जनावर र चराचुरुंगीका लागि पोखरी निर्माण हुँदै

oplus_0

बारा । तराईमा बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै बाराको वनमा पोखरी निर्माण भइरहेको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत रहेको हलखोरिया साझेदारी वन क्षेत्रमा जंगली पशुपक्षीका लागि पोखरी निर्माण भइरहेको छ । गर्मी बढेसँगै पानीका मुहानहरू सुक्न थालेपछि जनावर र चराचुरंगीको राहतका लागि पोखरी निर्माण भइरहेको हो । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको लगानीमा पोखरी निर्माण भइरहेको छ ।

हलखोरिया साझेदारी वनको क्षेत्रमा रहेको पानीको मुहान गर्मी बढेसँगै सुक्न थालेपछि जनावर र चराचुरंगीलाई पानी खान समस्या भएपछि पोखरी निर्माण गर्न लागिएको हलखोरिया साझेदारी वनका अध्यक्ष विकल्प भट्टराईले बताए । उनले भने, ‘खोला नाला सुक्न थाले यस साझेदारी वनभित्र हात्तीदेखि बाघ समेतको बास रहेको तर, गर्मी बढेसँगै पानी खान जनावर र चराचुरंगीलाई समस्या नहोस् भन्ने उद्देश्यले वनसँग अनुमति लिएर पोखरी निर्माण गरिरहेका छौँ ।’

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको १५ लाख रुपैयाँ लगानीमा हलखोरिया साझेदारी वनको क्षेत्रमा पोखरी निर्माण भइरहेको राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको सब–इन्जिनियर अनिल सिन्हाले बताए । हलखोरिया साझेदारी वन क्षेत्रभित्र रहेका जनावर र चराचुरंगीलाई यस पोखरी निर्माणले धेरै राहत मिल्ने सिन्हाले बताए । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले पहिला पनि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एउटा पोखरी निर्माण गरिसकेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको अमलेखगन्जस्थित तीनकुवा पोखरी क्षेत्रमा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले पुरानो पोखरीलाई मर्मत, सुधार, निर्माण गरेसँगै पोखरीमा पानी संकलन हुन थालेको र त्यसले निकुञ्ज क्षेत्रको वनजंगल, राष्ट्रिय वन, सामुदायिक वनमा रहेका वन्यजन्तु तथा चराचुरुंगीलाई राहत भएको छ ।

प्रतिक्रिया