मत-विमत

पर्यावरण प्रदूषण रोक्न नागरिक सचेतता

प्रदीप उप्रेती २०७६ जेठ २९ गते ६:४० मा प्रकाशित

प्रकृति, मानिस एवं पर्यावरणविच अन्तरसम्बन्ध कायम रहँदै आएको छ । परिणामस्वरूप केही हदसम्म मानवीय व्यवहारको कारण स्वच्छ प्राकृतिक वातावरणमा प्रदूषणको डरलाग्दो खतरा सधैँ नै जीवन्त रहन्छ । पर्यावरण प्रदूषणको प्रमुख कारक तत्वको रूपमा मानिसको बानी एवं स्वभावले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तत्पश्चात यस क्षेत्रमा पर्ने सकारात्मक वा नकारात्मक पक्षलाई सुक्ष्म रूपमा केलाउँदै राज्यले निश्चित रूपमा आवश्यक पर्यावरणीय रणनीति अख्तियार गर्नेछ । जसले स्वच्छ पर्यावरण विकासको लागि अमूल्य छाप छोड्न मद्दत पुर्याउने देखिन्छ ।

मानव सभ्यताको सुरूवाती अवस्थासँगै वातावरण प्रदूषणको उग्ररूप देखिएता पनि अत्यधिक अभिवृद्धि भने संसारमा कोइलाको अन्वेषणपश्चात् भएको हो । आधिकारिक यसको प्रचलन एवं प्रयोगको प्रभावले गर्दा यस क्षेत्रमा थप घातकता सिर्जना भएको हो । यही त्यो कारक तत्व हो जसले नेपाल लगायत विश्व जगतमा अम्लीय वर्षाको डरलाग्दो परिस्थिति पैदा गर्नेछ । यसका अतिरिक्त १९औं शताब्दीको मध्यतिर विश्व बजारमा आएको औद्योगिक विकास एवं बेलायती औद्योगीक क्रान्त्तिको सफलता सँगसँगै विश्व वातावरणीय क्षेत्रमा पर्यावरण प्रदूषणको नकारात्मक जालो तीव्र रूपमा फैलिएको हो ।

जसको ऋणात्मक प्रभाव स्वरूप जनस्वास्थ्यमा पर्ने विभिन्न प्रकारका असरलाई नियन्त्रण गर्न अत्यावश्यक देखिएकोहुँदा समस्या समाधान हेतु विश्वमा सर्वप्रथम सन् १९६० को दशकतिर पर्यावरण संरक्षण सम्बन्धि नयाँ अवधारणा आएको हो । प्राकृतिक वस्तुको रूपमा रहेको जल, वायु, भूमिलाई प्रदूषित वनाउन मानव निर्मित रासायनिक तत्व एवं ध्वनीले अल्पकालीन एवं दीर्घकालीन ऋणात्मक छाप छोडेको पाइयो । जसलाई पर्यावरण प्रदूषणको क्षेत्रमा खराब परिसूचकको रूपमा लिन सकिन्छ ।

नेपालको सन्दर्भमा प्रदूषणको कुरा गर्दा वायु प्रदुषण दैनिक रूपमा तीव्र गतिमा अभिवृद्धि हुँदै गएको छ । यसमा विशेषगरी सवारी साधनबाट प्राप्त हुन आउने कार्वनमनोअक्साइड (धूवाँ—धुलोले) स्वच्छ प्राकृतिक वातावरण विगार्ने कार्यमा प्रत्यक्ष सहयोग पु¥याउँदै आएको छ । सरकारले तोकेको न्यूनत्तम वायू—ध्वनी प्रदूषणको सामान्य मापदण्डलाई समेत हेक्का नराखीे सवारीसाधनहरू सञ्चालन गर्दा समस्या समाधानमा व्यवधान सिर्जना भएको हो । यस हिसाबले हेर्दा हामी हाम्रो स्वास्थ्य प्रति रत्तिभर चिन्तीत छैनौ कि भन्ने अर्थ पनि लाग्न सक्छ । यदि वास्तवमै जनस्वास्थ्य प्रति सकारात्मक हुने चाहना राख्ने हो भने बढ्दो पर्यावरण प्रदूषण प्रति सजक रहँदै कार्य गर्नु प्रदूषण नियन्त्रणको क्षेत्रमा सकारात्मक गतिशिलता मान्न सकिन्छ ।

यसका अतिरिक्त औद्योगिक प्रतिष्ठणनबाट निस्कने ध्वनी तथा रासायनिक तत्वले पनि केही हदसम्म समाजमा नकारात्मक असर पार्दै आएको छ । यसै सन्दर्भमा भन्दा केही दशक अगाडि मित्रराष्ट्र भारतस्थित भोपालको युनियन कारबाइट मल कारखाना एवं रसियाको चेर्नोभिल दुर्घटनाका कारण भएको मानवीय क्षति तथा अपांगतालाई पाठको रूपमा लिँदै वातावरण प्रदूषणको क्षेत्रमा सचेत रहदै सम्भावित दुर्घटना न्यूनीकरणका लागि सर्वपक्षिय सहयोगको सदैब खाँचो रहन्छ । किनकि विषेशगरी वातावरणीय प्रदूषणको दूषितको प्रभाव स्वरूप वायुमण्डलमा नकारात्मक असर पर्न गई भूमिको उर्वराशक्तिमा समेत ह्रासआई खाद्यान्न संकटको साथ—साथै भोकमरीको कहालीलाग्दो समस्या खडा हुने देखिन्छ ।

यसबाहेक अवैध रूपमा हुँदै आएको वनफडानीले पनि पर्यावरण जोगाउन चुनौती खडा गरेको छ । परिणामत ः कहिले अतिवृष्टि त अनाबृष्टिको भयाभय अवस्था निम्त्याउने देखिन्छ । यसप्रकार घोषित—अघोषित रूपमा वातावरणीय प्रदूषण वृद्धि गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अरू कोही पनि नभई हामी मानव समुदाय नै हौ भन्दा फरक नपर्ला । मुलुकमा आवद्ध रहेका नदीजन्य मुहानमा हुने प्रदूषण रोक्नुपर्ने अर्को चुनौती हामीसंग अध्यावधी कायमै रहेको छ । तसर्थ, पानी जीवन हो भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै स्वच्छ पानीका लागि प्रदूषणरहित मुहानको चाहनाको प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउने चेष्टा गर्ने हो भने धेरै हदसम्म स्वच्छ पानीको विकासको सम्भावना रहन्छ ।

बढ्दो सहरीकरणको अत्यधिकता सँगसँगै काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रहेका नदिजन्य मुहानलाई प्रदूषण गर्ने परिपाटीको अभिवृद्धि हँुदै गएको हो । विषयवस्तुको गम्भीर पक्षलाई मनन गर्दै यस क्षेत्रमा देखिएको तमाम समस्या समाधान गर्न सर्वपक्षीय सहयोगको अपेक्षा राख्न सकिन्छ । विषेश गरी सहरी क्षेत्रको तुलनामा अझै पनि न्यून सख्यामा भए पनि ग्रामीण क्षेत्रमा खुला स्थानमा शौच गर्ने परिपाटी अध्यावधी कायमै रहेको छ, जसले निश्चित रूपमा वातावरण संरक्षण गर्न नकारात्मक भूमिका निर्वाह गर्नेछ ।

जसको न्यूनीकरणको लागि आधुनिक प्रविधीयूक्त शौचालय निर्माण गर्न आवश्यक परे अभियानकै रूपमा कार्य गर्नुपर्ने हुन्छ । प्रस्तुत कार्यको गतिशीलताको लागि यदि रकमको विनियोजन गर्न आवश्यक परे राज्यका तर्फबाट धनराशि जुटाउन कुनै प्रकारको कसर बाँकी राख्नु हँुदैन । यस बाहेक विपरीत अवस्था कायम रहने हो, भने त्यसको प्रत्यक्ष असर खोला एवं नदीजन्य क्षेत्रमा नै पर्नेछ ।

यसै प्रसंगमा भन्दा नदी—किनारामा अवस्थित शवदहन कार्यलाई समेत ब्यवस्थित गर्नुपर्ने हुन्छ । यस प्रयोजनको निमित्त काठमाडौ उपत्यका क्षेत्रमा विद्युतीय शवदहन गृहले स्वच्छ वातावरण निमार्ण गर्ने कार्यमा केहीहदसम्म सहयोग पु¥याएको मान्न सकिन्छ । सम्भव भएसम्म मुलुकका अन्य स्थानमा पनि विद्युतिीय शवदहन गृह निमार्ण गर्ने कार्यमा तदारूपता देखाउने हो भने आमजनसमुदायले पक्कै पनि स्वच्छ वातावरणको राहत महशुश गर्ने थिए । मुलुकका अन्य आधुनिक सहरको तुलनामा काठमाडांै उपत्यकालाई प्रदूषित सहरको रूपमा लिन सकिन्छ । वायु प्रदूषणका अलावा सहरका विभिन्न क्षेत्रबाट निस्केका फोहरलाई उचित व्यवस्थापन गर्न नसकिएकै कारण प्रदूषणको उचाइ वृद्धि हँुदै गएको तथ्यहरूले पुष्टि गरेको छ ।

यसै तथ्यलाई हृदयंगम गर्दै मुलुकमा कायम रहेको प्रदूषणको मात्रालाई के कस्तो प्रभावकारी उपायहरू अवलम्बन गर्दै सुधार गर्न सकिन्छ भन्नेतर्फ सरोकारवाला पक्षको अविलम्ब ध्यान जानु नितान्त जरूरी भइसकेको छ । अन्यथा प्रदूषणरूपी खराब परिसूचकको कारण मुलुककै शिर निहुरिने अवस्था तयार हुनेछ । अतः प्रदूषण मुक्त समाज सर्वपक्षीय चाहनाको भएको हुँदा यसलाई व्यवस्थित गर्नु राज्य एवं आमजनसमुदायको प्रमुख भूमिका रहने हुँदा प्रदूषणको कुप्रभावबाट मुक्त रहन जनचेतना अभिमूखी क्रार्यक्रमलाई मुलुकभर सञ्चालन गर्नुपर्ने हुन्छ । जसको सकारात्मक प्रभावकारिताको नतिजास्वरूप पर्यावरण प्रदूषणमुक्त समाजको परिकल्पना गर्दै वातावरणीय सुन्दरताको परीकल्पना गर्न सकिनेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय