१५ वर्षपछिको मेरो शैलुङ यात्रा !

यात्रास्मृति

शैलुङ समुन्द्र्री सतहबाट करिब ३ हजार ४०० मिटर अग्लो स्थानमा रहेको दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित छ । शैलुङ डाँडा प्रकृतिले सुन्दरस्थलको रूपमा मात्र नभएर धार्मिकस्थलको रूपमा उतिकै परिचित छ । यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेलाजस्ता चाडमा दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ । शैलुङ डाँडा सयभन्दा बढी अग्ला र होचा हेर्नलायक मनमोहक थुम्काथुम्की डाँडाहरू जोडिएर बनेको छ । यहाँबाट गौरीशंकर हिमाललाई प्रष्ट देख्न पाइन्छ । त्यसैले होला बिहानको पहिलो घामले सधैँ पहिला शैलुङलाई टल्काउँछ अनि पारी चाँदीझैँ रहेका अरू हिमशिखरहरूलाई

शैलुङबारे केही न केही यही लोकमा पाइन्छ । केही चर्चित गीतहरू अझै सदावहार छन् । जस्तै, ‘माथी माथी शैलुङ्गेमा’ कुन्ती मोक्तानदेखि पछिल्लो चर्चामा रहेको विश्व दोङको भिडियो ‘शैलुङे ज्यान च्याङ्बा’सम्म आइपुग्दा शैलुङको कुनै न कुनै रूपमा चर्चा भइरहेकै छ । शैलुङ शब्द सुन्नासाथ मनमा एक किसिमको भाव आइहाल्छ । शैलुङको नाम सुन्नासाथ मलाई भने मेरो बालापनको त्यो यात्रा र मेरो जिद्दीपन स्मृतिमा आइदिन्छ । गौरीशंकर च्छोरोल्पा मिडिया प्रालिका सञ्चालक गीतकार प्रविणप्रसाद थपलिया दाइको एक फोनले मेरो स्मृतिको ढोका खोलिदियो । प्रविण दाइले एकाएक गाउँमा हुन लागेको पूजाका लागि निमन्त्रणा दिनुभयो । शैलुङ नाम सुन्नासाथ मभित्र एककिसिमको तरंग उत्पन्न हुन थालेको थियो । मलाई फेरि ती थुम्काहरू, मनमोहक दृश्य र पहाडी बाटो स्मृतिमा आउन थालेको छ ।

काभ्रेपलान्चोक तेमाल गाउँपालिका सस्र्यूखर्क–१ मा जन्मिएको म १३ वर्षको थिएँ । ६५ सालमा सात कक्षामा पढ्दै थिएँ । गाउँमा शैलुङ जाने हल्ला फैलिएको थियो । शैलुङ जाने भनेपछि मेरो बालमस्तिष्कमा पनि जाने लालसा बढ्दो थियो । आफू पनि यो यात्रामा जान पाएँ भनेर योजना हठात बन्न थाल्यो । आफ्नो मनमा उब्जेको चाहनालाई घरमा सुनाएँ । मलाई बाआमाले अनुमति दिनुहुन्छ भन्ने लागेको थियो । तर, बाआमाको एउटै बोली हुन्थ्यो, ‘लामो बाटो हिँड्न सक्दैनौँ । अहिले सानै छौँ, नजाऊ ।’

घरमा बाआमाले मान्नु भएन । म हिँड्न सक्तिनँ भनेर बारम्बार मेरो आग्रहलाई अस्वीकार गरिरहनुभयो । यात्रा नजिकिँदै गर्दा आमाले भन्नुभयो, ‘जान त जा । गाह्रो भयो, हिँड्न सकिनँ भन्ने र जथाभावी दौडिन पाइँदैन ।’ अन्ततः मेरो जिद्दीपनको अगाडि बाआमाको केही लागेन । गाउँको विश्वासिलो मान्छेको जिम्मामा मलाई यात्रामा जान अनुमति प्रदान गरियो ।

फागुनको एकबिहान २ बजे हाम्रो यात्रा सुरु भयो । गाउँका मानिसहरू उठेर हल्ला गरेको आवाजले अब हिँड्ने तयारी भइसक्यो भन्ने प्रष्ट बुझिन्थ्यो । अघिल्लो दिन नै धोएको कपडा लगाएँ र खोस्टा चप्पल भर्खर–भर्खर चलनमा आएको थियो त्यही लगाएँ । छिमेकीसँग म हिँड्न तयार थिएँ । बाआमासँग बिदा भएर म निस्किएँ । मटितेल हालेर बाल्ने पुल्ठो बोकेर झर्दै गरेको हल्ला सुनियो । त्यही हल्लाको पछिपछि हामी पनि लाग्यौँ । सम्झना दिदी, सानीआमालगायत मेरै उमेरका अरू पनि यात्रामा थियौँ । साँच्चै भन्ने हो भने मभित्र उत्साह र उमंगले रोमाञ्चक भरिरहेको थियो । त्यसैले ठूला मान्छेहरूसरह म पनि हिँडिरहेको थिएँ । हामी बिहानै खहरेघाटको सुनकोसीको किनारमा पुगिसकेका थियौँ । त्यतिबेला सुनकोसीमा तुइन थियो । तुइनमा झुण्डिदै कोसी तर्नुपथ्र्याे । हामीले त्यसै गर्यौँ ।

कोसीपारिको उकालोको यात्रा सुरु भयो । बिर्ता देउरालीको उकालो सबै उक्लिन थाले । छेडाबाट निस्कँदै गर्दा हामी एउटै उमेरकाहरू ठूलालाई पछ्याइरहेका हुन्थ्यौँ । ठूलाहरू अघिअघि हामी पछिपछि । चर्काे घाममा पनि निरन्तर हिँडिरहनु एककिसिमले कष्टकर नै थियो । तैपनि हामी हिँडिरहेकै थियौँ । किनकि यो हाम्रो रहरको यात्रा थियो ।

चर्काे घाममा चौरीखोलाको आधा भाँचिएको काठे पुल तर्नुपर्दा सबै डराएका थियौँ । बल्लतल्ल पुल तरेर हामी पुढिङग्याङको नाक ठोक्किने उकालो उक्लियौँ । विभिन्न थुम्का, डाँडाहरू उक्लिँदा घरि रमाइलो लाग्थ्यो त घरि थकाई । तैपनि हामी हिँडिरह्यौँ । पानी कतै पाइन्थ्यो त कतै पानीको सुक्खा । घण्टौँ सुक्खा बाटो पनि हिँड्नुपथ्यो । बेलाबेलामा पानी पधँेरो भेटिँदा सबै हर्षित हुन्थे । जुनेलो, भटमास, सेलरोटी, तरकारी, दही, चिउरा लगायतका खानेकुरा गाउँलेहरूले बोकेर लगेका थिए । मैले पनि आमाले राखिदिनुभएको तरकारी, पिँडालुको अचार, मकै–भटमास बोकेको थिएँ ।

बेलाबेलामा बिसाएको ठाउँमा त्यही झिकेर खान्थ्यौँ । अझ भनौँ जहाँ पानी भेटिन्थ्यो त्यही सबैजनाको डेरा जम्थ्यो खानका लागि । आफूआफूले बोकेर ल्याएको खानेकुरा बाँडेर खान्थ्यौँ । गाउँमा भन्दा यहाँ सबै एकआपसमा मिलेको देखिन्थे । बाँडेर खाएको, बाटोमा हिँड्दा गफिँदै गरेको देख्दा लाग्थ्यो गाउँलेहरूमा धेरै नै मिलेमतो हुँदो रहेछ । बाटोमा धेरैले धेरैथरी कुराहरू सुनाए । अझ हामी केटाकेटीहरूका लागि सुनाइएको कथाहरूमध्ये त माओवादी युद्धको कथा डरलाग्दो थियो ।

लाकुरे भञ्ज्याङको तेर्साे हिँडेपछि झण्डै रातको ९ बजे हामी गीत र भजन गाउँदै शैलुङमुनि पुग्यौँ । बाटोभरि अब आइपुग्यो भन्दै हिँडाउँदै हामीलाई अझैँ हिँड्नुपर्ने जानकारी दिइरहेका हुन्थे ।

रातभर शैलुङमा बत्ती बालेर ननिदाई भोलिपल्ट बिहानको ३ बजे बत्ती सेलाएर हामी फर्कियौँ । गौरीशंकर च्छोरोल्पा मिडिया प्रालिका सञ्चालक प्रविणप्रसाद थपलिया दाइले अचानक फोन गरेर निम्दो दिनु भएपछि म पुराना दिनहरूमा हराएँ । मलाई मेरो बालापनको स्मृतिमा फर्काइदियो ।

यसपटक भने मेरो यात्रा बनेपाबाट सुरु हुने भयो । १५ वर्षपछि उही ठाउँ हेर्न जाने मौकाले म गदगद थिएँ । मभित्र एककिसिमको रमाइलो अनुभूतिले छोइरहेको थियो । म ती पुराना दिनहरूलाई सम्झिँदै त्यहाँ भएको परिवर्तनहरूको कल्पना गरिरहेको थिएँ । मैले छोएका बुट्यानहरू, ओत लागेका वरपीपलका रुखहरू छन् होला र ? प्रश्नहरू यस्तैयस्तै उब्जिरहेका थिए । मेरा जिज्ञासाको हल अब त्यही पुगेर हुनेवाला थियो ।

२०८० चैत २३ को एकबिहान ९ः४७ बजे बनेपालाई बिदाइ गर्दै हामी यात्रामा निस्कियौँ । बनेपा कटेको केहीबेरमै धुलिखेलदेखि पाँचखालसम्मको बन्दै गरेको धुलाम्य बाटोले हामीलाई जिस्काएर स्वागत गर्यो । यहाँ भइरहेको विकासको एक चित्र छर्लंग थियो । के यही हो हाम्रो देशको विकासको गति ? यहाँ पुगेपछि यस्तै लाग्छ जोकोहीलाई । देशभर विकासको नमुना यस्तै छ ।

मुडे पुगेपछि माहोल एकाएक परिवर्तन भयो । दुई दर्जनजति पञ्चेबाजा सहितको टोली यहाँ थपिन्छन् । यो टोलीलाई देखेर हाम्रो संस्कृति र कलाको महत्त्वलाई सम्झन मन लाग्छ । यस्तै संस्कृतिले त नेपाल बलियो छ । नत्र त विकासका नाममा यहाँ के नै छ र ? लेकतिर लागेर होला चिसो बढ्दैछ । बनेपा, पाँचखाल र दोलालघाटको गर्मीलाई बिर्साउँदै चिसोले मन शीतल हुँदै छ । यो शीतलतामा मभित्रचाहिँ उही जिज्ञासाहरू बेलाबेला चिहाइरहन्छन् । बेलाबेला मेरो १५ वर्षअघिको यात्रा मगजमा घुमिरहन्छ ।

बस ३ः३० बजे गन्तव्यमा पुग्यो । हामी पूजाको घर पुग्दा त्यहाँ अग्रज नाटककार, साहित्यकार दाजुहरू मदनदास श्रेष्ठ र राधेश्याम पुगिसक्नुभएको रहेछ । दाइ रुद्र थपलिया, भाउजू सानु थपलिया र बालकलाकार छोरी रञ्जना थपलियाले हामीलाई स्वागत गर्नुभयो । पूजा हुँदैरहेछ । हुँदै गरेको पूजामा हामी सरिक भयौँ । रुद्र दाइको घरमा लगाइएको पूजामा सहभागी हुने मौका भाग्यमा जुरेको रहेछ । पूजा सकिएपछि रुद्र दाइको हातबाट प्रसाद ग्रहण गर्यौँ । बार्दलीमा बसेर प्रसाद ग्रहणको बेग्लै रौनकता छाएको थियो त्यहाँ । अझै रौनकता त त्यतिबेला थपियो जतिबेला भजनकीर्तनको सुरुआत हुन्छ । गीतसंगीतको माहोल तात्छ । हामी प्रविण बिष्ट दाइसँगै कुर्सीमा कलाकारहरू नरहरि प्रेमी, नवीन पौडेल, भरत भट्ट, गीता भट्टराई, दिनेश डाँगी सहभागी भएको त्यो साँझको सांगीतिक माहोलमा झुम्यौँ ।

चैतको महिना भए पनि रात चिसै थियो । आगो ताप्दै संगीतको माहोल चलिनै रह्यो रातको ११ बजेसम्म । ११ बजेपछिचाहिँ हामी सबैलाई निद्राले च्याप्न थालेको थियो । उसै त थाकेको ज्यान त्यहीमाथि रातको ११ बजिसकेकोले अब सुत्नुपर्छ भन्ने लागेर सबै सुत्न गयौँ । कालापानीस्थित गोपाल थपलिया दाइको नयाँ होटलसम्म भाइ नविन थपलियाले पुर्याइदिए । रातको अन्धकारमा पनि भाइले उकालो बाटो अल्छी र झिजो नमानी गफको सुरमा पुर्याइदिएका थिए । गोपाल दाइको होटलमा पुग्नासाथ सबैजना निद्रादेवीको काखमा हराए ।

भोलिपल्ट बिहानै पूजाघरमा गाउँलेहरू र हामी उपस्थित भयौँ । फूलपाती सेलाउन पुरै शैलुङका देवीदेवताहरूकोमा पूजा गर्दै कतै पनि पूजासामग्री नबिसाई पञ्चेबाजाको तालमा चार घण्टा हिँडेपछि मात्रै फूलपाती सेलाउने चलन रहेछ । यो अनौठो चलनसँग साक्षात्कार हुन पाउँदा पनि हर्षित थिएँ । पूजामा सरिक हुन पाउँदा झनै आनन्दित हुने मन यो मौकाले प्रफुल्लित थियो ।

१५ वर्षपछि शैलुङ पुग्दा मभित्र अनौठो रोमाञ्चकताले भरिएको अनुभूति भइरहेको थियो । अहिले आउँदा मेरो यो यात्राको विभिन्न तस्बिर र भिडियो सामग्री भाइ प्रकाश थपलियाले क्यामेरामा कैद गरिरहेका थिए । म उहिले यहाँ आउँदा हिँडेको गोरेटो, उक्लेको बाटो अनि थकाइ मारेको बिसौनीहरू खोज्न थालेँ । अहिले त मोटरबाटो भइसकेछ । बाटाहरू बिलाइसकेछन् त कतै सिँढी बनेका रहेछन् । जंगलका पुराना बाटाहरू भने अझै रहेछन् । केही मेटिएजस्ता, वर्षौंदेखि कसैका पाइला कुरेर बसेजस्ता । बाटाहरू घाँस र झाँडीले छोपेर दिउँसै अन्धकार देखिने । ती बाटाहरूमा म आफ्नो १५ वर्ष अघिको पाइला छाम्छु ।

प्रविण थपलिया दाइको घर नियाल्न खोज्दै थिएँ । दाइको घर अलि तल रहेछ । रुद्र दाइले भन्नुभयो, ‘भाइ, यहाँ पोहोटी गाउँमा थपलिया बन्धुहरूको बाक्लो बस्ती छ ।’ यो खबरले झनै मलाई आफ्नो परिवार जताततै रहेकोमा गर्व महसुस भयो ठानँे सीमितताभित्र पनि असीमितता हुँदो रहेछ ।

शैलुङकै नामबाट गाउँपालिका बनेको रहेछ । गाउँपालिकाले केही भौतिक संरचनाहरू टावर, गोलघर, केही बाटो, मन्दिर बनाएको रहेछ । बजार व्यवस्थित बनाउन कोसिस भइरहेको रहेछ । संघीय सरकारको सहयोगमा मिनी ग्रेटवालसमेत बनेको रहेछ । मिनी गे्रटवालले एउटा छुट्टै शान बढाएको भान भयो । गाउँमा यतिबेला आलुबारी हरियाली देखिन्छ । स्थानीय भन्छन्, ‘पहिला यस्तो जातको आलुको बिउ यहाँ थिएन । यहाँ सिमी, गेडागुडी, मकैबाहेक अरू बाली लगाउन सकिन्नथ्यो । अहिले काउली, बन्दा, गाजर, मटरकोसा लगायतका तरकारी बालीहरू फस्टाएका छन् । यहाँको उत्पादनले बजार राम्रै पाएको छ ।’

छोरी रञ्जना उमेरले सानी भए पनि उनको सोच देखेर म दंग परेँ । डान्सिङ च्याम्पियनसम्म पुगेकी उनले भनिन्, ‘शैलुङ डाँडा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय धार्मिक पर्यटकीय स्थलको रूपमा परिचित छ । यसलाई कसरी विश्वभर चिनाउने ? यस ठाउँमा कसरी आन्तरिक र बाह्य पर्यटक र तीर्थालुहरूलाई बढी भित्र्याउन सकिन्छ ? यसबारे पालिका र राज्यले सोच्नुपर्ने बताइन् । भन्छिन्, ‘मेरो कला यस माटोमा उब्जेको एउटा बिरुवा हो । मेरो कलाकारितामा म निरन्तर प्रतिबद्ध भएर लाग्नेछु ।’ उनका यस्ता कुराले उनी उमेरलेभन्दा पनि जिम्मेवारी र पारिवारिक र सामाजिक रूपमा कति परिपक्व छिन् भन्ने कुरा प्रमाणित गर्छ ।

यो ठाउँ समुन्द्र्री सतहबाट करिब ३ हजार ४०० मिटर अग्लो स्थानमा रहेको दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित छ । शैलुङ डाँडा प्रकृतिले सुन्दरस्थलको रूपमा मात्र नभएर धार्मिकस्थलको रूपमा उतिकै परिचित छ । यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेलाजस्ता चाडमा दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ । शैलुङ डाँडा सयभन्दा बढी अग्ला र होचा हेर्नलायक मनमोहक थुम्काथुम्की डाँडाहरू जोडिएर बनेको छ । यहाँबाट गौरीशंकर हिमाललाई प्रष्ट देख्न पाइन्छ । त्यसैले होला बिहानको पहिलो घामले सधँै पहिला शैलुङलाई टल्काउँछ अनि पारी चाँदीझैँ रहेका अरू हिमशिखरहरूलाई ।

शैलुङ पुगेपछि यी ठाउँहरू हेर्न जानैपर्ने रहेछ । शैलुङका सैयौं थुम्काहरूबाट आउने बेग्लाबेग्लै अनुभूति लिन नवनिर्मित शैलुङ ग्रेटवाल हाइकिङ, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यहरू, शैलुङेश्वर महादेव, चरणावतीधाम, फलाम पोखरी, सीता चूलो, राम पाइला, बौद्ध छ्योर्तेन, मुक्तेश्वर पत्थर, भीमानीथान, जुरेढुंगा महादेव, ढाड खोस्याउने ठाउँ, गाई ढुंगा, घुँडा दुख्दा दल्ने ढुंगा, बाघ ढुंगा, गँगटो ढुंगा, जोर धारा, बाघखोर, धर्मद्वार, गोदावरी फूल्ने ठाउँ, दाइँगर्ने डाँडा, टावर, भीमसेनको तरबारजस्ता यावत ठाउँहरूमा हामीले अवलोकन गर्यौँ । माथि डाँडाहरू घुम्दैगर्दा थकानमा घोडासँग साथी बनेर सेल्फी लिएपछि उसले पनि केहीछिन् मलाई आफ्नो पिठ्युमा सवार गराउन राजी भयो । यो मेरो पहिलो अनुभूति थियो घोडसवारीको । जुन अविस्मरणीय थियो जसलाई म कदापी भुल्न सक्दिनँ ।

मलाई शैलुङ जान प्रस्ताव गर्नुहुने प्रविणप्रसाद थपलिया दाइसँग मेरो चिनजान करिब १२ वर्षअघि भएको थियो । दाइको स्थायी घर दोलखा हो भन्ने थाहा थियो । तर, शैलुङ भएकै वडामा पर्छ भन्ने थाहा थिएन । यो पटकको निमन्त्रणालाई स्वीकारेर मैले राम्रो अवसर पाएँको अनुभूत गरेँ । शैलुङको यात्रा, यहाँको बन्धुहरूसँगको चिनजान मेरालागि निकै फलदायी भयो ।

मेरो आफ्नै १५ वर्षपछिको यात्रा अनुभूतिले मलाई शैलुङको महत्त्व बुझ्ने मौका मिल्यो । त्यसैले तपाईंहरूको लागि एकपटक पुग्नैपर्ने ठाउँ शैलुङको यात्रा गर्न अपिल गर्दछु । यसमा म बालापनमा आफ्नो हठले अहिले युवामा संयोग जुरेको रहर र पछि त पुनः पक्कै कुनै न कुनै रूपमा फर्कनेछु । तर, फर्किन कसैले पर्खर्नुपर्ने रहेछ । स्मृतिको ताजापन गराउने ती विगत समयले त पर्खन पक्कै नसक्ला तर ती माथी–माथी लेकका थुम्काहरू, पारी सुकिला गौरीशंकर, हिउँ पर्ने यामका सेता भुवाजस्तै हिउँहरू, अनि यी लेकमुनिका ढकमक्क फूलेका लाली गुँरासका थरि–थरि रङका परिवारहरू, कोपलहरूको सुगन्धित सुवास, अनि चिसो हावाले फुरुंग पार्ने त्यो अन्तरहृदयको ढोकादेखि चोटा–कोठासम्म भरिएका मेरा अनुभूतले त पक्कै कुर्ला अनि म फिर्नेछु प्रिय पाठक तपाईंसँगै पनि !

प्रतिक्रिया