अठ्ठाइसौं प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको अठ्ठाइसौं बार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७४-७५ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित बिशेष समारोहका बीच उक्त प्रतिवेदन पेश गरिएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारिले सार्वजनिक पदाधिकारी एवं कर्मचारीले गर्नसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यउपर छानविन तथा अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायित्व रहेको बताईन् ।

उनले भनिन्, ‘आयोगले तटस्थता र निष्पक्षता कायम गरी तथ्य र प्रमाणका आधारमा कार्यसम्पादन गर्ने परिपाटीलाई संस्थागत गर्दै मुलुकमा पारदर्शिता, जवाफदेहिता, सदाचारिता र सुशासन अभिवृद्धि गर्ने कार्यमा आयोगलाई सफलता मिल्नेछ शुभेच्छा प्रकट गर्दछु ।

आयोगको अठ्ठाइसौं बार्षिक प्रतिवेदन पेश गदैं प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगले आर्थिक वर्ष २०७४-७५ मा गरेका प्रमुख काम कारबाहीहरूको साराँश प्रस्तुत गरेका थिए । प्रमुख आयुक्त घिमिरेले सुशासन सम्बन्धी राज्यका नीति र प्राथमिकताको कार्यान्वयनप्रति पूर्ण प्रतिबद्ध रही संवैधानिक गरिमालाई उचो राख्दै स्वतन्त्र र निष्पक्ष कार्यसम्पादन गर्न आयोग प्रतिवद्ध रहेको बताए ।

उनले सरकारी, गैरसरकारी र निजी क्षेत्र, अन्तर्राष्ट्रिय जगत, सञ्चारकर्मी तथा नागरिक समाजलगायत सबै सरोकारवालाबाट प्राप्त सहयोगको लागि धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको लागि सबैमा आग्रह गरे ।

आयोगले पेश गरेको बार्षिक प्रतिवेदनमा आयोगबाट सम्पादित अनुसन्धान र अभियोजनसम्बन्धी कार्यको विश्लेषण, भ्रष्टाचार नियन्त्रणका निरोधात्मक र प्रवर्द्धनात्मक प्रयासहरू, संस्थागत सुदृढीकरणमा आयोगको क्रियाशीलता, भ्रष्टाचारजन्य कार्यको प्रवृत्ति विश्लेषण, आयोगको आगामी रणनीति र कार्यदिशाका साथै नेपाल सरकारलाई भ्रष्टाचार नियन्त्रण गरी सुशासन अभिवृद्धि गर्न दिइएका सुझावहरू समेत समावेश गरिएको छ ।

आर्थिक वर्ष २०७४-७५ मा ९७ पटक आयोगको बैठक बसी विभिन्न बिषयहरूमा गरी जम्मा ७०८ वटा निर्णयहरू गरेको अयोगको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अवधिमा आयोगबाट उजुरीको अनुसन्धान र अभियोजनका साथै निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत सुदृढीकरणका कार्यहरू भएको छ ।

यस आर्थिक वर्षमा सार्वजनिक पदाधिकारी तथा कर्मचारीले गरेका भ्रष्टाचारजन्य कार्यउपर प्रारम्भिक छानबिन एवं विस्तृत अनुसन्धान गरेपछि विशेष अदालतमा मुद्दा दायर गर्ने, सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि सुझाव लेखी पठाउने तथा तथ्यहीन र प्रमाणविहीन उजुरी तामेलीमा राख्ने निर्णयहरू भएका प्रतिवेदनमा उल्लेख छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७४-७५ मा आयोगमा १३,०१३ र मातहत कार्यालयहरूमा ६,४७५ समेत गरी कुल १९,४८८ उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएका थिए, जसमध्ये ७,७१९ उजुरीहरू आर्थिक वर्ष २०७३-७४ बाट जिम्मेवारी सरेर आएका र ११,७६९ उजुरीहरू आर्थिक वर्ष २०७४।७५ मा थप भएका थिए।

आर्थिक वर्ष २०७४-७५ मा कुल १९,४८८ उजुरीमध्ये १२,४०० उजुरी फर्छ्यौट भएका छन्, जसमध्ये ६,४५८ उजुरी प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको छ भने २६२ उजुरी सुझावसहित तामेलीमा पठाएको बताइएको छ ।

त्यस्तै, ५४६ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ भने ५,१३४ उजुरीउपर अन्य आवश्यक कारबाही भएका छन् । यसरी कुल १२,४०० उजुरी फर्छ्यौट भई बाँकी रहेका ७,०८८ उजुरीहरू भने आर्थिक वर्ष २०७५-७६ मा सरेका छन् । आर्थिक वर्ष २०७४-७५ मा विभिन्न मन्त्रालयगत उजुरीहरूको संख्या हेर्दा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी १८ दशमलव ३२ प्रतिशत, संघीय मामिलासँग सम्बन्धित उजुरी १८ दशमलव ०२ प्रतिशत, भूमिसम्बन्धी उजुरी ६ दशमलव ४८ प्रतिशत, वनसँग सम्बन्धित उजुरी ४-४८ प्रतिशत, स्वास्थ्य सेवासँग सम्बन्धित उजुरी ४ दशमलव ३७ प्रतिशत, गृह प्रशासनसम्बन्धी उजुरी ४ दशमलव १३ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायाततर्फ २ दशमलव ८२ प्रतिशत, अर्थ मन्त्रालयतर्फ २ दशमलव ५९ प्रतिशत र अन्य निकायरक्षेत्रसँग सम्बन्धित उजुरी ३८ दशमलव ८ प्रतिशत रहेका छन् ।

यस आर्थिक वर्षमा आयोगबाट १९४ वटा मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय भएको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये घुस रिसवतमा ९७, नक्कली शैक्षिक प्रमाण पत्रतर्फ ६४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीतर्फ १३, गैरकानूनी लाभ हानितर्फ ८, राजस्व हिनामिनातर्फ ५, गैरकानूनी सम्पत्ति आर्जनतर्फ ४ र अन्य विषयहरूमा ३ वटा मुद्दा रहेका छन् ।

आर्थिक वर्ष २०७४-७५ मा सेवाग्राहीहरूको घुस रिसवतसम्बन्धी उजुरीका आधारमा गरिएका ९७ वटा रङ्गेहात कारबाहीहरूमा सहसचिवदेखि सहायक स्तर सम्मका १५४ जना राष्ट्रसेवक तथा अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान एवं अभियोजन गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया