मान्छेभन्दा बाठा वन्यजन्तु !

काठमाडौं । वन्यजन्तुले परबल (तरकारी खेती) खाएर, उखेलेर, उधिनेर हैरान पारेपछि महोत्तरीको बर्दिवास–८ का वासुदेव साहले खेतमा बुख्याँचा (मुर्कट, झिलिंगो, धुँआ) बनाए । मान्छेजस्तै लौरो टेकेर खेतबारीको बीचमा उभिएको देखेपछि केही दिन घोडगधा (नीलगाई), बँदेलले बाली नोक्सान गरेनन् । खेतमै अग्लो टाँड हालेर सुत्ने गरेका साहले भने, ‘घोडगधा आयो, के गर्दोरहेछ भनेर सुतीसुती हेरिरहेँ । कान ठाडो पारेर हेर्यो, फक्र्यो ।’ अब नोक्सान गर्दैन भनेर ढुक्क भएर घरै सुत्न थालेका उनी ३ दिनपछि बिहान हेर्न जाँदा झन् बढी नोक्सान गरेको बताउँछन् ।

त्यसपछि उनले अर्को उपाय अपनाए । त्यस्तो बुख्याँचाको हातमा बियरका बोतलको पिँध फुटाएर झुन्ड्याए । त्यसमा घन्टीको रालोजस्तो फलामको पातलो टुक्रा हाले । रालामा लामो डोरी बाँधे र खेतको विभिन्न ठाउँमा छरेर राखे । वन्यजन्तुले बाली खान आउँदा डोरीमा अल्झियोस् र बुख्याँचाको हातमा भएको बियरको बोतलको रालो हल्लिएर घन्टीजस्तो बज्दा वन्यजन्तु भागोस् । तर, यस्तो उपाय पनि १ महिनाजति मात्र काम लागेको उनको अनुभव छ ।
बर्दिवास–१० का किसान मनिष समालको पनि यस्तै अनुभव छ । बुख्याँचा, बुख्याचाको हातमा घन्टी बज्ने बनाउँदा पनि केही सीप नचलेपछि उनले डिजिटल उपाय निकाले । मोबाइलमा मान्छे खित्का छोडीछोडी हाँसेको आवाज भरे । र, त्यसमा स्पिकर जोडेर खेतको आलीमा राखे । उनी भन्छन्, ‘यो उपायले एक सिजनको चनालाई वन्यजन्तुबाट जोगायो, पछि काम लागेन । यो हाँस्ने मान्छे होइन भन्ने थाहा पाएछ, अनि अर्को बाली भुसुक्कै पार्यो ।’

समालकै सिको गरेर कतिपयले मोबाइलमा स्पिकर जोडेर गीत बजाएर आलीमा राख्ने काम गरे । ती सबै उपाय केही दिनलाई मात्र भएको समाल बताउँछन् । अहिले महोत्तरीका कतिपय किसानले खेतसम्म बिजुली पुर्याएर घुम्ने बल्ब राख्न थालेका छन् । भिलिक्क बल्दै, निभ्दै गरेर घुम्ने बल्ब बजारमा आएको छ । सो बल्बलाई बालीको बीचमा अग्लो बाँसमा झुन्ड्याएर राख्ने गरिएको छ । यो बल्ब चारैतिर घुम्दै बल्दै–निभ्दै गर्ने भएकाले वन्यजन्तुलाई मान्छे भएको आभास दिने गर्छ । घरको बल्बजस्तो निरन्तर बलिरहनेलाई भने वन्यजन्तुले नटेरेको बर्दिवास–७ का भजन महतो बताउँछन् ।

भनिन्छ– सुरक्षा गर्नेभन्दा चोर्ने जहिल्यै एक कदम अगाडि हुन्छ । त्यस्तै बाली जोगाउन अनेक उपाय अपनाउने किसानभन्दा बाली खाएर पेट भर्ने वन्यजन्तु एक कदम अगाडि देखिएका छन् । बर्दिवास–८ कै मित्र सुसलिङ भन्छन्, ‘आबुई ! मान्छेभन्दा कति बाठा छन् यी घोडगधा ।’ वन्यजन्तुले हैरान पारेर बाली घर भित्र्याउन नदिएपछि किसानहरू वैकल्पिक उपाय सोच्न थालेका छन् । उनीहरूले अब घोडगधा र बँदेलले नोक्सान नगर्ने बालीप्रति आकर्षित हुन थालेका छन् । गहुँजस्ता बालीलाई यी वन्यजन्तुले नोक्सान नगर्ने किसान बताउँछन् । खान खोज्दा गहुँको टुँडोले मुख, आँखा घोच्ने हुँदा वन्यजन्तुले छुँदैन ।

महोत्तरी र सर्लाही जिल्लाको पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणको जंगल सागरनाथ वन विकास परियोजनाको क्षेत्रमा पर्छ । यहाँ रहेका पुराना साललगायत प्राकृतिक जंगललाई मासेर २०३६ पछि सागरनाथ वन विकास विकास परियोजनाले मसला (भिक्स) लगायो । यसरी प्राकृतिक वन मासेर कृत्रिम वनका रूपमा छिटो आम्दानी दिने भन्दै मसला, टिक, सिसौलगायतका बिरुवा रोपियो ।
सुरक्षाको प्रबन्ध नहुँदा यो कृत्रिम वन तस्करले उजाड बनाए । अझ मसलाका रूखका मुनि झार पनि नउम्रिने भएकाले जंगलमा अन्य बिरुवा त के वनमारा पनि पाइँदैन । यसरी वनमा खान नपाएपछि वन्यजन्तु गाउँ पस्दा किसान हैरान भएका हुन् ।

वन छेउछाउका गाउँबस्तीमा बाँदर आतंक, अलि टाढातिर बँदेल वा घोडगधा आतंकले किसानले बाली जोगाउन सकेका छैनन् । वन क्षेत्रलाई तारबारले घेरे मात्र पनि बाँदरबाहेकका वन्यजन्तुबाट केही मात्रामा भए पनि बालीनाली जोगाउन सकिने किसानहरूको भनाइ छ । देशैभर वन्यजन्तुले किसानहरूलाई हैरान पारेर कृषि पेसाप्रति नै वितृष्णा जोगाउँदासमेत सरकार भने बेखबरजस्तै बनेको छ ।

प्रतिक्रिया