पानी पार्न भ्यागुताको बिहे !

हेटौँडा । बिहानैदेखि चरक्क चर्किएको घाममा हेटौँडा उपमहानगरपालिका–१६, राममन्दिर परिसरबाट एक हुल जन्ती पन्चेबाजाको तालमा नाच्दै अघि बढे । महिलाहरूको पन्चेबाजा समूह मख्ख परेर बाजाको ताल पिट्दै थिए । सँगै डोलेहरूले काँधमा डोली बोकेका थिए । डोलीमा राखिएको प्लास्टिकको बट्टाभित्र पानीमा पौडिरहेको थियो, बेहुलो भ्यागुतो ।

अघिल्ला वर्षहरूमा विभिन्न ठाउँमा भ्यागुताको बिहेका समाचार सुनेका स्थानीयले यसपटक आफ्नै गाउँमा भ्यागुताको बिहे गराउँदै थिए । खडेरीले बाली लगाउनै नदेलाजस्तो भएपछि पानी पार्न भन्दै उनीहरू भ्यागुताको बिहे गराउन तम्सिएका हुन् । स्थानीयले भ्यागुताको बिहे गराउने कुरा ल्याएपछि वडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला पनि जन्ती जान ठाँटिएर आएका थिए ।

राममन्दिर परिसरबाट अन्मिएको बेहुला र जन्तीको टोलीलाई वडा–१७ मा रहेको स्थानीय भट्टराई कुवामा बेहुली पक्षले स्वागत गरेका थिए । बेहुली पक्षका स्थानीयले जन्तीका लागि भोजको समेत व्यवस्था गरेका थिए । हेर्दा साँचै मान्छेकै बिहे झल्कने भ्याकुताको बिहेमा सबै रमाउँदै थिए ।
बेहुलो भ्यागुतोलाई कुवामा पु¥याइएपछि पण्डित मधुसुदन भट्टराईले विधिपूर्वक पहिले ईन्द्रको आराधना गरेपछि वैदिक परम्पराअनुसार भ्यागुताको जोडीको विवाह सम्पन्न भएको थियो । ‘पानी पार्नलाई पानीमै बस्ने भ्यागुताको बिहे गराउनुपर्ने भएकाले बाहिर निकालेर गर्नु उचित भएन । त्यसैले बेहुला–बेहुलीलाई बट्टामै राखेर बिहे गराइयो ।’ स्थानीय रामहरि भट्टराईले भने ।

वडाध्यक्ष कोइरालाले भ्यागुताका बिहे गराउँदा पानी पर्ने विश्वासका आधारमा स्थानीयबासीको सहभागितामा कार्यक्रम गरिएको जानकारी दिए । भ्यागुताको बिहेमा सहभागी सयौँ स्थानीय भने पानी परे पनि नपरे पनि अनौठो बिहेमा नाच्न पाएकोमा बढी खुसी देखिन्थे । नौ महिनादेखि विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा पन्चेबाजा बजाउँदै आएको स्वर्गद्वारी महिला पन्चेबाजा समूह, हेटौँडा–१ की एक सदस्य शर्मिला रानामगरले पनि भ्यागुताको बिहेमा बाजा बजाउने अवसर पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘मान्छेका बिहेमा बेहुली अन्माउने बेला बाउआमा सबै रुवाबासी गर्थे । आजचाहिँ कोही रोएको हेर्नु परेन ।’

पानी पार्नका लागि भ्यागुताको बिहे गराइएको विषयमा कतिपयले अन्धविश्वास भने पनि केही वर्षयता लामो खडेरीका बेला भ्यागुताको बिहे गर्ने लहर बढेको छ । स्थानीय जयप्रकाश घिमिरेले भने, ‘संयोग मात्रै त नहोला, तर भ्यागुताको बिहे गरेपछि पानीचाहिँ परेको अनुभव छ ।’

प्रतिक्रिया