दसैँ पर्व भ्रम र यथार्थता

विश्वभर छरिएर रहेका नेपालीले विगत पाँच दिनदेखि दसैँ पर्व मनाइरहेका छन् । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मका १० दिन यो पर्व भव्यताका साथ मनाइन्छ । १० दिने पर्व भएकैले दसैँ भनिएको हो । यी १० वटै दिनको आआफ्नो महत्व छ । तर, अन्तिम दिन विजयादशमीलाई भने सबै समुदायले उत्तिकै महत्व दिने गरेका छन् ।

खास गरी राजधानी काठमाडौं उपत्यकाका बुद्धधर्मालम्बी नेवार समुदायले अरू दिनको तुलनामा विजयादशमीको दिनलाइै धेरै नै महत्व दिएको देखिन्छ । नेवारी भाषामा मोहनी नखःका रूपमा विजयादशमी भव्यताका साथ मनाइन्छ । तलेजु भवानी तथा कुमारी परम्परासँग काठमाडौंका नेवार समुदाय चीरकालदेखि जोडिँदै आएको छ ।

हनुमानढोकामा केन्द्रीय कुमारी र टोलटोलमा कुमारीहरू स्थापित गरिएको हुन्छ । कुमारीको हातबाट टीका तथा जमरा ग्रहण गरिन्छ । बौद्ध कुल (शाक्य) की छोरीबाहेक अरूले कुमारी हुने हक राख्दैनन् । यसैगरी मोहनी नखःका रूपमा निधारमा चरेखु लगाउने परम्परा छ । नेपालमा दसैँ जुन शैलीले मनाइन्छ त्यो कुमारी परम्पराअनुसार नै विस्तार भएको अनुमान लगाउन सकिन्छ ।

पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिइन्छ तर महिलालाई टीका लगाउँदा आशीर्वाद मागिन्छ । दसैँ पर्व हिन्दूहरूको मात्रै हो भन्ने भ्रम अझै निवारण हुन सकेको छैन । अहिले पनि विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा शुभकामना प्रकट गर्ने क्रममा ‘हिन्दूहरूको महानचाड विजयादशमी’ उल्लेख गर्ने गरिएको पाइन्छ ।

पहिलो कुरा त दसैँ हिन्दूहरूको मात्रै होइन, बौद्धमार्गीहरूको पनि हो । दोस्रो कुरा दसैँ भनेको विजयादशमी मात्रै पनि होइन, प्रतिपदादेखि विजयादशमी सम्मका १० दिनको समष्टि रूप हो । यो दशमीलाई विजयादशमी किन भनियो ? भन्ने सन्दर्भमा भने हिन्दूधर्मावलम्वी र बौद्धधर्मालम्बीहरूका आआफ्ना मत तथा व्याख्याहरू छन् । दानवमाथि मानवले विजय गरेको दिन भएकोले विजयादशमी भनिएको मान्यता हिन्दूधर्मावलम्बीहरूमा छ ।

वौद्धधर्मावलम्बीहरूले भने सम्राट अशोकले यसै दिनदेखि लडाइँ तथा झगडा शान्तिको अभियान सुरु गरी विजय प्राप्त गरेकोले विजयादशमी भनिएको मान्यता राख्छन् । बौद्धमार्गीहरूको यो मत प्रमाणित हो, तर हिन्दूधर्मालम्बीहरूको मत श्रुतिपरम्परा मात्रै हो ।

संस्कृति परम्परा भनेको विभिन्न जाति तथा समुदायलाई एकआपसमा जोड्ने सूत्र पनि हो । तर, नेपालका सन्दर्भमा जोड्नका लागिभन्दा पनि तोड्नका लागि दुरुपयोग गर्ने सिलसिला चलेको छ । दसैँलाई नै उदाहरणका रूपमा लिन सकिन्छ । कतिपय हिन्दूहरूले आफ्नो मात्रै पेवा ठान्ने गरेको अवस्था एकातिर छ भने अर्कातिर कतिपय बौद्धधर्मालम्बीहरूले दसैँ बहिष्कारको अभियान चलाउने सिलसिला सुरु भएको छ ।

दुवै कुरा भ्रम हो । इसाइहरूको षड्यन्त्रअन्तर्गत यो भ्रम फैलाइएको अनुमान धेरैको छ । यतिसम्म भ्रम फैलाइएको छ कि, ‘खसआर्य समुदायले जनजाति समुदायमाथि नियन्त्रण गरेको अवसरका रूपमा दसैँ मनाउन थालिएको हो ।’ नेपाली–नेपालीमाथि द्वन्द्व गराउन कति डरलाग्दो भ्रम फिँजाइएको ? यही भ्रमका कारण कतिपय जनजाति समुदायका अगुवाहरू दसैँ बहिष्कारको अभियानमा जुटेका देखिन्छन् ।

हिन्दूहरूले आफ्नै पेवाजस्तो ठान्ने, राज्यस्तरबाट पनि हिन्दूहरूको महान पर्व भनेर प्रचार गरिदिने सिलसिलाले पनि यो अवस्था सिर्जना भएको छ । यस्ता भ्रमलाई राज्यस्तरबाट पनि तत्काल सच्याउनु पर्छ । दसैँ नितान्त नेपालीको चाड हो । नेपालीलाई एक सूत्रमा जोड्दै राष्ट्रियता बलियो बनाउने चाड हो । यदी हिन्दूहरूको मात्रै महान चाड हुँदो हो त छिमेकी मुलुक भारतका हिन्दूहरू किन दसैँप्रति बेखबर हुन्थे ? किन राजधानी काठमाडौंका बौद्धमार्गीहरूले महत्वका साथ दसैँ मनाउँथे ?

प्रतिक्रिया