कांग्रेस सभापतिको विपरीत बुद्धि

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमको प्रक्राउलाई कांग्रेसविरुद्धको षडयन्त्र भनेका छन् । १२ वर्षअघिको मुद्दालाई ब्युँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको दाबी सभापति देउवाको छ । यसैगरी कांग्रेसकै अर्का नेता कृष्णप्रसाद सिटौलाले आलमको पक्राउ नेपाली कांग्रेस विरुद्धको ‘ग्राइन्ड डिजाइन’ भएको उल्लेख गर्दै यो ग्राइन्ड डिजाइनमा मिडियाहरूसमेत सामेल भएको दाबी गरेका छन् । अभियुक्त आलमका विषयमा मिडियाले गलत समाचार दिएको भनाइ सिटौलाको छ । आलम नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका सदस्य छन् । उनी ०५६ सालदेखि पटकपटक सांसद तथा मन्त्री बनेका छन् । पटक पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि बनेका छन् । उनीमाथि संविधानसभा ०६४ को निर्वाचनका क्रममा चुनाव जित्नका लागि आम नरसंहार गरेको आरोप लागेको छ । उनीमाथि लागेको आरोप छ – मतदान स्थल कब्जाका लागि बम निर्माण गर्दै गर्दा अचानक विष्फोट भई केही व्याक्ति मारिएका थिए भने केही व्यक्ति घाइते भएका थिए । घटना लुकाउने नाममा उनले मृतक तथा घाइतेलाई इँटा भट्टामा लगेर जलाउन लगाएका थिए ।’ यो घटनापछि मृतकका परिवारले तत्कालै प्रहरी तथा अदालतमा उजुरी दिएका थिए , तर तत्कालीन सत्ताको आडमा मुद्दा तथा उजुरीलाई ढिसमिस गरियो । १२ वर्षपछि यो मुद्दा पुन ब्युँतिएको छ । यो अवधिमा आलम पटकपटक मन्त्री, सांसद तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनिसकेका छन् ।

एकातिर डेढ सातादेखि प्रहरीको हिरासतमा रहेका आलमले बयान दिन मानिरहेका छैनन् । अर्कातिर गृहजिल्ला रौतहटमा उनका समर्थकहरूले नारा जुलुस गर्दै तनावपूर्ण स्थिति सिर्जना गरेका छन् । यही सेरोफेरोमा प्रमुख प्रतिपक्षीदलका नेता देउवासमेत उनको बचाउमा लागेका छन् । त्यसैले यो प्रकरण निकै पेचिलो बनेको छ । राजनीतिक दबाबका कारण छानबिन तथा अनुसन्धान प्रभावित हुने त होइन ? भन्ने आशंका उत्पन्न भएको छ । पक्राउको विषयलाई लिएर सरकार तथा मिडियालाई दोष दिनु कांग्रेस सभापति देउवाको चरम अदूरदर्शीता हो । बम विष्फोटन भएको समाचार सत्य हो । मान्छे मारिएको समाचार पनि सत्य हो । कसले बम विष्फोटन गराएको हो र के कारणले मान्छेहरू मारिएका हुन् ? भन्ने कुरा तत्काल छानबिन तथा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपथ्र्यो, तर घटना लुकाउने कोसिस भयो । ढिलै भए पनि प्रहरीले छानबिन तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । छानबिन तथा अनुसन्धानमा सहयोग पुर्याउनु सबैको कर्तव्य हो । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले इमान्दारितापूर्वक यो प्रक्रियामा सहयोग पुर्याउनुपथ्र्यो ।

हतारमा प्रतिक्रिया दिनु कांग्रेस सभापति देउवाको गम्भीर गल्ती हो । यदि सांसद आलम निर्दोष प्रमाणित भए भने पनि जनताले विश्वास गर्ने ठाउँ कमजोर बन्यो । राजनीतिक दबाबका आधारमा अनुसन्धान प्रक्रियालाई फितलो बनाइएको महसुस जनताले गर्ने अवस्था कांग्रेस सभापति देउवाको अभिव्यक्तिका कारण सिर्जना भएको छ । दोषी प्रमाणित भए भने पनि राजनीतिक प्रतिशोध पो हो कि ? भन्ने सन्देश जाने अवस्था सिर्जना भयो । यस्तो संवेदनशील विषयमा नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीका सभापतिले गैर जिम्मेवार अभिव्यक्ति दिएर परिस्थितिलाई धमिल्यउनु उचित होइन । साथै, मिडियामाथि लान्छना लगाउनु पनि नेपाली कांग्रेसका नेताहरूको गम्भीर भुल हो । प्रमुख प्रतिपक्षीदलका लागि मिडिया भनेका मुख्य सहयोगी हुन् । मिडियाको साथ भएन भने प्रतिपक्षीदलले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन, तर मिडियाको साथ लिनुको सट्टा अनेकथरी लाञ्छना लगाएर बिच्क्याउनु भनेको नेपाली कांग्रेसको विपरित बुद्धि हो । ‘विनास काले विपरीत बुद्धि’ भन्ने उखान नै छ । कतै नेपाली कांग्रेसको हकमा पनि यस्तै भएको त होइन ?

प्रतिक्रिया