ओलीका सामु एउटै विकल्प

करिब डेढ साता लामो अस्पताल बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार डिस्चार्ज भएर आफ्नो सरकारी निवास वालुवाटार फर्केका छन् । मिर्गाैला प्रत्यारोपणका क्रममा उनी ११ दिन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बसेका थिए । आफ्ना ९० वर्षीय पिता मोहनप्रसाद ओलीलाई ढोग गरी उनी मिर्गौला प्रत्यारोपणका लागि निवासबाट अस्पताल प्रस्थान गरेको तस्वीरले जसरी त्यतिबेला सबैलाई भावुक बनाएको थियो, त्यसरी नै यतिबेला उनले आफ्नो निवास प्रवेश गर्ने क्रममा पितालाई ढोग गरेको तस्वीरले पनि सबैलाई भावुक बनाएको छ । फरक यति हो कि पिताजीलाई बिदाईको ढोग गर्दा प्रधानमन्त्री ओलीको अनुहार निकै भयवित जस्तो देखिन्थ्यो भने बयोवृद्ध पिताजीको हात छोरालाई आशिर्वाद दिने क्रममा काँपिरहेको थियो, तर उपचार पछिको भेटघाटमा भने दुवैको अनुहार सन्तुष्ट थियो । सन्तुष्ट हुनु स्वभाविकै हो । ओलीका पिताको मात्रै होइन हरेक पिताका दुई वटा समान इच्छा हुन्छन् । एउटा हो ‘आँफूभन्दा आफ्ना सन्तानले प्रगति गरेको देख्ने ।’ अर्को हो‘लामो उमेर बाँच्दै सन्तानको काखमा मर्ने ।’ आफ्ना सन्तती प्रधानमन्त्री भएको देख्ने भाग्यवानी पिताहरू ज्यादै थोरै हुन्छन्, तिनै थोरै मध्येमा पर्छन्, मोहानप्रसाद ओली । यसैगरी आम पिताहरू आफ्नो सन्तानको काखमै मर्छन् , मोहानप्रसादलाई पनि यो इच्छा हुनु स्वभाविकै हो ।

प्रधानमन्त्री ओली मोहनप्रसादका छोरा मात्रै होइनन्, मुलुकका अभिभावक समेत हुन्, आफ्नो छोराको स्वास्थ्यका विषयमा मोहनप्रसाद जति चिन्तित देखिए नेपाली जनता पनि त्यति नै चिन्तित देखिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नेहरूको ठूलो भीड मठमन्दिर, गुम्बा, चोक तथा अस्पतालको परिसारमा देखियो । आखिर प्रधानमन्त्री ओली जीवन र मृत्युको दोसा“धबाट पार भएका छन् । चिकित्सकहरूको अथक प्रयास तथा आम नेपालीको कामना पूरा भयो । उनलाई भाग्यले पनि साथ दियो । वृद्ध तथा रोगले गाँजेको कमजोर शरीरमा दोस्रो पटकको मिर्गाैला प्रत्यारोपण यसरी सफल भएका उदाहरणहरू कमै छन् । प्रधानमन्त्री ओलीको इच्छा शक्तिले पनि ठूलो काम गरेको चिकित्सकहरूले बताएका छन् । यद्यपि ढुक्क हुने अवस्था भने अझै नरहेको चिकित्सकहरूको भनाइ छ । मान्छे भनेकै जीवन र मृत्युको दोसाँधमा रहेको प्राणी हो । हरेक मानिसलाई कुनै पनि बेला जे पनि हुनसक्छ ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरूले कम्तिमा ६ महिना र बढीमा एक वर्षसम्म स्वास्थ्य व्यक्तिसरह काममा सक्रिय नहुन सुझाव दिएका छन् । मानिसको जीवनमा ६ महिना वा एक वर्ष भनेको त्यति लामो अवधि होइन, तर प्रधानमन्त्रीका लागि भने यो निकै लामो अवधि हो । प्रधानमनमन्त्री ओलीको कार्यकाल अब पुगनपुग ३ वर्ष बाँकी छ । त्यसमध्ये अन्तिम एक वर्ष त स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन तयारी तथा प्रचार प्रसारमै बित्छ । बाँकी अवधिमध्ये ६ महिनादेखि एक वर्ष स्वास्थ्य व्यक्तिसरह सक्रिय हुन नमिल्ने भएपछि उनीसँग समय कम छ । यो छोटो समयमा गर्नुपर्ने कामको सूची भने निकै लामो छ । त्यसैले उनले अहिलेका भन्दा पनि निकै भरपर्दा सहयोगी तथा साल्लाहकारहरूको टिम बनाउनु जरुरी छ । प्रधानमन्त्री भनेको आम स्वास्थ्य मान्छेहरूभन्दा पनि धेरै सक्रिय हुनु पर्ने पद हो भन्ने कुरामा ओली स्वयं जानकार छन् । स्वास्थ्य अवस्थाले साथ दिँदा सम्म ओली दैनिक १८ घण्टासम्म काममा खट्थे, रात बितेको पत्तै पाउँदैनथे । त्यही सक्रियताले उनको व्याक्तित्व यहाँसम्म आइपुगेको हो । तर, अब करिब एक वर्ष पूर्ववत् सक्रियता सम्भव छैन । प्रधानमन्त्रीका रूपमा उनको विकल्प पनि यतिबेला मुलुकसँग करिब करिब छैन । पाँच वर्ष ओलीले नै सत्ताको वागडोर सम्हाल्ने अपेक्षाका साथ जनताले बामगठबन्धनलाई बहुमत दिलाएका हुन् । त्यसैले प्रधानमन्त्री ओलीले अब अवलम्बन गर्नुपर्ने एउटै विकल्प हो–‘ विश्वासिला, भरपर्दा , इमान्दार र सक्षम सहयोगी एवं सल्लाहकारहरूको चुस्त तथा नया“ टिम तयार गर्नु ।’ अहिलेको टिमले अपेक्षाअनुसार सकारात्मक सन्देश दिन सकिरहेको छैन भन्ने यर्थाथता प्रधानमन्त्री ओलीले बुझ्नै पर्छ ।

प्रतिक्रिया