राजनीतिक अस्थिरता र गुलामी संस्कृतीको सम्बन्ध

              कृष्ण बोहोरा

नेपालमा अस्थिर राजनीति भित्रिएको कती वर्ष भयो होला ? यसको इतिहास ज्यादै लामो छ । जंगबहादुर राणाको मृत्युपछि राणाहरुको भाइभाईको झगडा र एकले अर्कोलाई सिध्याउने खेल हामीले नदेखे पनि पढेका र सुनेका छौँ । यो सबै श्री ३ प्रधानमन्त्रीको पद प्राप्तीको लागि थियो । राणा शासनअघि पनि राजाहरु बालक हुनुका कारणले मुक्तियारी चलाउनेको होडबाजी थियो । सत्ता र शक्ति प्राप्तीको लागि खिचातानी भइरहने भएकाले नेपालमा सामाजिक सेवा र विकास निर्माणका काम प्रायः औपचारिकतामा सिमित भइरहेका छन् । विज्ञान र प्रविधीले फड्को मारिसकेको आधुनिक विश्वमा हामी भने टुलु–टुलु हेर्नु सिवाय अरु केही गर्न सक्दैनौँ ।

हाम्रो काम भनेको सत्तासिनहरुको पक्षे विपक्षेमा लागेर चाकडी बजाउनु मात्र हो । नेपालमा बहुदलिय व्यवस्थाको आगमनसँगै राजनीतिमा अस्थिरता झनै भित्रीइरहेको छ । हाम्रो संसदमा १७ पटकसम्म चुनाव गर्दा पनि प्रधानमन्त्री छनौट हुन नसके पनि पदमा उठिरहने पक्षे विपक्षेका ठूला नेताहरु छन् । पद सत्ता र शक्ति सबैभन्दा मूख्य कुरा हो, अरु कुरा हुन भन्ने संस्कृती हाम्रो राजनीतिमा छ । राजनीतिमा इमान्दारीता, नीतिगतता र नैतिक अनुशासन भन्ने कुरा कुन चराको नाम हो भन्ने अवस्था छ । यसैले गणतन्त्र, लोकतन्त्र र समाजवाद जस्ता शब्दावली केवल सिद्धान्त र किताबमा मात्र सिमित भएको छ । यसले समाज र लोकलाई केही दिन सकेको अनुभूती भएको देखिँदैन ।

जसरी धनबहादुर नाम गरेको सबै मानिस धनी हुन सक्दैनन्, गुणवती नाम गरेकी सबै छोरीहरु सर्व गुणले सम्पन्न हुन सक्दैनन् । यसैगरी लोकतन्त्र समाजवाद जस्ता शब्दावलीले सुसोभित गरेको भरमा लोक कल्याणकारी राज्य बन्न सक्दैन । ई.स १९७५ देखि १९७९ सम्म कम्बोडियामा पोलपोट नाम गरेका शासक थिए । उनको शासनकालमा सर्वहाराको अधिनायकत्वको नाममा आफ्ना बिरोधीहरुलाई निमिटयान्नै पार्न चाहन्थे । यसैले उनको शासन निरिह मानिसहरुको लाशहरु र अस्थिपन्जरको थुप्रोमाथि अडिएको थियो । त्यतीखेरको उनको कार्यकालको त्यहाँको शासन व्यवस्थाको नाम पनि कम्युनिष्ट शासन थियो । कम्युनिष्ट र जनवादी व्यवस्थाको नाममा उनी र उनका मतियारहरुले त्यहाँ त्यस्तै प्रकारका शासन चलाएका थिए ।

शोभियत संघमा पनि स्टालिन र स्टालिन पछिका शासकहरुले यस्तै खालको शासन संचालन गरे । ई.स. १९९१ डिसेम्बर २५ मा सोभियत यूनिअन बिघटन भयो । जनअधिकार, वाक तथा प्रकाशन स्वतन्त्रता जस्ता प्रजातान्त्रीक हक जनतालाई थिएन । सबै कुरा राज्यको नियन्त्रणमा भएका कारण राज्य सत्तामा जो छ उसले चाहेका कुरा मात्र राज्यमा लागू हुन्थ्यो । जनताका दैनिक आवश्यकताको उपभोग्य सामान उत्पादन गर्नतिर राज्यको ध्यान थिएन । यसको सट्टा युद्ध सामग्रीको उत्पादन राज्यले ज्यादा गर्दथ्यो । पाउरोटी पाउँनको लागि पनि जनता लामो–लामो लाइनमा बस्नु पर्दथ्यो । यस्ता खालको त्यहाँको शासन व्यवस्थाको नाम पनि समाजवादी भन्ने थियो ।

अब भन्नुहोस् त नामले मात्र के हुने रहेछ र रु यहि सोभियत संघको समर्थनमा भित्रिएका तत्कालिन पूर्वी युरोपका समाजवादी सत्ताहरु पनि लोकलाई वाक्क पार्दै अलोकप्रिय भएपछि एकपछि अर्को गरी ढल्दै गए । कम्युनिष्ट सत्ता संसारमा बदनाम हुनुको कारण पनि त्यही हो । समाजवाद नाम मात्रको भएपछि पूँजीवादी देशहरु खुशी भए । चीनमा माओको शासन भएको बखत सोभियत संघ र चीनलाई समेत मिलाउँदा संसारको तीन चौथाई भूभागमा कम्युनिष्ट व्यवस्था लागू भइनै सकेको थियो । यसैले त्यसबेला माओत्सेतुङ्गले भन्नु भएको थियो हामी युद्ध चाहँदैनाैँ यदी अमेरीका यूद्ध गर्नै चाहन्छ भने अब संसारको सबै भू–भाग कम्युनिष्टमय हुनेछ ।

यद्यपी त्यतीखेरको कम्युनिष्ट सत्ताहरु अनुसन्धान खोज र प्रयोगबाट नै अघि बढ्नु अनिवार्य थियो । प्राप्त भएको सत्ताको सही प्रयोग हुन सकेन । रगतको खोलो बगाएर जनताको नाममा, मजदूरको नाममा प्राप्त भएको सत्ताले उनीहरुकै हित गर्न सकेन । जसले समयको माग र जनताको आशा आकांक्षा बुझ्न सके त्यो अहिले पनि लोकप्रिय छ । तपाईं आधुनिक चीन र यसको प्रगतीलाई हेर्न सक्नुहुन्छ । बरु संसारभरका साम्यवादीहरुको आवाज र आन्दोलनको फलस्वरूप बाध्य भएर पनि पूँजीवादी देशहरुले धेरै हदसम्म आफूलाई सच्याएको देखिन्छ । सहकारी सिद्धान्त, निःशुल्क स्वास्थ्य, शिक्षा जस्ता थुप्रै कुराहरु साम्यवादी आन्दोलनका देनहरु हुन ।

जो अहिले कतिपय पूँजीवादी मुलुकहरुमा समेत लागू भएको छ । तुलनात्मक रुपमा हेर्दा सिङ्गापुर, क्यानडा, स्वीडेन, डेनमार्क र स्वीजरल्याण्ड जस्ता देशहरु नमूना लायक नै छन । माक्र्सवादी शिक्षाले हामीलाई सिकाएको छ की संसार परिवर्तनशिल छ । परिवर्तनशिल विश्वलाई पहिचान गर्दै माक्र्सवादी सिद्धान्तलाई पनि बेला–बेला विकास र परिमार्जन गर्नु आवश्यक छ । सिद्धान्त व्यवहारबाट जन्मन्छ र यसले पूनः व्यवहारकै सेवा पनि गर्दै जान्छ । यसैले सिद्धान्तलाई शासकिय व्यवहारमा मात्र हैन, जन व्यवहारको कसीमा जाँच्दै लानुपर्ने हुन्छ र यसको विकास गर्दै पनि लानुपर्ने हुन्छ । सायद मदन भण्डारीले हामी जुत्ताको नाप अनुसार खुट्टा काट्दैनौँ, बरु खुट्टाको नाप अनुसार जुत्ताको छनौट गर्दर्छौँ भन्नुको तात्पर्य यहि होला १

जो संसारका ठूला र ख्यातीप्राप्त दार्शनिक थिए । जसले मजदुर र गरीब वर्गका हितको खातिर सबैभन्दा नविन दर्शन विश्वलाई दिए । उनैका छोराछोरीहरु दरिद्रताको जीवन बिताउँदै भोक र रोगले मरेका थिए । मृत्यूको बेला कात्रो किन्नेसम्म पैसा उनीसँग थिएन । देश निकालाका कारण कहिले कुन र कहिले कुन देश भौँतारिइरहे । यस्ता गरीब र मजदुर वर्गको हितमा समर्पित दार्शनिक माक्र्सले पोलपोट जस्ता शासक र उनको हितका लागि पक्कै दुःख गरेका थिएनन् । संसारमा कम्युनिष्टलाई बदनाम गर्नेहरु पनि कम्युनिष्टको नाममा सत्ता सञ्चालन गर्ने गैर कम्युनिष्टहरुनै हुन् । मार्कसवादी सिद्धान्त जो आफैमा विज्ञान हो । यद्यपी यसो हो भने जनताको अहित गर्ने नीति सिद्धान्त र व्यवहारलाई परित्याग गर्दै, परिमार्जन गर्दै जानु अनिवार्य सर्त हो । नत्र यस्तो सिद्धान्त र यस्तो सत्तालाई कम्युनिष्टको बिल्ला लगाईरहने अधिकार पनि छैन ।

मैले माथिका उदाहरण दिनुको कारण यो हो की कुनै पनि शासन व्यवस्था जब अलोकप्रिय हुन्छ, तब त्यस देशमा विदेशी सक्तिले खेल्ने ठाउँ पाउँछ । जुन देशमा लामो समयसम्म अस्थिरताले घर गरिरहन्छ त्यस देशमा कुनै पनि लोक हितकारी काम पनि हुनै पाउँदैन । अस्थिरता र अलोकप्रियताका कारण सही मार्ग निर्देशन दिने कुनै शक्ति देशभित्र देखा नपरेपछि त्यो परिपुर्ती गर्न तम्सने विदेशी शक्ति हुनु सामान्य कुरा हो । प्रत्येक देशका आ–आफ्ना स्वार्थ हुन्छ । यस्ता विदेशी स्वार्थहरुलाई आफ्नो देशको राष्ट्रिय स्वार्थले किच्न सक्नु पर्दछ ।

तर, नेपालमा त्यसो भएन । नेताहरु शक्ति र सत्ताकालागि बिदेशीहरुसंग पनि हार गुहार गर्ने भए । म धेरै पटक लैनचौर छिरीसकेको थिए । यसपटक भने मिडियाले एम्बूसमा पार्यो भनी सत्ताका लागि भारतिय दुतावास धाउने ठूला क्रान्तीकारी नेता पनि हाम्रै देशमा छन् । विशेष गरेर नेपालमा प्रजातन्त्र ल्याउन २००७ शाल कार्तिक महिनामा राजा त्रिभुवन स–परिवार भारतिय दुतावासबाट दिल्ली पुगेपछि नै भारतिय राजनीतिक खेल नेपालमा भित्रिएको भन्न सकिन्छ । स्व।बिपी कोइरालाले राजा त्रिभुवनलाई पाल्पामा लगेर राख्ने योजनामा रहेछन् । किनकी त्यतिखेर पाल्पा नेपाली कांग्रेसको आधार क्षेत्र जस्तै रहेछ ।

उनको त्यो योजना सफल हुन सकेन । दिल्लीले राजा राणा र नेकाको त्रिपक्षिय वार्ताको लागि बोलाउँदा बाध्य भएर बिपी कोइराला दिल्ली गएका थिए । त्यस पछिका दिनमा नेपालको क्याबिनेटको बैठकमा भारतिय राजदुतावासको प्रतिनिधी उपस्थित हुनुपर्ने थिती बसालियो । अनि त ‘जसोजसो बाहुनबाजे उसै–उसै स्वाहा’ भनेजस्तो भयो । नेपालको शासकिय मामलामा भारतिय सत्ताले चाहे अनुसारको निर्णय हुन थाल्यो । २०१५ सालको चुनावपछि बनेको नेपाली कांग्रेसको सरकारले पनि त्यो क्रम यथावत नै राखेको थियो ।

जो आजको गणतान्त्रिक व्यवस्थामा पनि अप्रत्यक्ष रूपमा किन नहोस् अवस्था उस्तै छ । राष्ट्र बैंकका एकजना अधिकृत देहरादुनमा एउटा बैकिङ तालिममा गएका रहेछन् । तालिमको क्रममा उनको एकजना भारतिय जासुसी संस्थाका मानिससँग भेट भएछ । उसले भनेछ, ‘नेपालमा प्रत्येक मन्त्रालयमा हाम्रा मानिस छन ।’ त्यहाँ कुन कर्मचारीको सरुवा र बढुवा हुँदैछ । कुन कर्मचारीको सोच के छ । कुन कर्मचारीलाई सरकारका पावरफुल पर्सनले त्योप्रती हेर्ने दृष्टीकोण के कस्तो छ र कसको प्रमोसन हुँदैछ भन्ने कुरासमेत हामीलाई जानकारी हुन्छ । एक प्रकारले नेपालमा हामीले एउटा छायाँ सरकार नै चलाएका छौँ । यो कुरा यहाँको राजनीतिक बास्तव मै पुष्टी गरिरहेको छ ।

२०४७ सालको बहुदलिय व्यवस्थाको आगमनसँगगै पुनः भारतियहरुको गुलामी गरी सत्ता प्राप्त गर्ने खेल आजसम्म यथावत छ । प्रधानमन्त्री तथा कुनै पनि मन्त्री बन्नका लागि हाम्रा नेताहरु भारतिय सत्ताको गुलामी गर्छन् । हुँदा–हुँदा अब कुनै ठुूलो कर्मचारी हुन र सरुवा बरुवामासमेत भारतिय दुतावास धाउँने चलन आइसकेको छ । एमालेको नौ महिने शासनकालमा जनहितका केही राम्रा कामहरु भएका थिए । त्यस पछिका दिनमा राम्रा र सन्तोषजनक कुनै काम राज्यले गर्न सकेको दखिँदैन । भारतिय नाकाबन्दीमा नेपाली सत्ता र जनता जो भारतिय सत्तासँग झुकेनन, एउटै मात्र राम्रो उदाहरण हो ।

त्यसबाहेक प्रशंसा गर्न लायक कुनै पनि सरकारले गरेको असल र राष्ट्रिय स्वार्थ अनुकुलको काम देखिँदैन । त्यसैले यो भन्न सकिन्छ की भ्रष्ट संस्कार, राजनीतिक अस्थिरता र गुलामी संस्कृतीबीच घनिष्ट सम्बन्ध छ । पहिलो कारण हो भने अर्को कारक । लामो समयसम्म गुलामी संस्कृतीमा बानी परिसकेपछि स्वतन्त्र र स्व–निर्णय गर्ने क्षेमता देशले गुमाइसकेको हुन्छ । जसरी चुरोट पिउने बानी परेको मानिसले सजिलोसँग चुरोट छोड्न सक्दैन । जबकी चुरोट पिउनु स्वास्थ्यको दृष्टिकोणले ठिक होइन भन्ने जानकारी र ज्ञान पनि छ । कुलतमा फसेका आजकलका केटाकेटी जसरी सुधारगृहमा राख्दा पनि राम्रोसँग सुधार हुन सक्दैनन् ।

यो पनि त्यस्तै हो । एउटा बानी मात्र नभएर संस्कार बनिसकेको हुन्छ । कतिपय राजनीति कर्मीहरु कती सजिलैसँग भन्दिन्छन् । हामी भारतलाई नसोधी केही पनि गर्न सक्दैनाैँ । यसको मतलब यो हो की गुलामी संस्कृती हाम्रो नियती बनीसकेको छ । अरु त के कम्युनिष्टको आदर्श र दर्शन बोकेर सत्तामा पुगेकाहरुको पनि नियती उही भैदिँदा प्रश्न चिन्ह लागेको छ । जो अगुवा उही के जाती भनेजस्तो अवस्था भयो । यसैले जबसम्म हामी देशमा विद्यमान राजनीतिक अस्थिरतालाई निर्मुल पार्न सक्दैनौँ । तबसम्म गुलामी संस्कृतीलाई पनि तोड्न सक्दैनौँ ।

यद्यपी अस्थिरतालाई जरैदेखि फाल्ने हो भने गुलामी संस्कृतीलाई आजैदेखि त्याग्न सुरु गर्नु पर्दछ । गुलाम र गुलामीहरुको देशलाई अझै अस्थिर बनाउँन विदेशीले थप मलजल गरिरहेका छन् । यसबाट उनीहरुको नाजायज स्वार्थ पुरा गर्नु उनीहरुको मुख्य उद्देश्य हो । सुरुमा अस्थिरता हाम्रो बढ्पनको लागि हामी आफैले निम्त्याएको भएता पनि अब विदेशीले उनीहरुको स्वार्थ पूर्तीको लागि अस्थिरता थोपरीरहेका छन् । यही हामीलाई गुलियो भइदिएको छ । यसैले अस्थिरता र गुलामी संस्कृती यती झाङ्गीएको छ की झाङ फाँड्नै हामीलाई धेरै गाह्रो हुन गएको छ । जननेता स्व। मदन भण्डारी र राजा विरेन्द्रको मृत्यूको कारण पनि यहि झाङ फँडानी नै हो । यसैले हामी निकै गम्भीर र संवेदनशिल हुनु परेको छ । मृत्यु त सामान्य हो एक दिन सबै मर्नुनै पर्दछ ।

प्रतिक्रिया