बहसमा किराँती ललितकला

ललितकलाको विकासमा किराँती सांस्कृतिक सौन्दर्यले के–कस्तो प्रभाव पारेको छ ! यो सवाल, ललितकलाका विधाहरूः चित्र–मूर्ति र वास्तुकलामा सामान्य चर्चा मात्र हैन विशेष अनुसन्धान नै गर्नुपर्ने आजको आवश्यकता हो

। तर, नेपाली लालित्यको मूलधारमा जनजातीय कला–संस्कृतिको विशेष र पूरक भूमिका रहे–भए पनि यसको खोजिनीति खास हुन नसकिरहेको पक्षको ऐतिहासिक पृष्ठ प्रसंगका साथै तत्त–तत्तावस्थाका वस्तुगत विश्लेषण–संश्लेषणसहित प्राथमिक आवश्यकताको आधारमा विशेष सोच तय गर्न त्यसको सैद्धान्तिक तथा रणनैतिक विधि–पद्धति र दीर्घकालिन कार्यक्रमहरू के–कस्तो अपनाउने ! आदि पृष्ठ–प्रसंगको सवालमा केही–चर्चा गर्ने मनसायले नै यो भावनात्मक लेखमा किराँत तथा सौन्दर्यशास्त्रको खास परिभाषा नखोजी सोझै किराँती ललितकलाको प्रसंग÷सेरोफेरोमै केन्द्रित गरिएको छ ।

यो भूमण्डलमा लाखौँ वर्षअघिदेखिको ऐतिहासिक मानव विकास सवाल उठाउँदा नेपाली समाज र कला संस्कृतिको चर्चा पनि विगत ८÷९ हजार वर्षदेखिको सिकारी समाजकै प्रसंग पनि जोड्न सकिन्छ । जुनवेला प्रायः मानव समुदायहरू झुण्ड–झुण्डमा बाँडिएर सिकार–कन्दमूल खोज्दै तथा ओडार र रूखका फेदहुँदी जीवन गुजारा गर्दै, फिरन्ताको रूपमा प्रकृति र अन्य जनावर तथा मानव समूहसँग संघर्षात्मक प्रतिस्पर्धा गर्दै र त्यसैमा समायोजित हुँदै अन्य नयाँ सुविधा तथा सहजताको थप उपाय र प्रगतिको माध्यमिक मूलबाटो रोज्दै निरन्तर बढिरहन्थे । यसैक्रममा किराँती समुदायको सांस्कृतिक जीवन पनि विचरण हुँदै आउँदा उनीहरूको सौन्दर्य–कला पनि क्रमशः परम्पराबाट लोकाधुनिक हुँदै समय सापेक्षमा नवीकरण भइरहेको छ ।

किराँत संस्कृतिमा ललितकला लुङ–परम्परा (वतन÷वस्ती) वा वास्तुकलाको आधारले विश्णेषण गर्दा विशेष सहज हुन सक्ला ! ती कुरालाई पुष्टि गर्न वा–लुङ (हिमाल) देखि सुप्तुलुङ (चुला) सम्मको र माङ–लुङ (मातृप्रधानसत्ता) देखि पा–लुङ (पित्रीप्रधान सत्ता) सम्मको ऐतिहासिक पहिचान भएका खामलुङ (प्राकृतिक÷भौगोलिक किराँत–वस्ती÷जिमीभूमि) र वातुुङ–भाई (वंशज–बासिन्दा) हरूको खीम÷खाम (घर) को प्रचलनहरू पनि कोट्याउनपर्ने हुन्छ ।

यो अर्थमा किराँत सौन्दर्य कोराभावबाट भन्दा वस्तु÷प्रकृति–पर्यावरणको यथार्थबाट लाक्षणिक, बिम्वित र सांकेतित भएको पाइन्छ । यसरी नै अमूर्त सांस्कृतिक सम्पदाको अर्थले पनि सुप्तुलुङ–दर्शन (मुन्धुम) को लोकविधि विज्ञान र संज्ञानमा किराँती ललितकलाका लालित्यको सारआधार विशेष रहेको छ ।

चावालुङ (सगरमाथा) लाई केन्द्रमा सिमा राखेर त्यसैको वरिपरी अहिलेका गुफा, सिकारीथान–देविथान पहिले किराँतीका वासस्थान रहेकोले वास्तुकलामा त्यही वस्तु र तत्वहरूको विम्विकरण भएको छ । त्यसैले किराँतीको सुप्तुलुङका तीन चुलाढुंगाहरू हिमाल र पूर्खाहरूको प्रतिक पनि मानिन्छ जबकि प्रायः अरू समुदायको चुला, भान्सा प्रयोजनार्थ मात्रै हुन्छ ।

यो सन्दर्भमा किराँती घरलाई मूलतः तीन विभागको ४÷४ उपविभागमा बाँडेर सांस्कृतिक सौन्दर्यको व्यवहार र वस्तु–भावोपयोग समेत दुवै गर्ने गरेको बुझिन्छ । जस्तैः काल÷वस्तु÷स्थानगत रूपलेः १)भूत÷चूलामाथि (भार, माक्छ्याम, दिक्छ्याम र बुइगल, २) वर्तमान÷चूलावरिपरी (अगाडि, दायाँ÷डीलभित्र, बाँया÷चौका) र मूलखाम÷संक्रमण केन्द्र र ३) भविष्य÷मूलखामबाहिर (मूलदैलो, जस्केलो, सिकुवा र आँगन) ।

किराँती सौन्दर्यलाई वस्तोपयोग तथा संस्कारिक कार्य प्रयोजनसँगै अलंककारिक रूपमा पनि बुझ्दा नै लालित्यको भाव र शैली पनि अर्थिन्छ । यसार्थः किराँती घर केवल वासस्थान मात्रै नभएर जीवन–पुस्तककै एउटा विम्ब मानिन्छ । जहाँबाट एउटा किराँतीको उत्पत्ति साथै पुस्ता हस्तान्तरण हुने तथा त्यहीबाट सौन्दर्यको सिर्जना पनि भएको मानिन्छ । त्यो नै चुलाघर हो र त्यसको मूलदैलो, जस्केलो र धूरीदुलो (गोप्य झ्याल) त्रि–भूवनयात्रा (तीन संसार) को मार्ग हो ।

जसमा घरको मूलखाम नै सन्तुलन÷समन्वयको सिमा हुन्छ जहाँबाट जीवन र मृत्युको न्याय केलाउने÷बाटो लगाउने पनि गरिन्छ । यही घरको तीन चूलाढुंगाहरू नै भावनात्मक, प्रतिकात्मक र विम्बात्मक किराँती मूर्ति पनि मान्न सकिन्छ । हस्तकलाको रूपमा भने निकै नै किराँती कलाहरू व्यवसायकै आधारले विकास भइआएको छ । त्यसैगरी हालको आधुनिक भिज्युअल आर्ट भनिने कलाको पृष्टप्रसंग (स्टलेसन–पर्फमेन्स आर्ट) पनि किराँती झाँकी कलाहरूमा राम्रै पाइन्छ ।
जहाँसम्म किराँती सभ्यताको ऐतिहासिक कालमा भए÷गरेका र सिर्जिएका ललितकला कृतिहरूको

प्रसंग छ त्यो भनेको राजनैतिक नेतृत्व र इच्छाले गरे÷गराइएका कार्यहरूको कला–नमुना त मान्न सकिन्छ नै तर ती रचनाहरू सत्ता सापेक्षताको नियमिततामा हराउने वा जिउँदो–जाग्दो रहने हुनाका कारणले कतिपय ऐतिहासिक महत्वको कला सम्पदाहरू विनास भएर जाने परम्परासँगै किराँत शासनकालीन कलाकृतिहरू पनि प्रत्यक्ष अस्तित्वमा नरहेको तथा पछिल्ला पुस्ताका अन्य सत्ता र शक्तिशाली समुदाय वा सम्प्रदायहरूले समयसन्धर्वमा आफूकरण गरी कलामा पनि प्रभुत्व जमाएको सवाल किराँतकालीन कलाको हकमा पनि पाइन्छ नै ।

ती कारणले पनि हुनसक्छ किराँती शासनकालका भनिएका केही मूर्तिहरू बाहेक अन्य विधाका रचनाहरू खास भेटिएको छैन । चित्रकलाको हकमा पनि अहिले नेवारी कलाको रूपमा देखिएको मण्डला–पौभाकला÷तिब्बतीयन थाङ्का कलाको गुरूशैली र थारू÷धिमाल लोककला भनिने शैलीहरू, त्यस्तैः विन्दु, तीन, छ÷आठ÷बारकुने आकारहरू तथा विशेष गरी रातो र हरियो रंङ नै किराँती कलाका नव वंशजहरू हुनसक्ने केही सारपूर्ण तर्क गर्न सकिए पनि यसमा खास अध्ययन भएको छैन ।

त्यसरी नै नेपालको मध्यकालीन राजनैतिक इतिहासमा देखिएका किराँत शासकहरूका गढी, किल्ला, थुम र त्यहाँका दरबारहरूको भग्नावेश वास्तुकलाको रूपमा हेर्दा र पूर्वशताब्दीतिरका प्रज्ञा पारमिता (परम्परागत चित्र) मा देखिने आठकुने आकारको रेखाहरूको समान सारत्वले पनि एकखाले तार्किक नवसोच देखाउँदछ की किराँती कलाशैलीको स्थापना सँगसँगै त्यसलाई अन्यकरण गर्दै आएको नै छ भन्ने मान्न सकिने प्रशस्त आधार पाइन्छ । तर, यसबारे पनि ठोस र विशेष तथ्यसहित प्रमाणित गर्न सकिएको छैन ।

यी माथिका ऐतिहासिक सवालको पृष्ठभूमिमा किराँत ललितकलाको हालको मूल समस्या भनेको नेपाली संस्कृतिलाई सबै समुदाय, तह र तप्काका वर्ग, वर्ण र नश्लीय तथा क्षेत्रीय पक्षहरूको समावेसी सहभागिता र पहुँचताको मूलधार बनाई विश्वमानव संस्कृतिको रंगमञ्चमा गर्भ साथ उभिनु हो । तर आ–आफ्ना पहिचान र मौलिकतासहितको स्वअस्तित्व नबनाई, नखोजी र नदेखाई सामूहिक तथा सार्वजनिक पहुँचतामा आफूलाई पु¥याउन र विशेष हैसियत साथ मानवाधिकार दावा गर्न नसकिने हुन्छ । यही सवाललाई केन्द्रिभूत गरी किराँती सौन्दय शास्त्र र ललितकलाको समसामयिक चर्चा उठिरहेको छ ।

किराँत समुदाय र संस्कृतिका विभिन्न धार र सम्प्रदायले अपनाउने विचार र आचारका फरक–फरक दृष्टिकोण र दर्शनका कारण पनि किराँती सौन्दर्य र कलाको स्थापित हुनसक्ने विशेष परिभाषा अल्मलिएको पाइन्छ । त्यस्तै, अर्कातिर मूलकिराँती ( राई–लिम्बू, याक्खा र सुनुवार) भनिएकाहरूको कला–सिर्जना; त्यो पनि प्राविधिक अर्थले रचना गरिएका वस्तु–अनुकरणीय कलाकृतिको आधारमा के–कस्तो, कसरी र कत्तिको मापदण्ड राख्ने भन्ने सवाल पनि उठ्दछ ।

जस्तोः नेपाली कलाकारले बनाएकाले नै नेपाली कला भयो भने जसरी किराँती कलाकारले बनाएकाले… भन्ने गरियो भने त्यो न्यायसंगत हुँदैन त्यसैगरी किराँतीको विषयवस्तु (कोरारूपमा) उठाएको मान्यताले मात्रै पनि लालित्यको अर्थ राख्दैन । किराँती मानकीय विम्वविधान र दृष्टि–दर्शन जुन रचनामा हुन्छ त्यो नै किराँती कला हो भन्ने मान्यता र मापन राख्ने हो भने जुनसुकै जातिले बनाए पनि त्यो किराँतीपन र शैलीको कला बन्छ भनेर मान्नुपर्दछ ।

अव रह्यो कुरा, सौन्दर्य–दर्शन र शैलीको । किराँत सौन्दर्य वा ललितकला भनेर वादैको रूपमा स्थापित बनिसकेको अवस्था भने हैन । त्यसरी नै दार्शनिक रूपमा मुन्धुमी भने पनि यसमा विशेषीकरण साथ कलाको खास परिभाषासहित सामान्यीकरण गरिएको पाइन्न ।

तर पनि किराँत समुदायको प्रचलन–परम्परा र हालका छलफल र चर्चाहरूले (डिस्कोर्स) नयाँ उत्साह र तयारी भने हुँदै गरेको छ (किराँत कलाकार समाजको केही वर्षअघिको दुई जमर्को, चित्रकला प्रदर्शनी पनि) । अव, आगामी किराँती कलायात्रा प्रगतिमा अगाडि बढ्दै जान सौन्दर्य÷कलागत विशेष विधाको संस्थागत संरचना गठन र अन्य तयारी तथा सांगठनिक विधिविधानको विशेष कार्यक्रमिक मूलकार्ययोजना बन्नुपर्ने अनिवार्य सर्त देखिन्छ ।

त्यस्ता कार्यक्रमिक योजनाको नीति–नियम र विधि÷विधानमा कला–सिर्जना विशेषको आधारमा नै कला सर्जकलाई संगठित र सम्बोधित भए मात्रै कलाको मौलिकता र विशेषतामा दीगोपन, भरपर्दो साथै स्थायित्व र न्यायिकता हुन सक्दछ भन्ने मान्यता स्थापित हुनपर्ने देखिन्छ, नकी जन्म–नश्ल वा किराँतीले रचना गरेको भन्ने अर्थमै स्वतहः किराँती कला मानिनु ठिक हो ।

युगानुकूलका वस्तुगत तथा घट्ना विशेष अनुभव–अनुभूतिको संश्लेषित बिम्व, लक्षण र संकेतको समसामयिक, परिमार्जित र परिष्कृत अभिव्यक्ति दिने सकिने सांस्कृतिक पर्यावरण र राजनैतिक अवसर तथा मौलिक कर्तव्य र हकाधिकारसहितको प्रोत्साहित कला जागरणपूर्ण सामाजिक वातावरणमा सबैको तालमेल, साझा वा सहअस्तित्वको समावेसी तथा सहभागितामूलक सिर्जना–खेल, आजको अति आवश्यक तालमेल हो जसले किराँती ललितकलालाई बढाउँदै–हुर्काउँदै सौन्दर्यको आकाशमा फैलाउँदै घुमाउँछ । सेवा !

 

प्रतिक्रिया