राज्य कोषमा रजाई

काठमाडौं । सरकारले आर्थिक सहायताका नाममा पछिल्लो ११ महिना साढे १५ करोड रुपैयाँ बाडेको छ । चालू आर्थिक वर्षको सुरुआती ११ महिनामा १५ करोड ३९ लाख रुपैयाँ वितरण गरेको हो ।

आर्थिक सहायता, उपचार खर्च र क्षतिपूर्ति शीर्षकमा मन्त्रिपरिषद्को निर्णयका आधारमा रकम वितरण गर्ने गरिएको छ । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचनपछि एकै पटक १० करोड रुपैयाँ बाँडेको थियो । सो विषयको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पनि सोही कामलाई निरन्तरता दिदै आएको छ ।

देउवा नेतृत्वको सरकारभन्दा कम रकम दिएपनि त्यो रकम पार्टीका नेता कार्यकर्ता र तिनीहरूसँग सम्वन्धित संघ संस्थाले पाएका छन् । यस्तै केही रकम पाउनैपर्ने व्यक्ति र संघ सस्थाले पनि सहायता रकम पाएको देखिन्छ । पूर्व राष्ट्रपतिदेखी पार्टीका कार्यकर्तालाईसम्म सो रकम बाडिएको पाइएको हो ।

गएको जेठ महिनामा मात्र विभिन्न व्यक्ति र संस्थालाई झण्डै डेढ करोड रुपैयाँ बाँडेको छ । जेठमा एक करोड ४५ लाख रुपैयाँ आर्थिक सहयोग वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रामेछापकी विमला विश्वकर्मालाई पाँच लाख, स्याङ्जाकी पवित्रा भण्डारीलाई ५ लाख, बसुन्धाराका रोहन गुरुङलाई ३० लाख, विर्तामोडका ध्रुवकुमार शिवाकोटीलाई ३० लाख, मोरङका गोविन्द कुमार गौतमलाई पाँच लाख, अछामका हिमाल विकलाई आठ लाख र बाँकेका कमलसिंह क्षेत्रीलाई एक लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ । यस्तै काभ्रेका निलबहादुर बस्नेतलाई पाँच लाख र युगकवि सिद्धिचरण श्रेष्ठ अक्षयकोष काठमाण्डांै र अन्य १० जनालाई गरेर ५६ लाख रुपैयाँ वितरण गरिएको छ ।

वैशाख महिनामा सरकारले तीन करोड ४७ लाख रुपैयाँ वितरण गरेको छ । चैतमा आर्थिक सहायता र उपचार खर्चको नाममा एक करोड ५१ लाख रुपैयाँ बाँडेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । वैशाखमा रकम पाउनेमा पूर्वमन्त्री केशव बुढाथोकीलाई उपचार खर्चमा १० लाख, चक्रपाणि नेपाल, कविता श्रेष्ठ, नरहरी गैरे र गिरिराज शर्मालाई गरी २४ लाख रुपैयाँ वितरण गरेको छ । आमाको घर नेपाल संस्था कालिमाटीलाई ५० लाख, सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई एक करोड र मानव सेवा आश्रम काठमाडौलाई एक करोड रुपैयाँ सहायता सरकारले दिएको छ ।

यस्तै राष्ट्रियसभाका पूर्व सदस्य भिक्षु अश्वघोष महास्थविरलाई उपचार खर्च १० लाख ८० हजार, सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई भारतमा उपचार गराउँदा ३६ लाख ३६ हजार र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवलाई उपचारको लागि एक लाख १३ हजार रुपैयाँ पनि वैशाखमै निकासा भएको छ । यस्तै विभिन्न व्यक्तिको उपचार खर्च र आर्थिक सहायताको नाममा १५ लाख रुपैयाँ सरकारले दिएको छ ।

चैत महिनामा सरकारले आर्थिक सहायता र उपचार खर्चको नाममा एक करोड ५१ लाख रुपैयाँ बाँडेको छ । कञ्चनपुर घटनाका घाइतेको उपचारको लागि २० लाख, आवश्यकता अनुसारको सहयोग शीर्षकमा विभिन्न व्यक्तिलाई ४१ लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै चैत ११ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार ६ वटा संस्था तथा व्यक्तिलाई ८० लाख रुपैयाँ दिइएको छ । यस्तै गोरखाका प्रहरी जवान स्वर्गीय अर्जुन जमरका परिवारलाई १० लाख रुपैयाँ दिइएको छ ।

सरकारले फागुन महिनामा नेता तथा कार्यकर्ताको उपचार र सहयोगको नाममा एक करोड २१ लाख रुपैयाँ भन्दा धेरै बाँडेको छ । पूर्व उपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई १० लाख रुपैयाँ आर्थिक सहायता सहित यो रकम खर्च गरेको हो । गंगालाल श्रेष्ठको जन्म शताब्दी मनाउन पुष्पला स्मृति प्रतिष्ठानलाई पाँच लाख रुपैयाँ दिइएको छ । माघ महिनामा सरकारले ७९ लाख ९५ हजार रुपैयाँ आर्थिक सहायता र क्षतिपूर्ति रकम वितरण गरेको छ । सर्लाहीमा भएको घटनामा ज्यान गुमाएका रामविलास महतोको परिवारलाई १० लाख, पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतमा उपचार गराउँदा २ लाख रुपैयाँ सरकारले दिएको छ ।

यस्तै मंसिर २८ गतेको मन्त्रिपरषद्को निर्णय अनुसार उपचार खर्च पाउने १२ जनालाई ७२ लाख रुपैयाँ दिइएको छ । यस्तै मंसिर १७ गतेको निर्णय अनुसार १५ लाख, २४ गतेको निर्णय अनुसार गीतादेवी साहलाई दुई लाख रुपैयाँ आर्थिक सहायता दिइएको अर्थ मन्त्रालयले जनाएको छ । पुस महिनामा सरकारले दुई करोड ३३ लाख ६४ हजार नौ सय रुपैयाँ वितरण गरेको छ ।

मंसिरमा भने एक करोड सात लाख १९ हजार रुपैयाँ वितरण गरेको छ । मंसिरमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको उपचार खर्चको लागि मन्त्रिपरिषद बैठकले सात लाख १९ हजार रुपैयाँ सहायता दिएको छ । यस्तै बलात्कारपछि हत्या गरिएकी पोखराकी श्रेया बिकका परिवारलाई पाँच लाख, रौतहतमा एसिड प्रहारबाट ज्यान गुमाएकी सम्झना दास र घाइते सुश्मिता दासका परिवारलाई पाँच लाख, बर्दियामा प्रहरी नियन्त्रणपछि ज्यान गुमाएका मनोहर यादवलाई मन्त्रिपरिषद निर्णयले १० लाख रुपैयाँ वितरण गरेको छ । सरकारले कात्तिकमा भने थोरै रकम बाँडेको छ । कात्तिकमा १० लाख रुपैयाँ वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ । असोजमा भने रकम वितरण नभएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा सरकारले ९९ लाख ४५ हजार ६ सय ६९ रुपैयाँ बाँडेको थियो । जसमा गोरखा फुजेलकी गंगामाया अधिकारीलाई २० लाख, राष्ट्रकवि माधव घिमिरेलाई उपचार गराउन १४ लाख ९८ हजार रुपैयाँ दिएको थियो । भदौमा एक करोड ८० लाख २८ हजार रुपैयाँ वितरण गरेको छ । जसमा काँग्रेस नेता नरहरी आचार्यलाई ३३ लाख ६१ हजार, निर्मला पन्तका हत्यारलाई कारबाहीको माग गर्दै भएको प्रदर्शनमा मारिएका सन्नी खुन्ना निर्मला पन्तका परिवारलाई १०÷१० लाख र घाइतेका परिवारलाई गरी २८ लाख दिएको थियो ।

प्रतिक्रिया