कविता

      तेजविलास अधिकारी

समय चुनौती थप्दै
लिइरहेछ परीक्षा

भनिरहेछ
एक्लै पनि बस्न सिक
समय चुनौती थप्दै
गरिरहेछ प्रयोगशाला परिक्षण
समूहमा नहिड

नभेट सामूहिक रुपमा
प्रयोग गर प्रविधि
सोच नवीन हिसाबले
जीवन कै बारेमा सोच

स्वाभाविक मान है
मृत्यु पनि ।
चुनौती ब्यहोर्न
सिकाउँदै छ समय
दह्रो बनाउ मनस्थिति
हेर त विश्व
पढ् त समाज
बुझ त राजनीति
अनि गर महसुस
आत्तिएर त
हुँदै हुन्न है हुन्न ।
टाढाकालाई पनि
स्नेहले सम्बोधन गर
नजिककासित पनि नजिक नहोउ
वस्तु विनिमयमा देऊ ध्यान
बन मितब्ययी ।
समयले थपेको
चुनौती र जर्जरतालाई
सहनशील बनेरै
लगाउनु छ पार
सोचेर परसम्मको
यात्रा तय गर्नु छ
जोखिम जतिबेला पनि
आइ नै हाल्छ नि भनेर
चनाखो चनाखो बनी
हेर्नु छ गतिविधि
सकिन्छ गर निम्नको
आपत–विपतमा
रहेका जनको मद्दत
सकिदैँन नगर
छिःछिः थुःथुः ।
भैहाल्छ समाधान
स्वास्थ योद्धाहरु
भिडिरहेछन् जोखिम मलेर ज्यानको
तिनको सम्मानमा लेख
तिनको बढाउ आत्मबल
आत्तिनु हुन्न है कत्ति
भए नै पनि केही क्षति ।
मानव जाति भए स्वार्थी
एक्लै बेक्लै भए
शोषण र दम्भमा रमाए
हो त्यही दम्भ तोड्न
पुनः हातेमालो गर्नु छ
जीवन यात्रामा फेरि
सहभाव कायम गर्न
सद्भाव उमारेर
बनाउन गुणयुक्त समाज
जोगाउन मानवीय उपलब्धि
निरन्तर अविचल ।

प्रतिक्रिया