जाने होइन त ‘प्रथम सूर्योदय महोत्सव हेर्न !

इलाम । इलामको सूर्योदय नगरपालिकामा आयोजना गर्न लागिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी १४ देखि १८ मंसिरसम्म आयोजना गर्न लागिएको पाँच दिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिले जानकारी दिएको छ । महोत्सव सफल पार्न नगर उपप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा गठित ११ सदस्यीय मूल आयोजक समिति तथा मातहतका विभिन्न उपसिमितहरू क्रियाशील छन् । स्वागतद्वार निर्माण, स्टलहरूको निर्माण, होटल व्यवस्थापन, खानेपानीको व्यवस्थापन, प्रचारप्रसार लगायतका काम तीव्ररूपमा भइरहेको आयोजकले जनाएको छ । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।

महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किम लगायतबाट समेत पर्यटकहरू आउने आयोजकको अपेक्षा छ । महोत्सवमा आन्तरिक र बाह्य गरी पाँच लाख पर्यटकले आवतजावत गर्ने अनुमान रहेको नगरप्रमुख राईले बताए । ‘महोत्सवमा नेपाल र भारतका गरी करिब पाँच लाख पर्यटकले आवतजावत गर्ने हाम्रो अनुमान छ’, नगरप्रमुख राईले भने, ‘त्यसका लागि सबैसँग समन्वय र सहकार्य गरेका छौँ । नेपालका विभिन्न क्षेत्रबाट विद्यार्थीको शैक्षिक भ्रमणको लागिसमेत भइरहेका छ ।’


महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, थुम्के, पशुपतिनगर लगायतका स्थानमा सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा दरबार अवलोकन, देउराली हाईक, साइकल दौड, फोटो प्रर्दशनी, मौलिक र अर्गानिक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, घोडाको सौन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम हुनेछन् ।

कन्याममा चियाको राजधानीसमेत भएकाले चिया उत्पादनदेखि तयारीसम्मका जानकारीसहित पर्यटकलाई अर्गानिक चियाको स्वाद चखाउने कार्यक्रम तय गरिएको छ । त्यस्तै घोडा सवारी, फोटो प्रदर्शनी तथा ब्युटिफिकेसनको कार्यक्रम हुनेछन् । श्रीअन्तुमा सूर्योदयको दृश्यावलोकन, फिक्कलमा स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, मौलिक र अर्गानिक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, थुम्केमा लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, पशुपतिनगरमा नेपाल भारतको सीमाना भएकाले मिनी पशुपतिनाथको रूपमा छुट्टाछुट्टै कार्यक्रमको तय गरिएको छ ।

महोत्सवको पहिलो दिन उदाउँदो सूर्यलाई पूजा गर्दै उदघाट्न गरिनेछ । महोत्सवको उद्घाटन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको छ । पर्यटकहरूलाई खाना र बस्नका लागि नगरभरीका होटल, रेस्टुरेन्ट, होमस्टेमा व्यवस्थापन गरिएको छ । नगरपालिकाले तथ्यांक संकलन गरी पर्यटकको व्यवस्थापनको सहजताका लागि तयारी भइरहेको नगरप्रमुख राईले बताए । महोत्सवका लागि नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।


इलामको प्रमुख पर्यटकीय गन्तव्यमध्ये सूर्योदय नगर एक प्रमुख हो । सूर्योदय प्रदेश सरकारले घोषणा गरेको प्रदेश–१ को एक मात्र पर्यटकीय नगर र संघीय सरकारले घोषणा गरेको सय प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने नगर हो । इलामका कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर, गोर्खे र थुम्केजस्ता पर्यटकीय स्थानहरू यसै नगरमा पर्दछन् । यो नगर ७ ‘अ’ को नगरका (अर्थोडक्स चिया, अदुवा, अलैंची, आलु, अम्लिसो, अकबरे खुसार्नी र ओलन (दूध)) रूपमा परिचितसमेत छ ।

पर्यटकलाई सहजताका लागि कल सेन्टर स्थापना
यस्तै महोत्सवमा आउने पर्यटकहरूको सहजताका लागि नगरपालिकाले कल सेन्टरको स्थापना गरेको छ । पर्यटकहरूलाई विभिन्न क्षेत्रमा भ्रमणका लागि तथा खान र बस्नका लागि असहज नहोस् भनी टोल–फ्रीमार्फत जानकारी गराउने व्यवस्था मिलाएको छ । कल सेन्टरको उद्घाटन १३ मंसिरमा हुनेछ ।

‘नगरपालिकामा कल सेन्टरको व्यवस्था गरिसकेका छौँ । ट्रोल–फ्रि सञ्चालन गरिसकेका छौँ । सबै होटल, होमस्टेहरूको केन्द्रीकृत सूचना दिने गरी नगरपालिकाले व्यवस्था गर्नेछ’ नगरप्रमुख राईले भने, ‘कोही पनि महोत्सवमा आएर अप्ठयारो नपरून् भन्ने हेतुले यस्तो व्यवस्था मिलाएका हौँ ।’

प्रतिक्रिया