कोउटिन्होले बार्सिलोना छाड्ने

एजेन्सी, वार्सिलोना । इंग्लिस क्लब लिभरपुलका पूर्वखेलाडी एवं बार्सिलोना मिडफिल्डर फिलिपे कोउटिन्होले क्लब छाड्ने सम्भावना बढेको छ । पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाईमा पर्न संघर्षरत रहेपछि मिडफिल्डरले क्लब छाड्ने हल्ला चलेको हो । कोउटिन्होले यस सिजन जम्मा ९ खेल सुरुवात गर्दै ४ गोल गरेका छन् ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कोउटिन्होलाई पहिलो रोजाईमा राख्न छाडेसँगै उनी क्लब छाड्ने सम्भावना बढेको हो । मोटो रकममा क्याटलान क्लब आएका कोउटिन्होको यस अवस्थालाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नजीकबाट नियालेको बुझिएको छ । उनलाई बार्सिलोनाले सन् २०१८ जनवरीमा १ सय ४३ मिलियन पाउण्डमा खरिद गरेको थियो ।

बार्सिलोनाले पनि पछिल्लो समय पूर्वखेलाडी नेयमारलाई भित्र्याउने अन्तरिक तयारी गरिरहेको बुझिएको छ । त्यसका लागि चाहिने रकम कोउटिन्होको ट्रान्सफरबाट उठाउने क्लबले लक्ष्य राखेको छ । नेयमार सन् २०१७ को ट्रान्सफर विन्डोमा झन्डै २ सय मिलियन पाउण्डमा पेरिस सेन्ट जर्मेन (पीएसजी) तर्फ लागेका थिए । पछिल्लो समय फ्रान्सेली क्लबमा प्रतिस्पर्धा बढेपछि नेयमारले बार्सिलोना फर्कने इच्छा देखाएको हल्ला चालेको छ ।

यद्यपि नेयमार र कोउटिन्हो दुवैले आ(आफ्नो क्लबमा लामो समयका लागि सम्झौता गरेका छन् । पीएसजीले नेयमारलाई सन् २०२२ सम्म सम्झौतामा बाँधेको छ भने कोउटिन्हो पनि २०२३ सम्म बार्सिलोनाकै अनुबन्धनमा रहनेछन् ।

प्रतिक्रिया