छायांकनमा जम्दै राजु

काठमाडौं । हरेक मान्छेका आ–आफ्नै इच्छा र चाहना हुन्छन् । तिनीहरुलाई पूरा गर्न यदि मनदेखि लाग्ने हो भने असम्भव भन्ने हुँदैन् । सानैदेखि क्यामेरासँग रमाउन र राम्रो दृश्य खिच्न रुचाउने राजु गौली यतिवेला बलिउडमा लोकप्रिय र चर्चित छायांकार बन्न पुगेका छन् । लगन र मिहिनेतले उनी यतिवेला बलिउडकै राम्रा छायांकारका रुपमा स्थापित भएका छन् ।

बलिउडका पछिल्लो समयका ख्यातिप्राप्त वरिष्ठ छायांकार हुन् गौली । नेपाललाई पनि त्यतिकै माया गर्ने उनले नेपाल टेलिभिजनको सिरियल ‘खुसी पलभरको’ र कान्तिपुर टेलिभिजनको ‘न लेखिएको साइनो’ सन् २००५ तिर छायांकन गरेका थिए । नेपालको प्रकृति, संस्कृति र वातावरणलाई आफूलाई असाध्यै मनपर्ने बताउँदै उनले भने, ‘मलाई नेपालका प्राकृतिक छटाहरुले मन्त्र मुग्घ पार्छ मौका मिल्यो कि आइहाल्छु,’उनी भन्छन् ।

‘यहाँको वातावरण जति राम्रो छ, मानिसको व्यवहार पनि त्यस्तै मायालु छ ।’ पछिल्लो समय नेपाल आएको मौकापारी मेरो भेटघाटमा उनले आफू नेपालप्रति सधै लगाव रहेको बताए । बलिउडमा आफ्नो कामको जादुमार्फत ख्याति कमाएका राजु १७ वर्षदेखि बलिउडमा ३५ भन्दा बढी टिभी सो को छायांकन गरेका छन् भने स्टिल क्यामेरा म्यानेजमेन्टको गहिरो अध्ययन गरेका छन् ।

उनले स्टार प्लस टिभी, जि टिभी, कलरस, सोनी लगायतका टेलिभिजनका चर्चित सिरियल र सोहरुको छायांकन गरेका छन् । राजुले ‘नागिन–२’, ‘इस्कबाज’, ‘हैवान’, ‘इस प्यारको क्या नाम दुँ’, ‘प्यार की एक कहानी’ लगायत दर्जनौं सिरियल र अवार्ड सोहरुको छायांकनसमेत गरेका छन् । त्यस्तै, राजुले श्रीलंकाको टेलिभिजनमा समेत काम गरेको सुनाए ।

उनको कामले जहिले पनि चर्चा कमाउन सफल भएसँगै थुप्रै अवार्ड हात पारेका छन् । उनले सन् २०१९ मा वल्र्ड आइकन अवार्ड श्रीलंकामा, पाँचौ मुम्बई ग्लोबल एचिभमेन्ट अवार्ड २०१९, टप फिफ्टिन आइकन अवार्ड २०१९, द योङ टुरुक अवार्ड २०२०, रेभिसिङ वमेन एप्रिसिएसन अवार्ड २०१९, सिएआइन फिल्म एप्रिसिएसन अवार्ड २०१९ टोरोन्टो क्यानडा लगायतबाट छायांकारको अवार्ड चुम्न सफल भएका छन् ।

‘यो क्षेत्रले मलाई नाम दिएको छ, यही क्षेत्रमा नै आफ्ना नयाँ–नयाँ क्रिएसन पस्किरहन्छु’, राजु भन्छन्, ‘आउँदा दिनहरुमा पनि यहाँहरुको माया, साथ र सहयोगको अपेक्षा गर्दछु, ।’

प्रतिक्रिया