‘द शिवस सो’ हुँदै

काठमाडौं । अपांगता भएका कलाकारको सहयोगका लागि म्युजिक भिडियो निर्देशक शिव बिकको नाममा ‘द शिवस सो’ हुने भएको छ । २८ माघमा चितवनको सौराहास्थित थारू कल्चर हाउसमा उक्त कार्यक्रम हुने निर्देशक बिकले जानकारी दिए ।

विभिन्न दैविक प्रकोपमा परेर अपाङ भएका कलाकारको सहयोगार्थ कार्यक्रम गर्न लागिएको बिकले बताए । उनका अनुसार दैलेखका कलाकार रमेश खत्री ०७२ सालको भूकम्पमा परी दुवै खुट्टा गुमाएका छन् । यही कारण उनको आर्थिक अवस्था पनि कमजोर भएको छ । त्यस्तै, दाङकी कलाकार मीना पुनको पनि आगोमा जलेर एउटा खुट्टा गुमेको छ । उनीहरूकै सहयोगका निम्ति कार्यक्रम गर्न लागिएको निर्देशक बिकले बताए ।

दुई कलाकारको सहयोगार्थ गर्न लागिएको उक्त कार्यक्रममा लोकगायक मिलन लामा, हाँस्यकलाकार महादेव त्रिपाठी, मोडेल दिपाशा बिसी, स्मृति शाही, दिनेश डिसी, भुवन प्यासी, जहान्वी बस्नेत, अमित रसाइली, उषा लामा, उशिका बिक र उर्वशी बिक लगायतका कलाकारले आफ्नो प्रस्तुति दिने निर्देशक बिकले बताए । नेपाली गीत संगीतका क्षेत्रमा डेढ दशकभन्दा लामो समयदेखि क्रियाशील बिकले सयौँ म्युजिक भिडियो बनाएका छन् ।

प्रतिक्रिया