कागेश्वरीले जेष्ठ नागरिकलाई तीर्थयात्रा गराउने

काठमाडौं । उपत्यकाको कागेश्वरी–मनोहरा नगरपालिकाले आफ्नो नगरक्षेत्रमा रहेका जेष्ठ नागरिकहरूलाई तीर्थयात्रामा लाने भएको छ ।

जेष्ठ नागरिकको माग तीर्थयात्रा गर्ने भएकाले नगरपालिकाले पूरा गरिदिने भएको हो । हाल एक त ! व्यस्तताको समय त्यसमा पनि कैयाैँ जेष्ठ नागरिकका सन्तान विदेशमा रहेकाले उनीहरूले नगरपालिकासँग तीर्थयात्राको माग गरेका हुन् ।

जेष्ठ नागरिकको तीर्थयात्राको मागसँगै नगरपालिकाले प्रत्येक वडालाई आफ्नो बजेट अनुसार वर्षको एकपटक तीर्थयात्रा गराउन सुझाव दिएको कागेश्वरी–मनोहरा नगरपालिकाको उपप्रमुख विन्दु सिम्खडाले जानकारी दिइन् । ‘वडाले वर्षमा आफ्नो बजेटअनुसार कति जना जेष्ठ नागरिकलाई तीर्थयात्रा गराउन सक्छ त्यतिलाई वर्र्षंैपिच्छे लान्छ’, सिम्खडाले भनिन्, ‘प्रत्येक वडाध्यक्षको सक्रियतामा जेष्ठ नागरिकले तीर्थयात्रा गर्ने अवसर पाउनु हुनेछ ।’

‘वडाले आफ्नो बजेटअनुसार जेष्ठ नागरिकलाई तीर्थयात्रा गराउनेछ । बजेट अभावमा जेष्ठ नागरिकलाई तीर्थयात्रा गराउन नसक्दा जेष्ठ नागरिकको नाममा आएको सरकारी रकम तीर्थयात्रामा प्रयोग गरी लाने व्यवस्था पनि गर्छाैं’, सिम्खडाले थपिन् ।

कागेश्वरी–मनोहरा नगरपालिका–७ मुलपानी गोठाटारका ५० जना जेष्ठ नागरिकले केही महिनाअघि देवघाट, लुम्बिनी र जनकपुर तीर्थयात्रा गरिसकेका छन् । ७ का वडाध्यक्ष जीवन थापाले भने, ‘तीर्थयात्रामा सरिक हुन नसकेका जेष्ठ नागरिकलाई हामीले यात्राबाट फर्केपछि टीका, जलप्रसाद वितरण गरी दोसल्ला ओडाएका थियाैँ ।’

‘नगरपालिकामा नयाँ जनप्रतिनिधिको आवागमनसँगै हामीले तीर्थयात्रा गर्ने अवसर पायौँ’, ६५ वर्षीया मैयाँ पुडासैनीले भनिन्, ‘समाजमा जेष्ठ नागरिकको अधिकार र सम्मान जनप्रतिनिधिले दिएको देख्दा निकै खुसी लागेको छ ।’ तीर्थयात्रा रहेका जेष्ठ नागरिकलाई समाजका गण्यमान्य व्यक्तिले ख्याल गर्दा उनीहरू निकै भएको बताउँछन् । सन्तान परदेशी भूमिमा रहेका आमाबाबुले अब वडास्तरीय तीर्थयात्रा गर्ने अवसर पाउँदैछन् ।

७ नं. वडाले सुरु गरेको जेष्ठ नागरिकलाई तीर्थ यात्रापछि वडा ५ का नागरिकले पनि घचघचाएका छन् । थलीका जेष्ठ नागरिकलाई केही दिनपछि तीर्थयात्रा गराउने योजना बन्दै छ, वडाध्यक्ष राजाराम पुडासैनीले भने, ‘जेष्ठ नागरिक भनेका समाजमा धरोहर हुन्, उहाँहरूको शिक्षा सहयोग र सद्भावले हामीलाई नगरपालिकामा प्रतिष्ठाको पहिचान मिलेको छ । विस्तारै वडाले वृद्धवृद्धाको माग पूरा गर्ने कोसिस गर्दै छ ।’

प्रतिक्रिया