राष्ट्रिय संकटको समाधानः यो सरकारद्वारा सम्भव छ ?

कार्यनीतिक दृष्टिकोणले तत्कालीन राजनीतिक लाइन निर्धारित गर्ने कुराले सबैभन्दा बढी र निर्णयात्मक महत्व राख्दछ । राजनीतिक लाइन सही हुन्छ वा गलत ? त्यसले अन्य सबै कुराहरूलाई वा पार्टी र आन्दोलनको सम्पूर्ण दिशालाई निर्धारित गर्दछ । कुनै पनि वेला सही राजनीतिक लाइन निर्धारित गर्दा दुईवटा कुराहरूमाथि विशेष ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । प्रथम, सिद्धान्त र रणनीति । द्वितीय, ठोस परिस्थितिको ठोस विश्लेषण । त्यसको अर्थ यो हो र हुन्छः एकातिर, हाम्रा सबै तत्कालीन नीतिहरू हाम्रा सिद्धान्त र रणनीतिको सेवा गर्ने प्रकारको नै हुनुपर्छ ।

अर्कातिर, तिनीहरूले ठोस परिस्थितिको ठोस विश्लेषणसित पनि मेल खानुपर्दछ । यी दुवै विषयमा देखापर्ने गल्तीले पार्टी वा आन्दोलनलाई एक वा अर्को प्रकारको भड्कावमा पुर्याउँछ र त्यसबाट पार्टी र क्रान्तिलाई ठूलो क्षति पुग्दछ । कतिपय अवस्थामा त्यसप्रकारको क्षतिको प्रकृति तत्कालीन मात्र नभएर दीर्घकालीन प्रकारको पनि हुन्छ । द्वितीय, विश्वयुद्धको समयमा काउत्सकीले युद्धबारे जुन गलत नीति अपनाए त्यसले क्रान्तिकारी आन्दोलनलाई विश्वव्यापी रूपमा र दीर्घकालीन रूपले नै ठूलो क्षति पुर्यायो । सोभियत संघको बीसौँ पार्टी कांग्रेसमा ख्रुश्चेभले लिएको दक्षिणपन्थी संशोधनवादी नीतिले खाली रूसको कम्युनिस्ट पार्टीलाई मात्र होइन, विश्व समाजवादी व्यवस्थालाई नै ठूलो धक्का दियो ।

ठीक त्यही प्रकारले नेपालमा डा. केशरजंग रायमाझीको राजावादी लाइन तथा पूर्व माले र माओवादीहरूका उग्रवामपन्थी भड्कावहरूले पनि नेपालको कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पु¥याएका छन् । उनीहरूका गलत नीतिहरूको परिणामस्वरूप कम्युनिस्ट आन्दोलनलाई तत्कालीन रूपमा मात्र ठूलो क्षति पुगेन, त्यसले कम्युनिस्ट आन्दोलनको एउटा ठूलो पंक्तिलाई दक्षिणपन्थी संशोधनवादी दिशामा पु¥यायो । त्यसकारण कम्युनिस्ट आन्दोलनमा देखापर्ने कुनै पनि प्रकारका गलत नीतिहरूका विरुद्धको संघर्षलाई हामीले कहिल्यै पनि हचुवा रूपमा लिनु हुँदैन र तिनीहरूका विरुद्धको संघर्षलाई सधैँ नै दृढतापूर्वक र सम्झौताहीन प्रकारले अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ ।

कुनै पनि वेलाको कार्यनीति त्यस वेलाको तत्कालीन राजनीतिक स्थितिसित सम्बन्धित् हुन्छ । कुनै खास वेलाको स्थितिबारे कुन प्रकारको नीति अपनाउने ? त्यसप्रकारको नीति सही हुन्छ वा गलत ? त्यसले तत्कालीन रूपमा मात्र होइन, पार्टी वा आन्दोलनको भावी दिशा वा अवस्थालाई पनि लामो समयसम्म प्रभावित पार्दछ । त्यही कुरा अहिलेको नेपालको राजनीतिक सन्दर्भमा पनि सत्य हो । उपरी प्रकारले हेर्दा सामान्यजस्ता देखिने कैयौँ राजनीतिक प्रश्नहरूबारे अपनाइने गलत वा सही नीतिका दीर्घकालीन परिणामहरू वा कतिपय अवस्थामा दुस्परिणामहरू पनि निस्कन्छन् ।

अहिले गणतन्त्रबारे उठिरहेको विवाद त्यही प्रकारको एउटा विषय हो । जसलाई उपरी प्रकारले हेर्दा सामान्यजस्तो देखिन्छ, तर त्यसबारे अपनाइने सही वा गलत नीतिका कैयौँ गम्भीर परिणामहरू हुन सक्दछन् । आज देशमा कैयौँ पक्षहरूले गणतन्त्रलाई समाप्त गर्न आवाज उठाइरहेका छन् वा अभियान चलाइरहेका छन् । कतिपय पक्षहरूको त त्यसका पछाडि एउटा स्पष्ट उद्देश्य छ, जस्तो कि राजतन्त्रको पुनस्र्थापना गर्नु । तर, कतिपयले हावामा तीर चलाइरहेका छन्, जस्तो कि, नेकपा (क्रान्तिकारी–माओवादी) र नेकपा विप्लवहरूले । उनीहरूले पनि गणतन्त्रमाथि हमला गरिरहेका छन् ।

त्यसको उद्देश्य उनीहरूले नयाँ जनवादी गणतन्त्रको स्थापना बताउँछन् । तर, तत्काल त्यो उद्देश्य पूरा गर्नु सम्भव छैन । त्यसकारण उनीहरूले गणतन्त्रमाथि झटारो हानेर जुन परिणाम निस्कने छ, त्यो प्रतिगमनको पक्षमा नै जाने कुरा दिनको उज्यालो झै छर्लंग छ । रणनीतिलाई सही प्रकारले बुझ्न वा ग्रहण गर्न नसक्नुको परिणामस्वरूप उनीहरूको नीति ‘वामपन्थी’ संकीर्णवादी बन्न गएको छ । उनीहरूको त्यसप्रकारको नीतिले भोलि गएर उग्र‘वामपन्थी’ गल्तीको रूप लिने हो वा त्यसले दक्षिणपन्थी दिशा समात्ने हो ? त्यो कुरा भविष्यमा नै थाहा हुनेछ ।

त्यो कुरा जे भए पनि तत्काल उनीहरूको हमला बढी क्रान्तिकारी वामपन्थी आन्दोलनमाथि नै भएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसरी उनीहरूको नियत त्यसप्रकारको नभए पनि उनीहरूको ‘वामपन्थी’ संकीर्णतावादी नीतिका दुईवटा परिणामहरू हुनेछन् । प्रथम, प्रतिगमनको सेवा । द्वितीय, वामपन्थी आन्दोलनमाथि हमला । गणतन्त्रका साथै राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा र संघीयताको विरोध पनि तत्कालीन राजनीतिक दृष्टिकोणले संघर्षका मुख्य विषयहरू हुन् ।

हाम्रो आजको आधारभूत लक्ष्य नयाँ जनवादी क्रान्ति भए पनि र त्यसका लागि वस्तुगत परिस्थिति तयार भए पनि आत्मगत अवस्था तयार नभएकोले हामीले तत्काल त्यो लक्ष्य पूरा गर्न सक्दैनौँ । तैपनि तत्कालीन रूपमा सही नीति अपनाएर त्यसका लागि सशक्त आन्दोलन उठाएर नयाँ जनवादी क्रान्तिका लागि परिस्थिति तयार पार्न हामीले प्रयत्न गर्दै जानुपर्दछ । यस सन्दर्भमा अन्य राजनीतिक शक्तिहरूको कुन प्रकारको भूमिका रहेको छ र उनीहरू प्रति कुन प्रकारको दृष्टिकोण अपनाउने त्यसबारे पनि केही विचार गर्नुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा सबैभन्दा महत्वपूर्ण प्रश्न हो ः नेकपाको वर्तमान सरकारप्रतिको दृष्टिकोण ।

हामीले पहिले नै स्पष्ट गरिसकेका छौँ, आजको देशको राष्ट्रिय संकटलाई, जो सामन्ती र औपनिवेशिक शोषण वा देशको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाका कारणले उत्पन्न भएको छ, समाधान गर्नु वर्तमान नेकपा सरकारका लागि सम्भव छैन । तैपनि, जुन प्रकारले हामीले वर्तमान सरकारलाई समर्थन गरेका छौँ, त्यसको अंशतः सकारात्मक आधार भएको वा त्यस अर्थमा विभिन्न प्रतिक्रियावादी शक्तिहरूको तुलनामा त्यसको चरित्र अंशतः सकारात्मक भएको वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । यो वास्तवमा गुणात्मक र मात्रात्मक अन्तरको प्रश्न हो ।

आजको देशको राजनीतिक परिस्थितिमा आमूल परिवर्तन गर्नु वा समाधान गर्नु नेकपा वा त्यसको सरकारका लागि सम्भव छैन । तर, मात्रात्मक रूपमा नेका, राप्रपा वा मधेसवादी संगठनहरूका तुलनामा त्यसका नीतिहरू बढी सकारात्मक भएको कुरालाई अस्वीकार गर्न सकिन्न । वर्तमान सरकारका नीति र कार्यशैलीहरू अत्यन्त असन्तोषजनक छन् र तिनीहरूको सम्झौताहीन प्रकारले विरोध गर्नुपर्ने वा तिनीहरूका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता छ । तर, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता प्रश्नहरूमा नेकपा वा त्यसको सरकारका नीतिहरू बढी प्रगतिशील वा सकारात्मक भएको कुरा वास्तविकता हो ।

राप्रपाले गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना गर्न चाहन्छ र त्यसको लागि हिन्दू धर्मलाई हतियार बनाएको छ । नेकाभित्र पनि त्यसप्रकारका विचारहरू राख्ने मानिसहरूको ठूलो पंक्ति छ । यी प्रश्नहरूमा अर्थात् गणतन्त्र र धर्मनिरपेक्षताका प्रश्नहरूमा नेकपाले स्पष्ट र दृढ अडान लिएको पाइन्छ र त्यो अडानलाई हामीले समर्थन गरेका छौँ । उक्त कारणहरूले गर्दा नेका वा राप्रपाहरूका तुलनामा नेकपाको पक्ष बढी सकारात्मक भएको कुरा प्रष्ट छ ।

नेकपाका कतिपय सकारात्मक पक्षहरूलाई हामीले समर्थन गरेको विषयहरूलाई सैद्धान्तिक र अन्तर्राष्ट्रिय कम्युनिस्ट अभ्यासका दृष्टिकोणले पनि केही प्रष्ट गर्नु सायद अप्रासांगिक हुने छैन । द्वन्द्ववादले यो स्वीकार गर्दछ कि कतिपय प्रतिक्रियावादी चिजहरूमा पनि सकारात्मक पक्षहरू हुन्छन् र तिनीहरूलाई समर्थन गर्नुपर्छ । माक्र्सले हेगेलको आदर्शवादबाट द्वन्द्ववादलाई समर्थन नगरेको कुरा त्यही प्रकारको एउटा उदाहरण हो । यद्यपि, अराजकतावादीहरूले त्यसका लागि माक्र्सको कडा आलोचना गरेका थिए । माक्र्सले कम्युनिस्ट घोषणापत्रमा पुँजीवादका सकारात्मक योगदानहरूको पनि मुक्त कण्ठले प्रशंसा गरेका छन्

। साहित्यको क्षेत्रमा माक्र्स वा लेनिनहरूले त्यही प्रकारको दृष्टिकोण अपनाएका छन् । त्यही प्रकारको दृष्टिकोण संयुक्त मोर्चाको पनि आधार बनेको छ । जहाँ कैयौँ प्रतिक्रियावादी, दुश्मन शक्ति वा दक्षिणपन्थी संशोधनवादीहरूसित पनि आवश्यकतानुसार संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने गरिन्छ । त्यस सन्दर्भमा स्तालिनले फासिवादका विरुद्ध साम्राज्यवादी शक्तिहरू र माओले जापानी आक्रमणका विरुद्ध च्याङकाईसेकसित एकता गरेका उदाहरणहरू विशेष रूपले उल्लेखनीय छन् ।

यस सन्दर्भमा हाम्रो पार्टीले कोदारी र पूर्वपश्चिम राजमार्गको सन्दर्भमा तत्कालीन राजा महेन्द्रको नीतिलाई समर्थन गरेका, महाकाली सन्धिका विरुद्धको संघर्षमा राप्रपासित कार्यगत एकता गरेका वा ०४६ सालमा नेकासित तथा ०६२–६३ सालमा नेका र मधेसवादीहरू समेतसित कार्यगत एकता गरेका उदाहरणहरू पनि उल्लेखनीय छन् । त्यसप्रकारको पृष्ठभूमिमा अहिले हामीले नेकपा वा त्यसका कतिपय नीतिहरूलाई समर्थन गर्दछौँ भने त्यो माक्र्सवादी सिद्धान्त, अन्तर्राष्ट्रिय कम्युनिस्ट अभ्यास वा स्वयं हाम्रो पार्टीले अपनाउँदै आएका नीतिहरू अनुरूप नै छ ।

बिपीको सरकार भएको वेलामा विभिन्न राजावादी शक्तिहरूका साथै डा. केशरजंग रायमाझीले पनि नेकाको सरकारको विघटनको मागमा जोड दिएका थिए । त्यो सरकारको विघटनको माग गर्ने वेलामा उनले यो कुरा अगाडि ल्याएका थिएः ‘अब हामीले जनक्रान्ति (पिपुल्स रिभूलेसन) गर्नुपर्दछ ।’ त्यसरी जनक्रान्तिको कुरा गरेर उनले त्यो वेलाको नेकाको सरकारको विघटनको मागमा जोड दिएका थिए । बताइरहनुपर्ने आवश्यकता छैन कि? उनको ‘जनक्रान्ति’को नाराले वास्तवमा प्रतिगमनको नै सेवा गर्दथ्यो ।

अर्को शब्दमा त्यसप्रकारको ‘क्रान्तिकारी’ नारा दिनुको पछाडिको उद्देश्य राजाको निरंकुश शासन ल्याउनको लागि मार्ग प्रशस्त गर्नु नै थियो । पुष्पलाल र मैलेसमेत रायमाझीको त्यसप्रकारको विचारको विरोध गरेका थियौँ । करिब ६ दशकपछि प्रकारान्तरले त्यही प्रकारका सोचाइहरू नयाँ जनवादी क्रान्तिको नाममा अगाडि आउन थालेका त छैनन् । यो प्रश्न पनि नउठाइकन रहन सकिन्न ।

सायद अहिले नयाँ जनवादी क्रान्तिको नाउँमा गणतन्त्रलाई समाप्त गर्ने नारा जसले अगाडि ल्याइरहेका छन्, उनीहरूको नियत रायमाझीको जस्तै राजतन्त्रको पुनस्र्थापना गर्ने छ भनेर त हामीले भन्दैनौँ, तैपनि क्रान्तिको नाममा गणतन्त्रमाथि हमला गर्ने विचारले अहिलेको स्थितिमा प्रतिगमनको नै सेवा गर्ने बढी सम्भावना छ भनेर हामीले दाबीपूर्वक भन्न सक्दछौँ । तर, त्यसो भएमा साँच्चिकै क्रान्तिकारी साथीहरूलाई पनि इतिहासले रायमाझीकै पंक्तिमा पुर्याउनेछ । तर, हामीले कामना गर्दछौँ, त्यस्तो हुने छैन ।
(असोज २ गतेको निरन्तरता)

प्रतिक्रिया