विकल्पहीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाले जब जब गति लिन थाल्छ, यसका विरोधीहरू नयाँ नयाँ स्वरूपमा प्रकट हुन्छन् । अहिले उनीहरू सर्वोच्च अदालतको आडमा अन्तरकालीन आदेशसहित यसको विरोधमा प्रकट भएका छन् । वातावरण, रूख–बिरूवा, अनि उपयुक्त स्थान लगायत कुनै पनि बहानाले उनीहरू सफल हुन सकेनन् ।

अब उनीहरू सर्वोच्च अदालतको आडमा निजगढ विमानस्थल निर्माण कार्यमा अवरोध बनेर आई लागेका छन् । हामीलाई विश्वास छ, सर्वोच्च अदालतले अन्तरकालीन आदेशसहित यो देश विकाशको विपक्षमा रहेको आत्मघाती रिट खारेज गर्नेछ र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मार्ग प्रसस्त गर्नेछ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कुनै समस्या नरहेको प्रष्ट छ ।

१, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशका विभीन्न आठभन्दा बढी सम्भाव्य स्थानहरूको प्रारम्भिक अध्ययनपछि छनोट गरिएको सबभन्दा उपयुक्त र प्राविधिक रूपले समेत सवभन्दा सम्भव स्थान हो । विमानस्थलको लागि तोकिएको ठाउँमा कडा भू–बनोट छ । महाभारत पहाडबाट ३५ किमी र चुरे पहाडबाट १२ किमी दूरीमा छ । पूर्व–पश्चिम रनवे बनाउदा जुन सुकै वेला जुन सुकै अवस्थामा प्लेन उड्न र अवतरण गर्न सक्छ । यो विमानस्थल काठमाडांैबाट जम्मा ७५ किमी दुरीमा हुनेछ ।

दक्षिणमा रहेको अन्तर्राष्ट्रिय सिमाबाट समेत ३० किमी दुरीमा छ, निजगढ विमानस्थल । यो दुरी आफ्नै देशको भूभागबाट हवाई उडान गर्नको लागि उपयुक्त दुरी हो । यस्तो सुन्दर लोकेशन हाम्रो तराईमा निजगढ मात्र हो । यसको लागि २०५२ मा प्रारम्भीक सर्वेक्षण गरी ०६६ मा कोरियन कम्पनी बाट डिपीआर सम्पन्न भइसकेको हो । ०७१ साल नेपाल सरकारले चार किल्ला तोकी उक्त जमिन नेपाल सरकार नागरिक उड्डयन प्राधिकरण, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको नाममा ल्याई सकेको छ ।

२, सहर या बस्तीभन्दा अली पर छ । मुआब्जाका दृष्टिले तुलनात्मक रूपले सस्तो छ । पूर्व–पश्चिम हाइवेसँग जोडिएको छ । काठमाडांै निजगढ फास्ट(ट्र्याकसँग जोडिएको छ । विरगञ्ज विशेष आर्थिक क्षेत्र र सुक्खा बन्दरगाहसँग नजिक पर्दछ । यो निजगढ विमानस्थल क्षेत्र । यो क्षेत्रमा सरकारले अहिलेसम्म तीन अर्ब खर्च गरी सकेको छ । वरिपरि तरबार गरी वरिपरि पहुँच मार्ग कार्यालय र त्यसका लागि जरुरी डिजाइनसमेत गरिसकेको अवस्था छ । यसको वातावरणीय प्रभाव मूल्यांकनसमेत सम्पन्न गरी सकिएको छ । अब त यो विमानस्थल निर्माणको चरणमा प्रवेश गरी सकेको छ ।

३. यो स्थानमा भविष्यमा विमानस्थलको आवश्यक विस्तारका लागि प्रशस्त जमिन र सम्भाबना छ । यहा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको एउटा रनवे, डबल रनवे वा ट्रिपल रनवे सम्मको विमानस्थल बनाउनको लागि भोलि कुनै समस्या पर्दैन । निर्माणका लागि आवश्यक कच्चा पदार्थ वरिपरि नै प्रशस्त उपलब्ध छ । नेपालको व्यापारिक सहर वीरगञ्जबाट आधा घण्टाको दूरीमा छ । स्थानीय जनताको पूरापुर समर्थन प्राप्त छ ।

४, निजगढ विमानस्थलमा जिरो भिजिवलिटीमा विमान उड्न र अवतरण गर्न सक्ने गरी व्यवस्थापन हुन सक्छ । प्रारम्भिक सर्वेक्षण सुरु गरी अध्ययन गरिरहेको यो विमानस्थललाई ०६६ सालमा कोरियन कम्पनीले डिपिआर गरेपछि ०६७ देखि राष्ट्रीय गौरवको योजनाको रूपमा घोषणा गरिएको हो । अध्ययनअनुसार प्राविधिक तथा आर्थिक रूपले समेत यो विमानस्थल ज्यादै सस्तो सम्भाव्य र लाभकारी छ । प्रादेशिक विभाजन अनुसार प्रदेश नम्वर २ मा पर्ने यो विमानस्थल प्रदेशकै भाग्य र भविष्य निर्माण गर्ने ठूलो परियोजना हो । यो विमानस्थल अति सुन्दर र नमुना विमानस्थल हुने प्राविधिकहरूको अध्ययनर प्रस्तावले देखाएको छ ।

५, विमानस्थल निर्माण गर्दा जंगलको नोक्सानी हुने विषय उठेको छ । संसार भरी ठूला विमानस्थल बस्तीबाट अलि पर बनाउने या पूरै बस्ती उठाएर बनाउने प्रचलन देखिन्छ । हामी कहा वस्ती हटाएर बनाउन महँगो पर्ने या सेटलमेन्ट गर्नका लागि समस्या जटिल हुने कारणले असम्भव प्राय हुन्छ । बस्तीबाट अली पर बनाउँदा केही न केही वनको क्षति अवस्य हुन्छ तर त्यसको वदलामा वन रोप्न सकिने ठूलो सम्भावना यस क्षेत्रमा विद्यमान छ ।

यो विमानस्थल निर्माणका क्रममा यसको पूर्वमा रहेको लालवकैया र पश्चिमतर्फ रहेको पसाहा नदी तटबन्ध गरी लगभग १ हजार हेक्टर जमिन उकास प्राप्त हुन्छ जहाँ लाखाैँ बिरुवा हुर्काउन सकिन्छ । प्रदेश दुई सरकारले आफ्नो प्रदेशका विभीन्न सार्वजनिक तथा नदी उकास जमिनमा ५० लाख बिरुवा रोप्ने घोषणा गरिसकेको छ ।

६, यो क्षेत्रभित्र पनि केही बस्ती हटाउनु र व्यवस्थित गर्नुपर्ने हुन्छ । फेरि पनि अन्तर्राष्ट्रिय विमानस्थलजस्तो ठूलो योजना को लागि यो कुनै ठूलो कुरा होइन । यसमा काठ गाउँको ११० बिघा नम्बरी जमिन र लगभग ७०० बिघा सरकारी जमिनमा बसेका नागरिकहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

काट गाउँको ११० विघा जमिनको अधिकरणको काम सम्पन्न गरेर मुआब्जा को काम सकिनै लागेको अवस्था छ भने टागीया बस्तीको १ हजार ४ सय ७६ धुरीको सेटलमेन्टको मोडलका बारेमा छलफल भई रहेको छ । टागीया बस्तीका नागरिकहरूले आफूहरूलाई सरकारले क्षतिपूर्ति को रूपमा जमिन उपलब्ध गराएर विमानस्थलनजिकै एयरपोर्ट भिलेज बनाई न्याय दिनुपर्छ भन्ने माग राखेका छन् । उनीहरूको यो माग र चासो विलकुल ठिक छ । सरकारले यस सन्दर्भमा तत्काल उचित निर्णय गरेर विमानस्थल निर्माण प्रक्रिया अघि बढाइहाल्नुपर्छ ।

७, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा सिंगल रनवेसहितको विमानस्थल निर्माण गर्दा १५०० हेक्टर जमिन र डवल रनवे युक्त विमानस्थल बनाउँदा तत्काल बढीमा २५०० हेक्टर जमिनको आवश्यकता पर्दछ । यसो गर्दा अहिले १००० हेक्टर जमिन ( टागीया वस्ती र वरिपरि ) करिब करिब खाली छ । अब १५०० हेक्टर जमिन खाली गर्नुपर्दछ । यसो गर्न वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार बढीमा दुई लाखको हाराहारीमा मात्र काम लाग्ने रूख विरूवा काट्नु पर्ने हुन्छ अर्थात् १ लाख ४० हजारको हारा हारीमा साना तिना झाडी बुट्यान र लौराजस्ता समेत गनिएका बोट निर्माण अवधि भरमा काटिने वा खेर जाने अवस्था हुन्छ ।

८, यसै अवधिमा विमानस्थल प्रोटेक्सनको क्रममा पसाहा नदी तटबन्धन भइरहेको छ । वकैया खोला तटबन्धन हुन्छ । दुवै नदीको प्रोटेक्सनपछि १००० हेक्टरको हाराहारीमा उकाश जमिन निस्कन्छ । जहाँ हामीले लाखाँै बिरुवा वृक्षारोपण गरी वन व्यवस्थापन गर्न सक्छौँ । यस्तै, दुधौरा, बालगंगा तथा आसपासबाट बग्ने अन्य नदि किनारा र खाली जमिनमा समेत लाखौँ वृक्षारोपण गरी हराभरा बनाउन सकिन्छ । विमानस्थल नार्माणका क्रममा हटाइने १४०० हेक्टर जमिनको ३ लाख ३४ हजार वोट बिरूवाको ठाउमा १५ लाख बिरुवा आयोजनाबाट रोपिनेछ भने स्थानीय तह र प्रदेश सरकार मार्फत लाखौँ बिरुवा रोप्ने योजना अघि बढाइने योजना छ ।

९, अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा प्राप्त गरिएको जमिनसमेत एक तिहाइ मात्र कंक्रिट निर्माण हुने हो । वाँकी दुईतिहाइ एरिया फलफूल बोट बिरुवाले भरी भराउ गरी अनेक थरीका सुन्दर बाटिकाहरू बनाई हराभरा नै बनाउने हो । विमानस्थल निर्माण गर्दा सकभर कम रूखहरू नोक्सान हुने उपाय गरी नोक्सानी अत्यन्त न्यून गरिनुपर्दछ । यसो गर्दा वातावरणीय असन्तुलन हुने सम्भावना न्यून हुन्छ । अझ वातावरणीय अनुकुलता हुने वैज्ञानिक उपायहरू अपनाएर विमानस्थललाई सुन्दर र वातावरणलाई अनुकूल बनाउन सकिन्छ ।

१०, जहाँसम्म वातावरणमा प्रतिकूल प्रभाव पर्छ भन्ने कुरा छ । केही न केही मात्रामा यो कुरा सही होला । यसले वातावरणमा केही न केही प्रतिकुलता जरूर ल्याउन सक्ला । फेरि पनि देशमा राष्ट्रिय गौरवका ठूला योजना सञ्चालन गर्दा पर्ने सानातिना प्रभाव लाई व्यवस्थापन गर्ने जिम्मा हाम्रै हो । यसमा पनी आयोजनाले त्यसलाई सुरुमै प्रतिस्थापन गर्ने वैकल्पिक उपायहरू अपनाइरहेको छ यति स्पष्ट योजना, सम्भावना र विकल्प हुँदाहँुदै पनी वातावरणको बहानामा एयरपोर्ट निर्माण को विपक्षमा देखिएका पक्षहरूको सोच भने वातावरण बचाउनेभन्दा पनि विमानस्थल निर्माण प्रक्रिया रोक्नेमा केन्द्रित देखिन्छ ।

११, आयोजना निर्माणको क्रममा स्थानीय जनताको पानीको श्रोतको चिन्ता र नदिको बहाव रोकिने हो कि भन्ने चासोलाई पनि सम्बोधन गरिएको छ । जुन सर्वथा सही र न्यायिक पनि हो । यस सन्दर्भमा आयोजनाले विमानस्थलको दक्षिण साइडमा उत्तर तिरबाट पानी कलेक्सन भएर आउन सक्ने क्यानल डिजाइन गरी रिचार्जको लागि बृहत् कृतिम ताल बनाउने प्रस्ताव अघि सारेको देखिन्छ ।

यसले कतै पनि पानीको श्रोत सुक्न नदिई व्यवस्थित गर्ने र विमानस् लाई समेत वातावरणीय रूपले सुन्दर बनाउने छ । त्यति मात्र होइन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसँगै बारा पर्सा र रौतहट समेतका जमिनको सिँचाइको लागि सुनकोसी मरिन ड्राइभर्सन सिँचाइ आयोजनामार्फत यस क्षेत्रको माग सम्बोधन गर्ने परियोजना सँगसँगै अघि बढाउने योजना नेपाल सरकारले अघि सारेको छ । यसले समेत जनताको मागलाई पूरा गर्नेछ ।

१२, विमानस्थल निर्माण गर्दा वन्यजन्तुको आवत जावतको बाटो अवरुद्ध हुने र वन्य जन्तुको जीवन सन्तुलन बिग्रने विषय पनि उठान भएको छ । यो सामान्य ढंगले उठ्ने विषय नै हो । तर, पनि हिजो वन्यजन्तु संरक्षण को विषय उठाएर हामीले राष्ट्रिय निकुञ्ज विस्तार गर्दा हाम्रा विरुद्ध जाई लाग्नेहरूबाट नै आज यो कुरा उठ्नुचाहिँ अझ सुन्दर विषय भएको छ । यस सन्दर्भमा आयोजनाले हाईवेबाट ५ देखि ७ सय मिटरसम्म वन कायम राख्ने उपाय सुझाएको छ । जसले न त वन्यजन्तुको बाटो अवरुद्ध हुन्छ नत उनीहरूको जीवनचक्रमै कुनै असर गर्छ ।

प्रतिक्रिया