युरोपमा ‘शुभलभ’

काठमाडौं । सन्तोष लोहनीले निर्देशन गरेको चलचित्र ‘शुभलभ’ युरोपका विभिन्न देशमा प्रदर्शन हुने भएको छ । निर्देशक लोहनीले युकेका ६, जर्मनी ३, बेल्जियमका तीन, पोर्चुगलका पाँच, नर्वे, फिनल्यान्ड र स्पेनमा डिसेम्बर, जनवरी, फेब्रुअरीमा चलचित्र प्रदर्शन गर्ने तयारी रहेको जानकारी दिए ।  नेपाली चलचित्रको व्यापार प्रवद्र्धन, प्रचार प्रसार र नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यका साथ यो चलचित्र विदेशमा प्रदर्शन गर्ने योजना बनाएको लोहनीले बताए । उनले भने, ‘हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरा लगायका स्थानमा चलचित्र छायांकन गरिएकाले पनि पर्यटक तान्ने विश्वास निर्माण पक्षले लिएको छ ।’ उनले चलचित्रले प्रेमकथासँगै सामाजिक विषयवस्तुलाई कलात्मक रूपमा उठाएको बताए ।

चलचित्र ‘शुभलभ’ गत वर्ष १५ चैतदेखि नेपालका सिनेमाघरमा प्रदर्शन भएको थियो । चलचित्रका मुख्य कलाकार हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलले यसै चलचित्रबाट डेब्यु गरेका हुन् । हरिहर ज्योतिषसमेत रहेका हरिहरले विभिन्न म्युजिक भिडियोमा अभिनय गरेका छन् । त्यस्तै, अभिनेत्री कृस्टिन मिस टिन–२०१७ की विजेता हुन् ।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता धर्मराज सुवेदी हुन् । प्रेमकथामा आधारित यो चलचित्रमा अभिनेता सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डे, सूर्या थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
प्रदीप उदय प्रस्तुतकर्ता रहेको चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी, बनीश शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

प्रतिक्रिया