रसिकका पाँच पुस्तक सार्वजनिक

काठमाडौं । स्रष्टा गणेश रसिकले लेखका पाँच पुस्तक बजारमा आएका छन् । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अग्रज कलाकार भैरवबहादुर थापा, उर्मिला श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा, गायक रामेश र लेखक रसिकले ती पुस्तकको संयुक्तरूपमा विमोचन गरे ।

सार्वजनिक गरिएका पुस्तकमा ‘छपक्कै मनमा बसेकाहरू’ (व्यक्ति संस्मरण) र ‘ताराभन्दा सपना धेरै’ (गीत संग्रह) नयाँ कृति हुन् भने ‘दशगजमा उभिएर’, ‘मुनिया र उसको छोरो‘ र ‘आकाशगंगाका ओतमुनि’ रहेका छन् । यी सबै पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।

कार्यक्रममा कवि प्रणिका कोयूले रसिकका गीतले उचित न्याय नपाएको जिकिर गरिन् । उनले भनिन्, ‘अल्पजानकारी र पूर्वाग्रही सोचले रसिकले लेखेका गीत अरूका नाममा छापामा आउँदा त्यसले सबैलाई ननिको लागेको छ ।’

उक्त कार्यक्रममा लेकाली समूहका सदस्य हिरण्य भोजपुरेले आफ्ना र रसिकका असमानताका बाबजुद एक अर्कालाई सदैव सहयोग गरेको सुनाए । उनले भने, ‘रसिकजी र मेरो केही मिल्दैन । म टोपी नलगाउने, उहाँलाई मैले बिनाटोपी देखेकै छैन । म ताल परे कट्टु (हाफपाइन्ट) पनि लगाउँछु, उहाँले जिन्स लगाएको देखेको छैन ।’

भोजपुरेले बीसको दशकमा भएको कविता प्रतियोगितामा आफू तृतीय, उर्मिला श्रेष्ठ द्वितीय र रसिक प्रथम भएकाले स्मरण गर्दै लेकाली समूहमा को प्रतिभाशाली छ भन्ने कुरा बुझ्न सकिने तर्क गरे ।

समालोचक डा. गीता त्रिपाठीले ‘छपक्कै मनमा बसेकाहरू’ रक्सी र चुरोटको पुरुष सर्जकसँगको समाजशास्त्रीय सन्दर्भ बुझ्न निकै महत्वपूर्ण कृति भएको धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘धेरैजसो पुरुष सर्जक रक्सी र चुरोटको लतमा डुबेर अकालमै मृत्यु भएकाले यस कृतिले त्यो पक्षमा पनि पाठकको ध्यान आकृष्ट गर्ने आशा राख्न सकिन्छ ।’

उनले पुस्तक करुणा र संवेदनाको बेजोड कृति रहेको दाबी गर्दै भनिन् ‘समाजमा सर्जकको भूमिका विशिष्ट रहन्छ तर त्यसलाई अझ प्रभावकारी बनाउन मिहिनेत गर्नुपर्दछ ।’ शिक्षाविद् केदारभक्त माथेमाले ‘दशगजामा उभिएर’को सरलता आफूलाई मनपरेको बताउँदै ‘छपक्कै मनमा बसेकाहरू’ले रसिकको स्मरण शक्ति र ससाना विवरणको बेजोड प्रस्तुति रहेको सुनाए ।

प्रतिक्रिया