्, ‘यो मुख्यमन्त्रीको हेपाहा प्रवृत्ति हो । मैले उहाँलाई २ पटक भेटेर मन्त्रालय दिनुहुन्न भने राजीनामा दिन्छु भनिसकेँ । उहाँले ‘नआत्तिनुस्, म व्यवस्थापन गर्दैछु । मन्त्रालय पाउनुहुन्छ’ भन्नुहुन्छ, तर दिनुहुन्न ।’

जम्कट्टेललाई भेटेरै मुख्यमन्त्रीमा समर्थन गर्दा भएको सहमति कार्यान्वयन गर्न माग गर्दा पनि मुख्यमन्त्री सहमति कार्यान्वयन गर्ने पक्षमा नदेखिएको रमाको आरोप छ । मन्त्री मगरले आफूलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको दाबी गर्दै भनिन्, ‘लिखित सहमति त थिएन । मौखिक सहमतिअनुसार मलाई भौतिक मन्त्रालय दिने कुरा भएको थियो । अहिले आएर त्यो कार्यान्वयन भएन ।’

गएको २० चैतमा मुख्यमन्त्री जम्कट्टेल, एमाले संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलिया, एकीकृत समाजवादी दलका नेता कृष्ण शर्मा खनाल र आफूबीच छलफल हुँदा भौतिक मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको मगरको भनाइ छ ।
मुख्यमन्त्री जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिनुअघि एकीकृत समाजवादीलाई सहमतिमा ल्याउन मगरलाई मन्त्री नियुक्त गरेका थिए । ११० सदस्यीय बाग्मती प्रदेशसभामा बहुमत पु¥याउन ५६ सांसदको समर्थन आवश्यक थियो । विश्वासको मत दिन प्रदेशसभा बैठकमै नगएकी मगरलाई मन्त्री नियुक्त गरेर उनले फकाएका थिए । मगरकै कारण ४ घन्टा ढिलो गरी बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले ५६ सांसदको मत पाएका थिए ।

आफूलाई ७ दिनभित्र मन्त्रालयको जिम्मेवारी दिने भने पनि ३५ दिनदेखि जिम्मेवारीविहीन बनाएकामा मगरको असन्तुष्टि छ । ‘यस्तै तरिका हो भने मैले सोच्नुपर्छ । मैले पहिल्यै छाड्न खोजेको हुँ, पार्टीले भनेकाले बसिरहेकी छु,’ उनले भनिन्, ‘अब सोच्ने बेला आएको छ । निर्णय गर्न म स्वतन्त्र छु ।’

झन्डावाला गाडीमा सवार हुँदा गाडीको एसीले दिने शीतलताले भन्दा जिम्मवारीविहिन हुँदा भतभती पोल्ने गरेको उनले सुनाइन् । ‘तपाईंले मन्त्रालय कहिले पाउने हो ? कुन मन्त्रालय पाउनुहुन्छ ?’ भनेर पार्टीका नेता÷कार्यकर्ता र शुभचिन्तकले प्रश्न गर्दा आफूलाई पीडाबोध हुने उनको अनुभव छ ।

‘२ पटक प्रत्यक्ष निर्वाचन जितेको सजाय त भोग्नुपरेको होइन ? भन्ने पनि लाग्छ कहिलेकाहीँ,’ उनले भनिन्, ‘सरकारले मन्त्री भएबापत दिएको सुविधाले गिज्याएझैँ लाग्छ ।’ मन्त्री पद र सरकारले दिएको सुविधाले आफूलाई उकुसमुकुस बनाउने गरेको भन्दै उनले भनिन्, ‘मन्त्रालयको जिम्मेवारीबारे सोधिने प्रश्नले थप तनाव सिर्जना गर्दोरहेछ ।’

उनले प्रदेश सरकारले मन्त्रीका लागि उपलब्ध गराएको सरकारी निवासमा २ पटक गरेर ५ रात बिताएको बताइन् । उनको बसाइ अहिले काठमाडौँमा हुने गरेको छ । सरकारका अन्य मन्त्री योजना बनाउने काममा व्यस्त छन्, उनी भने आफ्नै निर्वाचन क्षेत्र र पार्टीको काममा समय बिताउँदै छिन् ।

रमा एकीकृत समाजवादीबाट बाग्मती प्रदेशमा प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । काठमाडौँको चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौँ–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् । प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद रहेकी उनी १ वर्षअघि चैतमै भएको सरकार विस्तारका क्रममा शपथको निम्तो पाएर पनि खाली हात काठमाडौँ फर्कनुपरेको थियो ।

अहिले पनि उनलाई मन्त्री बनाएर पद त दिइयो, तर जिम्मेवारी भने दिइएको छैन । ‘पार्टीसँग पनि कुरा गरेकी छु, मलाई पदमात्रै होइन, काम र जिम्मेवारी पनि चाहिन्छ,’ उनले भनिन्, ‘अब पनि यो विषयमा मुख्यमन्त्रीज्यूले पहल गर्नुभएन भने राजीनामा दिन तयार छु ।’

कुनै पनि बेला आफूले राजीनामा दिन सक्ने चेतावनी दिँदै उनले सानो पार्टी भनेर माओवादीले हेपेको अनुभव हुने पनि सुनाइन् । बाग्मतीमा आफूहरूले साथ छाडे सरकार ढल्ने चेतावनी दिँदै उनले मुख्यमन्त्रील यसबारे चाँडै निर्णय दिन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया