आगलागीले मटिहानीको एउटा बस्ती नै जलेर नष्ट

हरिहरपुरमा पाँच घर जले

महोत्तरी । जिल्लाको मटिहानी नगारपालिकामा बुधबार बिहान १० बजेदेखि लागेको आगोले एउटा बस्ती नै जलेर नष्ट भएको छ । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बस्तीमा रहेको करिब १०० घर जलेर क्षतिग्रस्त भएको बताए ।
उनले मानवीय क्षतिबारे बुधबार साँझसम्म कुनै खबर नआए पनि बस्तीमा रहेका सबै घरधुरीको धन, सम्पत्ति, अन्न, लुगाफाटा जलेर नष्ट भएको बताए ।

आगलागी नियन्त्रण गर्नका लागि नगरपालिकाको वारुणयन्त्रसहित जलेश्वर, गौशाला, रामगोपालपुरले मात्र नपुगी जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रको समेत प्रयोग भएको मेयर मण्डलले बताए ।

आगो नियन्त्रणका लागि अन्यन्त्रबाट समेत वारुणयन्त्र झिकाइएको मेयर मण्डलले बताए । साँझ अबेर स्थानीयका साथै नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको उपस्थितिमा आगो नियन्त्रण गरिएको थियो ।

यसैगरी पर्साको धोबिनी गाउँपालिका–३ हरिहरपुर गाउँमा बुधबार आगलागी हुँदा पाँच वटा फुसको घर र घरको नजिकमा रहेको ब्रह्म बाबाको रुख जलेर नष्ट भएको छ ।

योगेन्द्र साहको घरबाट सुरु भएको आगोले भरत साह कानु, हरिन्द्र साह कानु लक्ष्मी साह कानु र सेठ साह कानुको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरीक्षक तोजेन्द्र बिसीले जानकारी दिए ।
आगलागीबाट घर, फर्निचर, अन्नपात, लत्ताकपडा, गरगहना, गरी लाखौँको सम्पत्ति जलेर नष्ट भएको छ । आगो कसरी लाग्यो भन्ने एकिन नभएको प्रहरीले जनाएको छ । स्थानीयबासी प्रहरी र पोखरिया नगपालिकाबाट गएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियोे ।

प्रतिक्रिया