शर्माको ‘इप्सान्त’ सार्वजनिक

चितवन । साहित्यकार रह शर्मा (शशिकिरण रेग्मी) को उपन्यास ‘इप्सान्त’ बजारमा आएको छ । चितवन साहित्य संगमको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार भुवनहरि सिग्देलले उक्त कृतिको विमोचन गरे ।  उपन्यासमा १२ वटा देश पार गरेर अमेरिका पुग्दा बाटोमा एकजाना साथीको मृत्यु भएको विषयमा केन्द्रित रही उपन्यास लेखिएको छ । नेपालीको विदेशिने मनोवृत्तिलाई कारुणिक ढंगले उपन्यासमा उधिनिएको साहित्यकार सिग्देलले बताए ।

उनले भने, ‘मानिस मूलतः यायावरी प्राणी हो । अमेरिका पैसाको सपना बाँड्ने मुलुक हो र त्यो प्राप्तिको लागि अभिमुख युवाहरू जायज नाजायज कुनै पनि मार्ग अपनाउँदा हुने जोखिमको दर्दनाक घटनाक्रम समेटिएको उपन्यास इप्सान्त हो ।’

उपन्यासमाथि टिप्पणी गर्दै समीक्षक डा. धनेश्वर भट्टराईले हावा महलको सपनाले मान्छेलाई दुर्गतिमा पु¥याउने सन्दर्भ दिन उपन्यास सफल भएको बताए । उनले भने, ‘अमेरिकामा जान चाहने र अमेरिका जानेको पीडाको वर्णन यस उपन्यासले सचित्र उतारेको छ ।’ कार्यक्रममा प्रेम रिमाल, रेशम विरहीले उपन्यासका बारेमा चर्चा गरेका थिए । कार्यक्रम संगम चितवनका अध्यक्ष प्रकाश चापागाईको अध्यक्षतामा भएको थियो । शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकको मूल्य ३५० रूपैयाँ रहेको छ ।

प्रतिक्रिया