‘सजिलै गरी मान्छे मार्न भोक चाहिँदोरहेछ !’

               प्रथा

एक्लै जन्मिन्छ तर जिउन लोक चाहिँदोरहेछ
पीर भुल्न पनि मान्छेलाई जोक चाहिँदोरहेछ !

को आफ्नो को पराई जगत सारा मतलवी छ
खुद्रा चिनजान के काम र थोक चाहिँदोरहेछ !

गाथमा भेटी नटक्रयाई त फत्ते हुन्न कुनै काम
सास फेर्न पनि जिन्दगीमा तोक चाहिँदोरहेछ !

आफ्नै भर नहुने भो कसको आशा गर्नु हजुर
फिस्स ओठ हाँस्नलाई नि झोँक चाहिँदोरहेछ !

चुनावमा गाउँ पस्छन् अगि पछि शहर बस्छन्
दस आठ जना जुट्न पनि शोक चाहिँदोरहेछ !

गोलाबारी हतियार पनि किन राख्छौ सरकार
सजिलै गरी त मान्छे मार्न भोक चाहिँदोरहेछ !

प्रतिक्रिया